|

उदयपुर : २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएर सिल गरिएको उदयपुरको भुल्के क्षेत्रमा स्थानीय तहले अपनाएको सतर्कता र राहत वितरण लगायतका कदमले जनजीवन सामान्य अवस्थामा फर्कन थालेको छ।

एकै स्थानमा रहेका धेरै मानिसहरूमा संक्रमण भेटिएपछि सो क्षेत्रमा पसलेहरूले कोरोना सर्ने डरले ग्राहकहरूबाट पैसासमेत नलिने अवस्था आएको थियो। खाद्यान्‍न लगायतका दैनिक उपभोग्य सामाग्री खरिद गर्न अप्ठेरो पर्दा नागरिकहरूको जनजीवन असहज बनेको थियो।

नगरपालिकाको सक्रियतामा त्यस क्षेत्रका नागरिकहरुको स्वाब संकलन, सचेतना अभिवृद्धि , निशुल्क स्वास्थ्य उपचार, राहत वितरण गरिएपछि यतिखेर केही सहज भएको देखिन्छ। कोरोना संक्रमण देखिएपछि उत्पन्‍न समस्या समाधानमा गरिएका प्रयास, समस्या र चुनौतीबारे त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीसँग थाहाकर्मी विजय कार्कीले गरेको कुराकानी :

भुल्केमा कोरोना संक्रमण भएका १२ जना भारतीयहरू भेटिए? स्थानीय सरकार र प्रशासन कहाँ चुक्यो?

लकडाउन सुरू भएपछि नगरपालिकामा सबै संयन्त्रहरु व्यवस्थित थिए। भुल्केको नुरी मस्जिदमा १२ जना भारतीय बसेका छन् भन्‍ने सूचना पाउने बित्तिकै त्यहाँ रहेकाहरुको र्‍यापिड डायग्नोस्टिक (आरडिटी टेष्ट) गर्‍यौं।

रिपोर्ट नेगेटिभ आएपनि चित्त नबुझेपछि पिसिआर टेष्ट गराउँदा कोरोना पोजेटिभ देखिएपछि स्थानीय प्रशासनको सहयोगमा तत्काल त्यक्षेत्रलाई सिल गरेर हिँडडुलमा प्रतिबन्ध लगायौँ। त्यसैरात संङ्क्रमित १२ जनासहित मस्जिदमा बसेका १६ जनालाई नै बिराटनगरस्थित कोरोना अस्पताल पठायौँ। भोलीपल्टै प्रदेश सरकारले उदयपुर जिल्लालाई शिल गर्ने निर्णय गर्‍यो।

नगरपालिकाले स्थानीय प्रशासनसँग पनि समन्वय गर्दै प्रदेश सरकारलाई त्यस क्षेत्रका नागरिकहरुको स्वाब संकलन गर्न अनुरोध गर्‍यौँ। शनिबार प्रदेश सरकारको स्वास्थ्यकर्मीको टोलीले त्यसक्षेत्रका ५३ घरका ६९ जनाको स्वाब नमुना संकलन गर्ने काम गर्‍यो।

तीमध्ये आठ जनाको रिपोर्ट पोजेटिभ आएपछि संघीय सरकारलाई स्वाब संकलनका लागी स्वास्थ्यकर्मीको टोली पठाउन अनुरोध गर्‍यौँ। लगत्तै, छाउनी अस्पतालबाट आएका चारजना स्वास्थ्यकर्मीको टोलीले त्यसक्षेत्रका २५१ जनाको स्वाब संकलन गर्दा थप चार जनामा संक्रमण देखा परेपछि सबैलाई बिराटनगर पठायौं।

त्यसपछि संङ्क्रमितहरुको ‘कन्ट्राक्ट ट्रेसिङ’को आधारमा अन्य स्थानका नागरिकहरुको समेत स्वाब संकलन गर्ने काम तीव्र गतिमा अघि बढायौं।

बाँकी सबैको रिपोर्ट नेगेटिभ आयो। हामीले अहिले जोखिम क्षेत्रका नागरिकहरुको स्वाब संकलन गर्ने र ट्रेसिङको कामलाई जारी राखेका छौँ। आवश्यक देखिए अन्य स्थानका नागरिकहरुको पनि स्वाब संकलन गरिनेछ।

स्थानीयहरु अझै त्रसित छन्, जोखिममा रहेका अन्य बस्ती र व्यक्तिहरुको पनि स्वाब संकलन गर्न आग्रह भइरहेको छ नि! 

हो, त्यसक्षेत्रमा राहत वितरणमा गएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र आसपासका नागरिकहरुको पनि स्वाब संकलनमा हामी लागि परेका छौँ। हामीसँग स्वाब संकलन गर्ने स्रोतसाधन छैन, जसका लागी केन्द्र र प्रदेश सरकारसँग नै भर पर्नुपर्ने अवस्था छ। स्वाब संकलनको दायरालाई अझै फराकिलो बनाउन बारम्बार प्रदेश र केन्द्र सरकारसँग अनुरोध गरिरहेका छौँ।

जिल्लामै कोरोना अस्पताल बनाउनुपर्छ भनेर हामीले केन्द्र र प्रदेशलाई गुहार्‍यौं। मुख्यमन्त्री लगायतको टोलीले अनुगमन गरेपनि तत्काल आवश्यक नरहेको र परिस्थितिअनुसार विचार गरिने आश्वासन मात्रै पाइयो।

तर हामीले मागे अनुुसारको स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मीहरु प्रदेश र संघीय सरकारले उपलब्ध गराउन सकेको छैन। स्थानीयहरुलाई राहत वितरण गर्ने, बिरामी बोक्ने, स्वास्थ्य जाँच गर्नेलगायतका कार्यहरु हामी गर्न सक्छौँ। तर पिसिआर विधिबाट स्वाब संकलन गर्न सक्दैनौं, हामीसँग स्रोत साधन छैन।

तर यति धेरै सङ्क्रमितहरु भेटिएको ठाउँमा स्वाब संकलन अपर्याप्त भएन र? कि आवश्यकता नठानेको हो नगरपालिका र स्थानीय प्रशासनले?

हामी महामारी नियनत्रण र नागरिकको स्वास्थ्यप्रति जिम्मेवार छौं। पछिल्लो चरणमा जति स्वाब संकलन गरिएको छ, ति सबैको रिपोर्ट आउन बाँकी छ। हामी ट्रेसिङ गर्ने काम पनि गरिरहेका छौँ। अब बाँकी रिपोर्टको आधारमा कुनकुन ठाउँमा स्वाब संकलन गर्ने भन्‍नेबारे निर्णय हुनेछ र सोहीअनुसार हामी लाग्नेछौँ।

जिल्लामै कोरोना अस्पताल बनाउनुपर्छ भन्‍ने आवाजहरु पनि उठे। यता जिल्ला अस्पताल त्यति व्यवस्थित देखिँदैन, तपाइँहरूको ध्यान पुग्न किन नसकेको?

जिल्लामै कोरोना अस्पताल बनाउनुपर्छ भनेर हामीले केन्द्र र प्रदेशलाई गुहार्‍यौं। मुख्यमन्त्री लगायतको टोलीले अनुगमन गरेपनि तत्काल आवश्यक नरहेको र परिस्थितिअनुसार विचार गरिने आश्वासन मात्रै पाइयो। यता जिल्ला अस्पताल प्रदेश मातहत रहेतापनि नगरपालिकाले आवश्यक सहयोग गरेको छ। स्वास्थ्य सामाग्री जुटाउने, एम्बुलेन्स तयारी अवस्थामा राख्ने र कर्मचारीहरुलाई प्रोत्साहन गर्ने काम हामीले गरेका छौँ।

भुल्के क्षेत्रका नागरिहरुलाई घरबाहिर निस्कन दिइएको छैन, यस्तो अवस्थामा त्यहाँका नागरिकहरुलाई खाद्यान्‍न लगायतको सामग्रीको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

त्यहाँ पसलहरु खुलेका छैनन्। व्यापारीहरु उनीहरुको पैसा लिन समेत डराउँछन्। यस्तो अवस्थामा हामीले भुल्केका ४०० घरपरिवारलाई उनीहरुको आँगनमै राहतको प्याकेज पुर्‍याएका छौँ। उनीहरुले उत्पादन गरेका तरकारी र दुग्धजन्य पदार्थहरु नगरपालिकाले खरिद गरेर त्यसै क्षेत्रका नागरिकहरुलाई वितरण गरेको छ। अवस्था केही प्रतिकूल भएपनि भुल्के क्षेत्रका कोही भोकले मर्नुपर्ने छैन।

 नगरपालिकाले आवश्यक व्यवस्थापन गरिरहेको छ। लकडाउनका कारण बाहिर निस्कन नपाएपछि स्वास्थ्यसेवाबाट बञ्चित नागरिकहरुका लागी नि:शुल्क स्वास्थ्य शिविर नै संचालन गरिएको छ। यसबाट उनीहरुमा मनोवैज्ञानिक असरसमेत कम भएको हामीले बुझेका छौँ।

अहिले पनि यस क्षेत्र कोरोनाको जोखिमा नै छ, नगरपालिकामार्फत राहत वितरण गर्दा कत्तिको सर्तकता अपनाइएको छ?

राहत वितरणमा जाने सबैले सामाजिक दूरी कायम गरेका छन्। मास्क र पञ्जा लगायतका सुरक्षाकवजच लगाइएको छ। भुल्के क्षेत्रमा अझै सर्तकर्ता अपनाइएको छ, सेनिटाइज गर्ने काम समेत गरिएको छ।

अन्त्यमा, नगरबासीहरुलाई कोरोनाको त्रासबाट हटाउन र जनजीवन सामान्य बनाउनेबारे नगरपालिकाले कसरी काम गरिरहेको छ?

हामीले नगरबासीहरुलाई नआत्तिनका लागी अनुरोध गरेका छौँ। केही समस्या आइपरेमा एम्बुलेन्स र अन्य समाग्रीहरु तयारी अवस्थामा राखेका छौँ। तरकारी बजारलाई व्यवस्थित बनाइँदैछ। किसानहरुलाई सामाजिक दुरी कायम राखेर काम गर्न दिनेगरी व्यवस्था मिलाउन लागेका छौँ।

बाँकी स्वाबको रिपोर्ट नेगेटिभ आएमा लकडाउनलाई केहि खुकुलो बनाइने छ। रिपोर्ट नआएसम्म सबैलाई होम क्वारेन्टाइनमा बस्न, साबुनपानीले हात धुन, अत्यावश्यक काममा बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन र सामाजिक दूरी कायम राख्न अनुरोध गरेका छौँ। सबै नगरबासीलाई सर्तक रहन अनुरोध गर्दछु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.