उच्च जोखिममा रहेका वृद्धवृद्धा नै लाइनमा

|

दाङ : तुलसीपुर उपमहानगरपालिकाका बैंकहरुमा हिजोआज ज्येष्ठ नागरिकको बाक्लै भीडभाड देखिन्छ। संकटका बेला सरकारले सामाजिक सुरक्षा भत्ता दिने उपयुक्त उपाय अवलम्बन गर्न नजान्दा यतिखेर बैंकको गेटमा वृद्धवृद्धाको भीड लागेको छ।

संकटका बेला यसरी बैंकमै लाइन लगाउनुको साटो भत्ता दिने अन्य उपाय सोच्न सरकार चुकेको देखिएको छ। सोही कारण अहिले बैंकको गेटदेखि बाटोसम्म मानिसहरू लामबद्ध भएका छन्‌। कोरोना संक्रमणबाट सबैभन्दा जोखिममा रहेका जेष्ठ नागरिकहरू नै सुरक्षा भत्ता लिन लाइनमा बसिरहेका छन्‌। 

यतिखेर तुलसीपुरमा सामाजिक सुरक्षाभत्ता लिन घण्टौं लाइन लाग्नुपर्ने अवस्था छ। भत्ता लिन बैंकहरुमा नागरिकहरु घुइँचो लाग्ने गरेका छन्। सामाजिक दुरी पालना गर्न सरकारले निर्देश गरेपनि कायम हुन सकेको छैन। यसरी भीड लाग्दा कोरोना संक्रमणको जोखिमसँग डराउनुपर्नेमा मानिसहरू भत्ता पाउँदा खुशी देखिएका छन्‌।

तुलसीपुर १ की लिला कुमारी नेपालीले लकडाउनको समयमा भत्ता पाउँदा खुशी लागेको बताइन्‌। ‘लकडाउन हुदाँ नपाइने हो की भन्ने डर लागेको थियो, पायौं खुशी लाग्यो,’ उनले भनिन्, ‘अब केही राहत हुन्छ।' 

तुलसीपुर १ भमकेका खगराज पौडेलले भत्ता लिन आउँदा बैंकमा सामाजिक दुरी कायम नभएको बताए। बैंकमा धेरै भीडभाड देखेर आफ्नो कागज बुझाएर, टाढा बसेको उनले बताए। ‘बैंक बाहिर सामाजिक दुरी कायम भएको देखिएन्, सबै एक ठाउँमा बसेका छन्,’ उनले भने, ‘यस्तो भीडभाडले गर्दा कोरोनाको जोखिम हुन्छ, त्यसैले हामीलाई वडाबाट नै व्यवस्था गरिदिएको भए राम्रो हुन्थ्यो।’

तुलसीपुर १ का मनिराम भण्डारीले लकडाउनको बेला भत्ता लिन आउँदा समस्या भएको बताए। पहिले भत्ता आउँदा गाडीमा आउजाउ गर्दा सजिलो हुने गरेको, तर यतिखेर सवारीसाधन सञ्चालन नहुँदा समस्या परेको उनले जानकारी दिए। ‘कोरोनाको त्रास छ, बैंक धेरै भीडभाड छ,’ उनले भने, ‘कि हामीलाई अहिले वडाबाट नै दिनु पर्दथ्यो, कि भने बैंकमा एक-एक जना जाने व्यवस्था गर्नुपर्दथ्यो।’

यता तुलसीपुर उपमहानगरपालिकाले सामाजिक सुरक्षाको भत्ता बुझ्नेहरुलाई लकडाउनमा आर्थिक समस्या नपरोस् भनेर खातामा पैसा हाल्न पठाएको नगर प्रवक्ता सुर्यवहादुर डाँगीले बताए। अफ्ठेरोमा परेकाले पैसा लिन सकुन भनेर यस्तो गरिएपनि सबैले झिक्न खोज्दा समस्या आएको डाँगीको तर्क छ। विभिन्न बैंकमा भएको भीड अवलोकन गरेको भन्दै भत्ता लिन बसेका नागरिकमा वित्तीय साक्षरता अभाव रहेकोसम्म भन्न भ्याए।

‘उनीहरुको खातामा पैसा जान्छ र त्यो घरमा आफुसँग राखेभन्दा पनि सुरक्षित हो भन्ने ज्ञान दिलाउनु आवश्यक छ,’ डाँगीले भने, ‘ज्येष्ठ नागरिकलाई घरमा पनि जान्नेले सचेत बनाएको देखिएन्, यस्तो बेलामा बैंकमा पठाउनै नहुने हो।' तुलसीपुर उपमहानगरपालिकाका अनुसार नगरक्षेत्रभित्र १२ हजार १५९ जनाले सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेका छन्‌।

तुलसीपुरमा रहेको एक बैंकका म्यानेजरले ज्येष्ठ नागरिहरुलाई बैंकिङ्ग प्रणालीका बारेमा जानकारी दिन नसक्दा यस्तो समस्या आएको बताए। ‘आज नै पैसा झिकिएन भने त्यो फिर्ता जान्छ भन्ने सोचेर उहाँहरु आउनु भएको हो,’ उनले भने, 'यसअघि खातामा पैसा आएको म्यासेज पाएपछि उहाँहरू सुरक्षाभत्ता लिन आउनुहुन्थ्यो, अहिले संकटका बेला यसरी भीडभाड गरी आउनु हुँदैन भन्ने जानकारी सरकारले गराएजस्तो देखिएन, भत्ता दिने अरू विकल्पहरू पनि थिए।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.