|

आज मे १ (अन्तर्राष्ट्रिय मजदुर) दिवस। अन्य वर्ष जस्तो मजदुर दिवसको दिन देशभर कतै पनि मजदुरका नाममा ठूलो भेला, भाषण तथा कतै नाराबाजी पनि भएन। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल पनि लकडाउनमा छ।

झण्डै डेढ महिनादेखिको लकडाउनका कारण सबैभन्दा धेरै हुँदा खाने मजदुरहरू पीडामा छन्। मजदुरहरू पनि संगठित र असंठित छन्। संगठित क्षेत्रका मजदुरका पीडा उनीहरूको संगठनले सरकारसमक्ष पुर्‍याइरहेकै छ। तर, सबैभन्दा पीडामा रहेका असंगठित मजदुरका पीडा कसले सुनिदिने?,

लकडाउन यसरी नै बढिरहने हो भने मजदुरको चुलोमा कहिलेसम्म आगो बल्ला?, सरकार र सरोकारवाला पक्षले यस्तो बेलामा मजदुरको लागि के गर्नुपर्छ? यी र यस्तै विषयमा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यसँग थाहाखबरकर्मी सन्तोष अधिकारीले गरेको संक्षिप्त कुराकानी : 

आज मे  १ अर्थात् मजदुर दिवस। अहिलेको परिस्थितिमा मजदुरी गर्न नपाएका मजदुरहरू के गर्दैछन्? तपाईंहरू के गर्दै हुनुहुन्छ?

हरेक वर्ष मजदुरहरू एक आपसमा भेटघाट गर्ने, शुभकामना साटासाट गर्ने, आफ्नो दु:खसुखका कुरा गर्ने, सम्बन्धित पक्षसँग आफ्नो अधिकारको विषयमा कुरा गरेर मनाउँथे। यसपालि यस्तो भएन। मे दिवस मनाउन कोरोना भाइरसको संक्रमण र यसको प्रभावले मुलुक नै लकडाउनमा छ। यो लकडाउनले हामी श्रमिक पनि लकडाउनमा परेका छौँ।  

कानुनमा व्यवस्था भएअनुसार आगामी बजेटमा मजदुरको पनि पारिश्रमिक बढ्ने बेला आएको छ। यस्तो अवस्थामा मजदुरी गर्नेहरूले महँगीलाई कसरी थेग्लान्?
हरेक दुई वर्षमा तलब, पारिश्रमिक पुनरावलोकन गर्ने कुरा कानुनमै छ। कानुनी प्रावधानमा के छ भनेर हामी त्यता लागेका छैनौँ।

अहिले हामी विषम परिस्थितिमा यो मुलुकमा मात्रै हैन विश्वमै श्रमिकहरू अत्यन्तै मारमा परेका छन्। अहिले सबैभन्दा बढी पीडा कसैले भोगेको छ भने गरीखानेले भोगेको छ। यसमा पनि दैनिक ज्यालादारी गरेर खानेहरू अहिले अत्यन्त पीडित अवस्थामा छन्।

जसको एउटै रोजगारदाता हुँदैन। फरक-फरक हुन्छ। उनीहरूलाई राज्यले ध्यान दिनुपर्छ।  राज्यले राहत उपलब्ध गराउनुपर्छ भनेर हामीले भनिरहेकै छौँ। तर, सरकारले त्यस्तालाई व्यवस्थित तवरले राहत उपलब्ध गराउने काम अहिलेसम्म गरेको छैन। यसपालिको बजेट नेपालका श्रमजीवीहरूको पक्षमा, कोरोना संक्रमण न्यून कसरी गर्ने भन्ने पक्षमा हुनुपर्छ। 

यो समयमा मजदुरी गर्न नपाएका श्रमिकहरूले कसरी गुजारा गर्दैछन्

अहिले हामी मजदुरहरू पनि लकडाउनमै छौँ। सरकारले यो बेला नेतृत्वदायी भूमिका खेल्नुपर्छ। पीडामा परेका मर्कामा परेका श्रमिकहरूको समस्याको सम्बोधन गर्नुपर्छ। अहिलेसम्म जसोतसो चुलोमा आगो बालिरहेका मजदुरहरूले अब कतिदिन थेग्न सक्लान्? सरकार श्रमिकको पीडा नदेख्‍ने, यसरी नै टारेर भाग्ने हो भने। भोको पेटले उनीहरू कति दिन उभिएलान्? 

संगठित मजदुरको आवाज त तपाईंहरूले बोल्नुहोला। कतिपय संगठित नभएका मजदुरको आवाज कसले बोल्दिने

हामी असंगठित क्षेत्रका मजदुरको पनि आवाज बोलिरहेका छौँ। अहिले सबैभन्दा बढी मर्का यही क्षेत्रका मजदुरलाई परेको छ। अलिक पहिले राज्यले सम्बोधन गर्दा पनि संगठित क्षेत्रका मजदुरलाई लकडाउनको समयमा तलब दिने भनिदियो। दिनुपर्ने रोजगारदाताले दियो दिएन यो दोस्रो पाटो हो। सरकार निर्णय गरेर छोड्दिने गर्न अत्यन्तै अगाडि छ।

अहिले संकटको घडीमा नेपालका रोजगारदाताहरू पनि संयमित हुनुपर्‍यो आफ्ना मजदुर के गर्दैछन् कसरी छाक टार्दैछन् भनेर। किनकि तिनै मजदुरको पसिनाले रोजगारदाता भएको बिर्सिन भएन। रोजगारादाताले एक महिना दुई महिनाको लागि मात्रै होइन।

लकडाउनपछि पनि कम्पनी, उद्योग सञ्चालन गर्ने भए सरकारको मुख ताक्नु भएन। मजदुरको ख्याल गर्नुपर्‍यो। भोलिका दिनमा पनि मजदुरले त्यही कारखानामा काम गर्छन् र ऋण तिर्छन्। सुरक्षाका उपाय अपनाएर अहिले पनि केही मजदुरलाई काम त लगाउन सकिन्छ नि। 

लकडाउन नखुल्दासम्म काम नगरी बस्‍ने हो भने मजदुरहरूलाई झन् समस्या थपिएला नि?

अहिलेको अवस्थामा अत्यावश्यक सेवाका उद्योग सञ्चालन गर्ने हो। मजदुरलाई काममा लगाउने हो। तर, यसो गरिरहँदा उनीहरूको सुरक्षाको सबै माध्यम प्रयोग गराएर मात्र काममा लगाउनुपर्छ होइन भने मजदुरहरूलाई संक्रमण बढ्ने गरी, उनीहरूको सामाजिक दूरी घटाउने गरी काममा लगाउन भने हुँदैन।

खाली सरकारलाई कर आउँछ भनेर उद्योगपतिको उद्योग चलाउन पर्‍यो भनेर चाहिँ हुँदैन। यो समयमा उद्योगीले आफ्ना मजदुरलाई केही सहयोग भने गर्नैपर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.