|

म्यादी : म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको मटला भीरमा स्थानीयले जोखिम मोलेर मह निकालीरहेका छन्। लकडाउनको समयमा स्थानीय संघसंस्थाको अनुमति लिएर मह शिकारी डोरीको सहायताले भीरमौरीको गोला निकालेका हुन्। 

म्याग्दीका अक्करे भीरहरुमा यतिबेला मह शिकारको याम शुरु भएको छ। मह शिकारीहरु डोरीको सहायताले भीर मौरीको गोला भएको देख्दै डरलाग्दो भीरमा झुण्डिएर मह काढीरहेका छन्। तल बसेर हेर्दा अत्यन्तै त्रास र रोमाञ्चक लाग्ने यो दृश्यले मुटको धड्कन बढाउछ।

भीर मह खाँदा जति स्वादिलो र रसिलो हुन्छ, यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नु पर्ने हुन्छ। म्याग्दीको लुलाङ, हिस्तान, चिमखोला, मुदी गुर्जा दोसल्ले, शिखलगायतका गाउँमा रहेका भीरहरुमा भीरमौरीले गोला लगायका छन्। तिनै गोलाहरु काट्नका लागि मह शिकारीहरु डोरी (परङ) मा झुण्डिएर मह शिकार गरिरहेका छन्।

वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ। वसन्त ऋतुमा बेशी र शरदमा लेकमा पुगेर भीरमह निकाल्ने गरिन्छ। मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लोभागमा दुई समूहमा शिकारीहरु लागिपरेका छन। एक समूहले भीरको माथीबाट तल भुईसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्डाउँछन् भने  भीरको तलपट्टि रहेको अर्को समूहले  मह थाप्ने र स्याहार्ने गर्दछन्।

यसरी भीरमा आफ्नो ज्यानको बाजी लगाएर निकालिने महबाट शिकारीहरुले आकर्षक आम्दानी पनि गरिरहेका छन्। स्वास्थ्यलाई एकदमै फाईदाजनक मानिने भीरमहको माग जति स्थानीय बजारमा छ, त्यो भन्दा दोब्बर अन्तर्राष्ट्रिय बजारमा छ। विभिन्न किसिमका औषधी बनाउन यसको प्रयोग बढी भएको पाइएको छ।
भीर महको सिजन शुरु भएपछि लुलाङ, गुर्जालगायतको जंगलमा रहेको भीर महमा मह शिकारी डोरी (पाराङ) मा झुण्डिएर मह निकाल्न शुरु गरेका धवलागिरि गाउँपालिकाका योजना शाखा प्रमुख कृष्ण सुवेदीले जानकारी दिए।

उनकाअनुसार स्थलगत रुपमा नै गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले समेत भीर महको सम्भावना भएपनि आधुनिक विधिको प्रयोग गरी ज्यानको जोखिम टार्न आवश्यक सहयोग गर्ने बताए। ‘महको चाका वरिपरी माहुरी घेरिएर बसेका हुन्छन्, विशेष प्रकारको धुवाँ लगाईदिएपछि मौरी भाग्छन्, त्यतिबेला मह निकाल्ने शिकारीले विशेष ध्यान पु¥याउनुपर्छ।’ योजना शाखाका प्रमुख सुवेदीले भने।

जब परङ मार्फत गएका शिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छ, माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रुख र ओडारमा लुक्छन्। माहुरीहरु अन्यत्रै भागेपछि मात्र उनीहरु बाहिर आउँछ अनि मह निकाल्न सजिलो हुन्छ। मुख्य शिकारीले विशेष प्रकारको हतियार प्रयोग गरि निकालेको मह एउटा भाँडालाई डोरीको सहायताले भुईसम्म ल्याउने गरिन्छ।

‘मह निकाल्न सकियो भने बजारको खासै समस्या हुदैन, व्यापारिहरु जंगलमै आईपुग्छन्। बजारमा महको प्रतिलिटर दुई हजार रुपैयाँमा जति पनि बिक्री हुुन्छ। अन्तर्राष्ट्रिय स्तरमा यसको माग उच्च छ, यहाँबाट कोरियामा धेरै मह जाने गरेको छ, अब यसलाई थप व्यवसायिकरण बनाउँदै लैजानुपर्छ’ म्याग्दीका अगुवा मह शिकारी  अनिल घर्तिले भने।

 हामी जिल्लाको अधिकांश ठाउँमा महको शिकार गर्न जान्छौँ, जहाँ मह निकाल्छौं त्यहाँको आमा समुह वा क्लबलाई केहि रकम दिन्छौँ अनि उनीहरुको अनुमतिमा हामीले मह निकाल्छौँ।  १३ वर्षदेखि मह शिकार गर्दै आएका घर्तीले भने।  यस्तो जोखिम मोलेर निकालेको मह बजारमा १ हजारदेखि १ हजार २ सय रुपैयाँ प्रतिलिटर बिक्री हुने गर्दछ। स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिवर्धक हुनुका साथै धार्मिक कार्यका लागि पनि प्रयोग हुने भएकाले भीरमहको माग उच्च हुने गरेको मह व्यापारीहरुले बताएका छन्।

फोटोमा हेर्नुहोस्, स्वादिलो भीर माैरीकाे मह 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.