एकता त भयो तर जिम्मेवारीको कुरै अघि बढेन

|

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी नेपाल मिलेर बनेको नवगठित जनता समाजवादी पार्टीभित्र समीकरण सुरु भएको छ।

पार्टीको कार्यकारी भूमिकामा राजपाका संयोजक महन्थ ठाकुर र समाजवादीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव दुवैले दाबी गरिरहेका स्रोतले बताएको छ।

विभिन्‍न ६ मधेसवादी दल मिलेर बनेको राजपा नेपाल तथा नयाँ शक्ति र संघीय समाजवादी फोरम मिलेर बनेको समाजवादी पार्टीले गत बुधबार रातारात एकताको सहमति गरेका थिए।

यससँगै दुवै पार्टीमा रहेका शीर्ष नेताहरुको आ-आफ्नै प्रस्ताव छ जसमा उनीहरु नवगठित पार्टीको नेतृत्वमा दाबी गरिरहेका स्रोत बताउँछ। 

उपेन्द्र यादवको प्रस्ताव

महन्थ ठाकुरलाई महाधिवेशन समितिको अध्यक्ष बनाउने प्रस्ताव उपेन्द्र यादवले गरेका छन्। आफू कार्यकारी अधिकारसहित केन्द्रीय समितिको अध्यक्ष बन्‍ने दाउमा रहेका यादवले डा. बाबुराम भट्टराईलाई पार्टीको संघीय परिषदको अध्यक्षता दिने तथा बाँकी शीर्ष नेता अर्थात दुवै पार्टीबाट ६–६ जना सम्मिलित सचिवालय बनाउने प्रस्ताव राखेका छन्। 

यद्यपि तत्कालीन समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ यस बिषयमा छलफल नै सुरु नभइसकेको बताउँछन्। ‘अहिले सांसद अपहरणविरुद्धको संघर्षमा छौँ। पहिले केन्द्रीय समितीको बैठक डाक्ने वातावरण हुनुपर्यो, त्यहाँ एकताको हस्ताक्षरको माइन्युट बुझाउनै बाँकी छ', पार्टी एकीकरणका लागी वार्ता समितिका संयाजकसमेत रहेका श्रेष्ठले भने, ‘अस्ति एकीकरणको सहमति मात्र भएको हो, मैले औपचारिक कुरामात्रै भन्‍न सक्छु, औपचारिकरुपमा त्यस्तो पदीय भागबण्डाको कुनै कुरा भएको छैन।’

महन्थ ठाकुरको प्रस्ताव

ठाकुरले आफूलाई कार्यकारी अधिकारसहितको अध्यक्ष अथवा दुईजनाको अध्यक्षमण्डल बनाउने प्रस्ताव गरेका स्रोतको दाबी छ। पार्टीका शीर्ष नेता सम्मिलित सचिवालय तथा पदाधिकारी, केन्द्रीय समिति र जिल्ला अध्यक्षसम्ममा तराई मधेस लोकतान्त्रिक पार्टीलाई भाग दिनुपर्ने प्रस्ताव ठाकुरले गरेका छन्। 

राजेन्द्र महतोको प्रस्ताव

महन्थलाई संरक्षक बनाउन चाहेका महतोले आफू, उपेन्द्र, डा. बाबुराम, अशोक राई सम्मिलित अध्यक्षमण्डल अथवा दुवै पार्टीबाट दुई-दुईजना सम्मिलित चारजनाको अध्यक्षमण्डल बनाउने प्रस्ताव गरेका छन्।

उनले आफ्नो लागि संसदीय दलको नेता पनि माग गरेका स्रोतको दाबी छ। ‘उनी महन्थलाई सर्वमान्य राखेर आफ्नो अध्यक्षतामा सचिवालय, अथवा चारजनाको अध्यक्षमण्डल बने आफूलाई संसदीय दलको नेता र महन्थलाई पार्टी बैठकको अध्यक्षता गर्ने जिम्मेवारी दिन चाहन्छन्’, स्रोतले भन्यो।

यद्यपि थाहाखबरसँगको कुराकानीमा नेता महतोले सबैलाई कसरी समायोजन गर्ने, कसरी संगठन निर्माण गर्ने भन्‍ने गृहकार्य चलिरहेको बताए। ‘हामी सबैलाई सम्मानकासाथ कार्य बाँडफाँड गर्छौं’, महतोले भने। सकेसम्म अध्यक्षमण्डल नरहने महतोको धारणा छ।

‘अध्यक्षमण्डल हामीले हेरिसक्यौं’, उनले भने,‘अध्यक्षमण्डल सफल प्रणाली होइन। त्यसैले अध्यक्षमण्डल प्रणालीतर्फ नजाला की भन्‍ने मलाई लागेको छ।’ महतोले हिमाल, पहाड तराईलाई मिलाएर वैकल्पिक तथा शक्तिशाली पार्टी बनाउनुपर्ने भएकाले त्यसै अनुसार जुटिरहेको बताए।

समाजवादी पार्टीसँगको एकतामा अध्यक्षमण्डलका कसैको पनि असहमति नरहेको उनको दाबी छ। ‘विभिन्‍न कारणले कोही उपस्थित हुन सक्नुभएन, त्यसलाई एकताविरोधी ठहराउन मिल्दैन, वैकल्पिक शक्ति निर्माणको पक्षमा को हुँदैन?', उनले भने, 'अहिले अनौपचारिक रुपमा छलफल चलिरहेको छ। जतिसक्दो चाँडो एकताका बाँकी सबै प्रकृया टुंग्याउँछौं।’ 

दुई अध्यक्षको हस्ताक्षर बाँकी

राजपा र समाजवादीवीचको एकीकरणको सहमतिमा अझै पनि राजपा अध्यक्षमण्डलका दुई अध्यक्ष अनिल झा र राजकिशोर यादवले हस्ताक्षर गर्न बाँकी छ। 

तर समाजवादीसँगको एकतामा कुनै बिमति नरहेको नेता राजकिशोर यादवले बताए। उनका अनुसार समाजवादी पार्टीसँग करिब एक वर्षदेखि एकीकरणको छलफल चलिरहेको थियो। तर लकडाउनकै बीचमा सरकारले समाजवादी पार्टीलाई लक्षित गरेर अध्यादेश ल्याएपछि एकता प्रकृया पनि अचानक भएको नेता यादवले बताए।

‘समाजवादीको तर्फबाट परिस्थिति एकदम प्रतिकूल भयो, हामी तयार छौँ एकता गरौँ भन्‍ने कुरा आएपछि सहमति भयो, मलाई पनि खबर थियो’, नेता यादवले भने, संयोजकले नै समाजवादीसँगको छलफलमा बोलाउनुभएको थियो। म लकडाउनको पूर्ण पालना गरेर बसेकाले नगएको हो।’ 

परिस्थितिले सैद्धान्तिक सहमति गराए पनि सबैभन्दा महत्वपूर्ण पदको भागबण्डा, कार्यविभाज अहिलेसम्म नभएको उनले बताए। त्यस बिषयमा कुनै छलफल भइनसकेको उनको भनाई छ।

‘ठाकुरजी, शरतजीले फोन गरेर कुन मोडलमा जाने, कसरी जाने, छलफल गरौँ, भनेर भन्‍नुभएको छ, अब गम्भीररुपमा छलफलमा जुट्छौं', नेता यादवले भने, ‘हामीले परिकल्पना गरेको वैकल्पिक लोकतान्त्रिक शक्तिलाई मूर्तरुप दिन ऐतिहासिक काम भएको छ। धेरै नेताहरु हुनु सुखद र राम्रो पक्ष हो तर सबैलाई व्यवस्थापन गर्न चुनौतीपूर्ण पनि छ।’ 

चुनौतिलाई अवसरको रुपमा उपयोग गर्नुपर्ने उनी बताउँछ्न्। सामूहिक छलफलबाट अहिलेको आवश्यकतालाई सम्बोधन गर्ने गरी जिम्मेवारी बाँडफाँट हुने उनले बताए। ‘त्यसका लागि छलफल बैठक भएर समझदारी आवश्यक छ, त्यो अहिले भइनसकेको स्थिती छ', उनले भने।  

अचानक एकता सम्झौतामा हस्ताक्षर भएपछि अहिलेसम्म दुवै पार्टीका शीर्ष नेताहरुको औपचारिक बैठक राखेका छैनन्। आफ्ना सांसद डा. सुरेन्द्र यादवको 'अपहरण'लाई लिएर जाहेरी दिन कुदिरहेको जनता समाजवादी पार्टीले पार्टी एकताको लागि विधान बनाउने, सागठनिक संरचना निर्माण, पार्टी सञ्‍चालन, र एकता प्रकृयालाई टुंग्याउनेबारे औपचारिक छलफल नै थालेको छैन। 

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुबीच गत बुधबार करिब ६ घण्टा लामो वार्ता र रस्साकस्सीपछि नयाँ पार्टीको घोषणा भएको थियो।

नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राखिएको छ। एकताको सहमतिपछि सार्वजनिक पत्रमा राजपा नेपालको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन्।

त्यसैगरी समाजवादी पार्टीको तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्। सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी खुकुलो प्रावधानसहितको अध्यादेशका कारण आफ्ना पार्टीबाट नेताहरु बाहिरिने जोखिम बढेपछि दुई दल रातारात मिलेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.