व्यायाम र रेसादार खानेकुराले थुप्रै समस्या आफैँ हराउँछन्

|

एक महिनाभन्दा लामो समयदेखि देश लकडाउनमा छ। मानिसहरु घरभित्रै थुनिन बाध्य छन्। यो समयमा सुरक्षित हुन घरभित्रै रहँदा आम मानिसले खानपिनमा निकै ध्यान दिनुपर्छ। अझ कोरोना संक्रमण भएकाले त यसप्रति झनै ध्यान दिनु अत्यावश्यक छ। 

तर अहिले देशभर राहतमा अन्नको नाममा चामल मात्र बाँडिएको छ। गाउँघरमा उत्पादन हुने अन्न तथा फलफूलको हिस्सा राहतमा यदाकदाबाहेक परेका छैनन्। जसका कारण हाम्रो शरीरलाई चाहिने खाद्य तत्वको अभाव हुन सक्ने देखिएको छ। 

मानिसको शरीरको प्रतिरक्षा शक्तिलाई बलियो बनाउन बनाउन र कोरोनासँग जित हासिल गर्न चिकित्सकहरुले बताउँदै आएका छन्। शरीरलाई आवश्यक प्रतिरक्षा प्रणाली बलियो राखिराख्न हामीले केके खाने? कस्ता खालका खाद्यान्‍नले हाम्रो शरीरलाई रोगसँग लड्न ऊर्जा मिल्छ? यसबारेमा जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेतीसँग थाहाखबरकर्मी सञ्जय रेग्मीले गरेको कुराकानीको सम्पादित अंश। 

कोरोना भाइरस संक्रमणबाट पूरै विश्व नै आक्रान्त छ। यस्तो अवस्थामा हामीले आफ्नो स्वास्थ्यलाई ख्याल राख्नु एकदमै महत्वपूर्ण छ। नेपालको सन्दर्भमा कस्ता खाद्यवस्तु उपयोगमा ल्याउन सकिन्छ?

कोरोनासँग लड्ने खाद्य पदार्थ भन्ने हुँदैन, तर त्योसँग लड्न हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनुपर्छ। कोरोनाको मात्र होइन, हरेक रोग लाग्दा पनि खानेकुराको काम भनेको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने हो। 

हामीले खाएको खानेकुरा पेटमा गएर सीधै कीटाणु मार्ने होइन, ती कीटाणुसँग लड्न हाम्रो शरीरलाई तयार पार्ने हो। यस अर्थमा शरीरको शक्ति बलियो पार्नको लागि नेपालमा पाइने र खाइने सबै खानेकुरा उत्तिकै उपयोगी छन्। 

जस्तै कस्ता खाद्यान्‍न अहिले प्रयोगमा ल्याउन सकिन्छ त? 

हाम्रो घरमा पाक्ने दाल, भात, तरकारीलगायत खाने गर्नुपर्छ।आयातित प्याकेटका खानेकुरा कसैले पनि खानु हुँदैन। भात र दाल पकाउँदा त्यसमा राखिने घ्यु हाम्रो लागि राम्रो हो। अचार भन्‍नासाथ सामान्यतः ती अमिला हुन्छन् र तिनीहरूमा भिटामिन ‘सी’ पाइन्छ। 

दूध, दही र मोही पनि खाने गर्नुपर्छ। दालमा हुने लवण लगायतले शरीरमा रगत मात्रा पूरा गर्दा रोगले आक्रमण गर्ने सम्भावना न्यून हुन्छ। शरीरको प्रतिरक्षा शक्ति बढाउन हाम्रो खेतबारीमा लगाइएका अन्न, तरकारी नै प्रयोग गर्नु उत्तम हुन्छ। बाहिरका खाना खोज्दै हिँड्नु पर्दैन। गेडागुडीबाट पाउने प्रोटिनले शरीरका लागि राम्रो गर्छ। 

खानाका रूपमा लिइने झोल पदार्थले शरीरमा पानीको कमी हुन दिँदैन। हरियो तरकारीहरू, कागती, गहत, मेथी, टुसा उमारिएका खानेकुराहरू खाने गरौँ, शरीरमा पोषण पुगेमा प्रतिरक्षा प्रणाली बलियो हुन्छ। 

गाउँघरमा पाइने अम्बा, अमला, ऐसेलु, किम्बु, सिस्नो, पालुंगोलगायत खानेकुरा खानुपर्छ। सिस्नोलाई हेलाँ गर्ने गरेको पाइन्छ तर त्यसको उपयोगिता कति छ भन्ने कमैलाई मात्र थाहा छ। निःशुल्क रूपमा पाइने लट्टे र सिस्नो खाने गरेमा हामी सबैको भलो हुन्छ।

कोरोनासँग जुध्न ‘गोल्डन मिल्क’ खाने क्रम अहिले बढेको पाइएको छ नि?

दूधमा बेसार मिसाएर खानुलाई विदेशतिर ‘गोल्डन मिल्क’ भन्‍ने गरिएको छ। मनतातो दूधमा अलिकति बेसार हालेर पिउनु स्वास्थ्यको लागि राम्रो हो। अमेरिका र बेलायतमा यसको निकै प्रचलन छ। अहिले नेपालमा पनि यो क्रम बढेको छ। 

शरीरको प्रतिरक्षा प्रणाली बलियो पार्न यो निकै उत्तम हुन्छ, त्यतिमात्र होइन यसले त क्यान्सर लाग्न नदिन पनि काम गर्छ भन्ने विषयमा अनुसन्धान चलिरहेको छ।बेसारमा हुने कर्फुनिन भन्ने तत्वले प्रतिरक्षा प्रणालीलाई बलियो पार्छ। बेसार मात्र होइन काली मरीच पनि खाने बानीले शरीरलाई फाइदा हुन्छ।

लकडाउनको बेलामा खाने, बस्ने र सुत्ने मात्र गर्दा शरीरलाई हुने बेफाइदा के हो?

लकडाउनमा बस्नुपर्ने हाम्रो बाध्यता छ। घरबाहिर जान नहुने तथा मर्निङ वाकमा जान नहुने बहानामा शरीरलाई खाने र पल्टाउने काम मात्र गर्नु राम्रो हुँदैन। शरीर चलायमान भएन भने शरीर स्वतः कमजोर हुँदै जाने भएकाले आफ्नो फूलबारी, आँगनमा गएर व्यायाम गरेमा शरीरमा आउन सक्ने थुप्रै समस्याहरू हराउँछन्। 

आँगन र फूलबारी नभए कोठामा पनि व्यायाम र योगाहरू गर्न सकिन्छ। सुतेर खाँदै बस्दै गर्दा ‘फिजिकल एक्ससाइज’को कमीले कब्जियत देखिने धेरै सम्भावना हुन्छ। यसको समाधानमा दानादार र रेसादार खानेकुरा खानुपर्छ। छोक्रा भएको दाल फापर, कोदो, जौ, गहुँलगायत खानुपर्छ। 

नेपालीहरु त प्रायः भात मात्रै खान्छन् त? यसको नतिजा के होला?

भात मात्रै खानेकुरा हो, अरू सबै त खाजा हुन् भन्ने नेपालीहरूको सोचाइ प्रवृत्तिको अब अन्त्य हुनुपर्छ। रोटीलाई खाजाकै रूपमा लिइन्छ, तर खाना मानिने भातभन्दा खाजा मानिने रोटी स्वास्थ्यका लागि महत्वपूर्ण छ। त्यसैले रोटीलाई किन खानाका रूपमा नलिने? 

कोदो, फापर, जौ, गहुँलगायत अन्नले हाम्रो शरीरको पाचन प्रणालीलाई समेत फाइदा दिएको हुन्छ। मेरै कुरा गर्ने हो भने दिनमा एक पटक २/३ बजेतिर भात खान्छु अरू बेला चिउरा, अण्डा, तरकारी, फलफुल, रोटीलगायत खानुकुरा खान्छु।

सबै नेपालीले जति बेला पनि भात खाने प्रवृत्तिलाई सुधार गर्ने मौकाको रूपमा पनि अहिलेको अवस्थालाई लिनुपर्छ। खाद्य संकटका बेलामा चामलको अभाव हुँदै गएको छ, यही बेलामा गहुँ, कोदो, मकैलगायत खानेकुरा खाने बानी बसाल्नुपर्छ। 

हिमाल र पहाडमा चामल थोरै भएकाले कोदो, फापर, मकै खानुपर्छ। चामलमा भन्दा कोदो, गहुँलगायत स्वास्थ्यका लागि निकै उत्तम छ। रोगी र बालबालिकाहरूका लागि दिनमा २/४ पटक भात खुवाउनुपरे पनि अरूले त सुधार्न सकिन्छ नि। 

रोटी खाएको मान्छेले खाना खाएको हो भन्दैन, खाजा खाएँ भन्छ। कोदो र फापरको सुपमा धनियाँ मिसाएर खाँदा निकै राम्रो हुन्छ। त्यो किन नखाने?

माछामासु खाँदा कोरोनाको जोखिम हुन्छ भनिन्छ नि?

माछा मासुबाट प्रोटिन पाइने भएकोले स्वास्थ्यका लागि यो उपयोगी छ। ‘भेजिटेरियन’ मान्छेलाई त यो बेलामा मासु खानुस् भन्न भएन। तर माछामासु खाने बानी छ भने राम्रोसँग पकाएर खानुपर्छ। अण्डा खाँदा कोरोनाको पक्षमा कुनै फाइदा हुँदैन। 

कोरोनाको संक्रमण चमेरोबाट फैलिएको हो भन्ने कुरा सुन्नमा आएकाले मानिसहरूमा मासुजन्य पदार्थका कारण कोरोना भाइरसको संक्रमण बढ्न सक्ने डर देखिएको हो। 

यो विषयमा ढुक्क हुनुभए हुन्छ। मासुबाट पाइने प्रोटिनले पनि प्रतिरक्षा प्रणालीमा काम गर्छ, मासु नखाने मान्छेले भटमास खाँदा पनि प्रोटिन प्राप्त हुन्छ।नेपालीहरूको आहार सन्तोष मान्न लायकको छ त?

छ नि, हामीले पहिचान र प्रयोग गर्ने हो भने हाम्रोमा भएका जस्ता शक्ति प्रदायक खानाहरू अन्यत्र कहाँ पाइन्छ र? यति असल खानेकुरा हाम्रोमा पाउन सकिन्छ। ती खानेकुरा स्वयं नै औषधिका रूपमा छन्। 

तर हाम्रो प्रवृत्ति भने प्याक गरेर आएका जंक फुडमा मात्र गयो। हाम्रो जिब्रोले स्वाद मात्र खोज्यो, पेटलाई भोक मेटाउन मात्र पाए भयो। हाम्रो शरीरमा पोषणको मात्रा पूरा गराउने हो भने खानाको खोजीमा घरबाहिर खोज्न जानुपर्ने अवस्था नै छैन। 

मकै, गहुँ, कोदो, फापर, उवा, भटमास, पालुंगो, लट्टेलगायत दुनियाँभरका खानेकुरा हामीसँग उपलब्ध छन्। कोदोमा नभएको तत्व फापरमा र फापरमा नभएको तत्व कोदोमा पाइन्छ। यिनीहरू औषधिजस्तै अति उपयोगी खानेकुरा हुन्। क्वाँटी खाने नेपालको चलन कति राम्रो छ। सबै प्रकारका गेडागुडी मिसाएर बनाइएको हुन्छ। 

प्रतिरक्षा प्रणाली बलियो पार्न जीवनशैलीको भूमिका के हुन्छ?

खानेकुराहरू मिलाएर खाँदैमा मात्र हाम्रो शरीरको प्रतिरक्षा शक्ति बलियो बन्छ भन्ने होइन। खानेकुराहरूको साथै जीवनशैलीको महत्व पनि उत्तिकै महत्वपूर्ण छ।

योगा, व्यायाम गर्ने, रिस र तनावलाई नियन्त्रणमा राख्ने, शरीरलाई आवश्यक मात्रामा पानीको आपूर्ति गर्ने, सकारात्मक सोचको विकास गर्ने, मिलनसार हुने, सबैको भलो चिताउँदै सहकार्य गर्नेलगायत कुरा पनि यसमा जोडिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.