कलाकारमा हुनुपर्ने सबै गुणले भरिपूर्ण थिए उनी

|

काठमाडौं :  बलिउड अभिनेता इरफान खानको बुधबार निधन भएको छ। उनको मुम्बईस्थित अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो। खानको  ५४ वर्षको उमेरमा निधन भएपपछि खान रंगकर्मी सुनिल पोखरेल यतिबेला आफू शून्य शून्य भएको बताउँछन्।

नेशनल स्कुल अफ ड्रामामा पढ्दा दुवैजना 'क्लास मेट' थिए। पोखरेलले इरफानसँगको पहिलो भेट सम्झँदै भने, 'उनी एउटा कलाकारमा हुनुपर्ने सबै गुणले भरिपूर्ण व्यक्ति थिए। कलाकारिताको भोक उनको मिहिनेतमा देखिने गर्थ्यो।'

पोखरेलसँग उनको भावनात्मक सम्बन्ध जति छ, त्यो भन्दा बढी पारिवारिक सम्बन्ध पनि छ। पोखरेल भारत मुम्बई जाँदा खानको घरमा नै बस्‍ने गरेको बताउँछन्।

'उनको अभिनय विश्‍वस्तरको थियो। भारतमा मात्रै होइन। विश्‍वभर परिचित खानले कहिल्यै घमण्ड देखाएनन्', पोखरेल भन्छन्, 'क्षमता भएर पनि घमण्ड नभएका अभिनेता हुन् उनी।'

इरफानको निधनले  पोखरेलको दिल दिमाग् शून्य शून्य भएको छ। 'आज मैले मेरो सबैभन्दा मिल्ने साथी गुमाएको छु। मसँग बोल्ने कुनै शब्द छैन। म शून्य भएको छु,' पोखरेलले थाहाखबरसँग भने।

गुरुकुलले गरेको नाटक महोत्सवमा आफ्नो निम्तोमा सम्भवत सन् २००८ मा इरफान नेपाल आएको पोखरेल सम्झन्छन्। इरफान जति सरल छन्। उनले गर्ने समिक्षा कठोर हुने गर्थ्यो। 'मैले गर्ने हरेक नाटकबारे उनीसँग कुरा गर्थेँ। उनी हरेक कथाको पात्र र कथालाई निर्मम तरिकाले विश्लेषण गर्थे', नाटकप्रति इरफानको धारणा सम्झिँदै पोखरेलले भने, 'उनी सफल कलाकार र निर्मम समिक्षक हुन्।'

मुम्बईको कोकिलाबेन अस्पतालमा उपचाररत थिए इरफान। गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका उनले जिन्दगीको युद्धमा हार्दै प्राण त्यागे। दुई वर्षअघि मार्च २०१८ मा इरफानलाई न्यूरो इन्डोक्राइन ट्युमर नामकको समस्या देखिएको थियो।

लण्डनमा यस रोगको उपचारपछि उनी ठीक भएका थिए। तर उनी यो पटक पेटको रोगसँग हार्न पुगे। इरफानकी आमाको गत शनिबार मात्रै निधन भएको थियो। बिरामी परेर अस्पतालको आईसीयुमा रहेका कारण इरफान आमाको अन्त्येष्टिमा सामेल हुन पाएनन्।

इरफानको निधनको खबर आएसँगै फेसबुक र ट्वीटरको टाइमलाइन  श्रद्धाञ्जली दिनेको ओइरो लागेको छ। उनी  भारतमा मात्र होइन, नेपाली दर्शकबीच कति लोकप्रिय थिए भन्‍ने यसले देखाउँछ।

दर्शकको मात्रै होइन, नेपाली कलाकर्मीका पनि प्रिय थिए।  रंगकर्मी अनुप बरालले इरफानको मृत्युलाई  एउटा 'थेसपियन एक्टर'को महाप्रस्थान भनेका छन्। बराल लेख्छन्, 'तिम्रा मन छुने 'स्पोनटेनियश' अभिनयको जादु हाम्रो मनमा सदैव रहनेछ । तिमी मेरा लागि एक सिनियर मात्र होइनौँ (नेशनल स्कुल अफ ड्रामामा ) मैले विश्वास गर्ने अभिनयपद्धतिको 'पायोनियर' पनि हौ।'

अर्का रंगकर्मी घिमिरे युवराजले  केही दिनअघि मात्रै आफूले खान अभिनित अन्तिम फिल्म 'अङ्ग्रेजी मिडियम' हेरेको  बताएका छन्। उनले भनेका छन्, 'के लेखुँ यहाँ? कुनै शब्द छैनन् अहिले। खाली खाली जस्तो भएको छु। सबै ऊर्जा खेर गए जस्तो भएको छ। ५४ वर्षको उमेरमै? तर तिम्रो बुलन्द अभिनय र कलाकारिताको सधैँ सम्झना हुनेछ।'

 इरफानले बिरामी परेयता एउटा मात्र चलचित्र 'अंग्रेजी मिडियम'मा अभिनय गरेका थिए। उनले सलाम बम्बे, मकबुल, पानसिंह तोमर, लञ्चबक्स, हाइदर, हिन्दी मिडियम जस्ता चलचित्रमा अभिनय गरेका छन्।

इरफान हलिउडमा समेत सफलता हासिल गरेका सीमित भारतीय अभिनेतामध्ये पर्दछन्। स्लमडग मिलेनियर, जुरासिक वर्ल्ड, अमेजिङ स्पाइडर–म्यान तथा लाइफ अफ पाइ उनले अभिनय गरेका हलिउड चलचित्र हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.