|

कञ्चनपुर : कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ जोनापुरमा सञ्चालित खयरकन्द्रा सामुदायिक होमस्टेमा पाहुना आउन छाडेका छन्‌। बैंकबाट ऋण लिएर होमस्टेमा लगानी गरेका सञ्चालकहरूले यतिखेर आफूहरूलाई मर्का परेको बताएका छन्‌।

आठ परिवारले बैंकबाट ऋण लिएर होमस्टेमा लगानी गरेका हुन्‌। उनीहरूले होमस्टे व्यवस्थापन गर्न बैंकबाट आठ लाख रुपैयाँसम्म ऋण लिएका छन्‌। लकडाउनका कारण होमस्टे बन्द भएपछि कमाईको स्रोत पनि बन्द भएको र बैंकबाट लिएको ऋणको साँवा र ब्याजको किस्ता बुझाउन नपाएको उनीहरू बताउँछन्‌।

यसअघि आन्तरिक र बाह्य पर्यटकको रोजाईमा पर्न थालेको होमस्टेका सञ्चालकहरुले गतिलो आम्दानी गर्न थालेपछि बैंकहरुले ऋण लगानी गर्न इच्छा देखाएका थिए। 'होमस्टेको आम्दानीलाई देखेरनै बैंकले ऋण दिएका थिए,' होमस्टे सञ्चालक समितिका अध्यक्ष पुरन डगौराले भने, ‘विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण लकडाउन भएपछि होमस्टे बन्द गर्नुपर्‍यो, आम्दानी गुम्दा बैंकबाट लिएको ऋणको ब्याज र सावाँको किस्ता बुझाउन सकेका छैनौं।’ 

होमस्टेका घरहरु निर्माण गर्रा राष्ट्रिय प्रकृति संरक्षण कोषले १३ लाख रुपैयाँ अनुदान दिएको थियो। अनुदान रकममध्ये ५० हजार रुपैयाँ कार्यालय सञ्चालन र ५० हजार रुपैयाँ भ्रमणमा खर्च गरिएको थियो। अनुदानबापतको बाँकी १२ लाख रुपैयाँ रकम होमस्टे सञ्चालकहरुले एक लाख ५० हजार रुपैयाँका दरले बराबर हुने गरी बाँडेका थिए।

होमस्टेमा आउने पाहुनाहरुका लागि बस्नका लागि फर्निचर, सयन कक्षको साजसज्जा गर्न अनुदान रकम अपुग भएपछि सञ्चालकहरूले बैंकबाट ऋण लिएका हुन। होमस्टे सञ्चालक समितिका अध्यक्ष डगौराले बैंक बाट घर निर्माणकै लागि सात लाख रुपैयाँभन्दा बढी रकम ऋण लिएक छन्‌। 

बैंकलाई उनले मासिक रुपमा १३ प्रतिशत ब्याज र सावाँको किस्ताबापत १७ हजार रुपैयाँ रकम बुझाउनुपर्ने हुन्छ। होमस्टे सञ्चालन हुँदा होमस्टे सञ्चालकहरुले मासिक रुपमा १५ हजार देखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका थिए।

पाहुनका लागि सांस्कृतिक कार्यक्रम देखाउनका लागि सामुदायिक भवन निर्माण गर्न दुई कट्टा जग्गा १७ लाख रुपैयाँमा खरिद गर्दा होमस्टेमा संलग्न आठ परिवारले रकम ब्यहोरेका छन। जसका लागि उनीहरूले बैंक, सहकारी र गाँउका समुह बाट समेत ऋण झिकेका छन। 

होमस्टेको जग्गा खरिदका लागि गाँउकै त्रिशक्ति समुहबाट एक लाख रुपैयाँ ऋण झिकेका दिल बहादुर डगौरालाई पनि समस्या परेको छ। 'होमस्टे सञ्चालन गरी तीन महिनाको अवधिमै चुक्ता गर्ने भाखा राखी ऋण लिइयो,' उनले भने, ‘ऋण लिएकै केही दिनमै लकडाउनका कारण होमस्टे बन्द भएपछि समस्यामा परेको छु।’

सामुदायिक भवन निर्माणका लागि तारागाँउ विकास समितिले तीन लाख रुपैयाँ उपलब्ध गराएपछि जग्गा खरिद गरिएको  थियो। सो जग्गामा तारागाँउ विकास समितिले प्रदान गरेको रकम खर्चेर भवन निर्माणको कार्य सुरू गरिए पनि रकम अभावले भवन निर्माणको कार्य अगाडी बढन सकेको छैन। लकडाउनका कारण भवन निर्माणका लागि रकम जुटाउन नपाइएको होमस्टे सञ्चालकहरुको भनाई रहेको छ। एक वर्ष अघिदेखि सञ्चालन हुँदै आएको होमस्टेमा बास बस्नका लागि पुग्ने पर्यटकलाई थारु समुदायका मौलिक परिकारका रुपमा रहेका माछा, घोँघि, सिध्रा, ढिक्रि, पतौला, फुलौरा र स्थानीय जातका कुखुराको मासुका परिकासँगै सखिया नृत्य देखाइने गरिएको थियो।

थारु समुदायले बस्नका लागि प्रयोग गर्दै आएका परम्परागत शैलीका घरमा पर्यटकलाई बास बस्ने व्यवस्था गरिएको छ। तयार गरिएका घरहरू बाहिरबाट हेर्दा पुरानै शैलीका देखिने र घरभित्र आधुनिक शैलिका शयन कक्ष, शौचालय र स्नान घरको व्यवस्था गरिएको छ।

एक कोठामा दुई जना पर्यटकलाई सहज रुपमा बस्नका लागि व्यवस्था गरिएको खयरकन्द्रा सामुदायिक होमस्टेका सचिव दान सिंह चौधरीले बताए। रोजगारी सिर्जना गर्न, लोप हुँदै गएको संस्कृति जोगाउन, मौलिक पहिचान स्थापित गर्न र एतिहासिक वस्तुहरुको संरक्षणमा योगदान दिनका लागि होमस्टे सञ्चालन गरिएको हो।

जोनापुर थारु समुदायको पुरानो गाँउ हो। विसं १९६५ मा यो गाँउ बसेको बुढापाकाहरुको भनाई रहेको छ। जोनापुर गाँउमा थारु, ब्राम्हण, दलित र क्षेत्री गरी १६२ परिवारको बसोबास रहेको छ। परम्परागत थारु संस्कृतिको धरोहरका रुपमा जोनापुर गाँउ चिनिने गर्छ।

जोनापुरको दक्षिणी भेग शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खैकन्द्रा नाम गरेको ठुलो प्राकृतिक ताल रहेको छ। यसै तालको नामबाट यस होमस्टेको नामाकरण गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.