|

काठमाडौंः सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको चर्को विवाद उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णयसँगै टुँगिएको छ। शनिबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आत्मालोचना गर्ने र उपाध्यक्ष गौतमलाई अनुकुल समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ। तर के उपाध्यक्ष गौतमलाई प्रतिनिधि सभा प्रवेश गराउन सजिलो छ त? गौतमले किन संसद भवन पस्न अथक प्रयास गरिरहेका छन्‌? यसै सन्दर्भमा नेकपाका केन्द्रीय सदस्य एवम्‌ गौतमनिकटका नेता बलराम बास्कोटासँग थाहाकर्मी सरस्वती अधिकारीले गरेको संक्षिप्त कुराकानी :

अब नेकपाका उपाध्यक्ष वामदेव गौतम प्रतिनिधिसभामा जाने पक्का भएको हो ? 

हिजो सचिवालयले निर्णय गरेकाले उहाँलाई प्रतिनिधिसभामा लगिने उपयुक्त समयको खोजी होला। पार्टीले निर्णय गरिसकेको विषय भएकाले उहाँ प्रतिनिधि सभामा जानुहुन्छ।

कहिलेसम्म प्रतिनिधि सभामा जानुहोला ? उपयुक्त समय कहिले आउला ?

पार्टीभित्र आन्तरिक एकताको सन्देश गएको छ। नेताहरुबीच मन माझामाझ भएको छ। एकआपसका कमजोरीहरुलाई सच्याउने प्रतिवद्धतासाथ उहाँहरु अगाडी बढ्ने एउटा परिवेश सिर्जना भएको छ। यो भन्दा राम्रो उपयुक्त समय कहिल्यै होइन।

तर अहिले कोरोना भाइरसले मुलुक र विश्व नै आक्रान्त बनिरहेका बेला तत्काल उहाँ प्रतिनिधि सभामा देखिने कुरा भएन। स्थिति अनुकूल भएपछि एकाध महिनाभित्र नै यो निर्णय हुन्छ भन्नेमा म विश्वस्त छु।

उहाँलाई प्रतिनिधिसभामा ल्याउन उहाँले चुनाव जित्न सक्ने क्षेत्रको खोजी थालिएको भनिएको छ, के उहाँ उप-चुनावमा जाने नै तयारीमै हो ?

वामदेवजी पार्टीको नेता हो। उहाँलाई प्रतिनिधि सभामा लैजान पार्टीले निर्णय गरिसकेपछि उपनिर्वाचनमा जान बाध्य हुनुहुन्छ र जानुपर्छ।

उहाँले उपचुनाव चाहिँ कहाँबाट लड्ने हो ?

पार्टीले जहाँबाट निर्णय गर्छ, त्यहीँबाट लड्नुहुन्छ। उहाँले आफूले पनि विकल्पहरू खोज्नुहुन्छ। उहाँले खोज्नेभन्दा पनि कहाँबाट उम्मेदवार बनाउने भन्ने निर्णय पार्टीले नै गर्छ, जुन पार्टीको दायित्व पनि हो। पार्टीले जहाँबाट भन्छ : उहाँ त्यहीँबाट चुनाव लड्नुहुन्छ।

खासमा के कुराले वामदेव गौतम अध्यक्ष ओलीको कित्तामा पुग्नुभयो ?

वामदेव गौतम पार्टीको एउटा केन्द्र नै हो। 'यो खेमा' र 'उ खेमा' भन्ने प्रश्नै हुँदैन। वामदेव गौतम कम्यूनिष्ट आन्दोलनको एउटा शीर्षस्थमध्येका व्यक्ति हुनुहुन्छ। त्यसअर्थमा उहाँ केपीको खेमामा, माधव नेपालको खेमामा वा प्रचण्डको खेमामा भन्ने हुँदैन।

सवालहरु र 'वेवलेन्थ' मिलेपछि यो सम्भव हुन्छ। अहिले त हाम्रो पार्टीभित्र कुनै खेमा नरहने निर्णय सचिवालयले गरिसकेको छ। आपसी गुटबन्दी नगर्ने, गल्ती र कमजोरीलाई सच्याउने, सरकार पनि पार्टीको समन्वयबाट नै सञ्चालित हुने कुरामा सबै राफसाफ भइसकेको परिवेशमा अहिले यो कित्ता र त्यो कित्ता भन्ने हाम्रो पार्टीमा रहँदैन।

गुटभेला नगर्ने भन्ने जुन सहमति भयो, त्यो सम्भव छ ?

सम्भव छ। हामी जे निर्णय गछौं, त्यो सम्भावनालाई हेरेरै गर्छौं। वस्तुपरक ढंगले विश्लेषण गरेर हामी सबैले आ-आफ्नो कमजोरीलाई मनन गर्नासाथ सहमति सम्भव भइहाल्छ।

वामदेव गौतम प्रतिनिधिसभामा नगई नहुने र प्रधानमन्त्री नै हुन खोज्नुको कारण चाँही के हो ?

मलाई लाग्छ : उहाँ प्रधानमन्त्री हुन खोज्नुभएको भन्ने कुराको कुनै अर्थ छैन। पार्टी एकता हुँदा पाँचवर्षको लागि दुईवटा पार्टी एकता हुँदा कार्यकाल आधाआधा बाँड्ने भन्ने समझदारी गरेको हो। तर अहिले सरकार सञ्चालन अवधिमा केपी ओलीलाई निरन्तरता दिने भनिएको छ।

त्यसैले प्रतिनिधिसभामा जाने बाटो सहज बनाइएपनि गौतमलाई प्रधानमन्त्री नै बनाउन खोजिएको भनी बुझ्नु हुँदैन। जहाँसम्म प्रतिनिधिसभामा जाने सवाल छ, उहाँ जत्तिको शीर्षस्थ नेता त्यहाँ रहनुपर्छ भन्नेमा कुनै द्विविधा रहनु हुँदैन।

अहिले नै नगई नहुने कारण ?

पार्टीले निर्णय गर्‍यो नी त। 'तपाईँ जानुपर्छ' भनेर पार्टीले निर्णय गरेकाले उहाँ जान लाग्नुभएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.