|

धादिङ : गजुरी गाउँपालिका वडा- २ मा रहेको तुनी झरना प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ।  पृथ्वी राजमार्गमा पर्ने मलेखु माछाबजारवाट मलेखु भण्डारा चेपाङ मार्ग हुँदै मोटरमा डुँडेठाँटी पुगेर त्यहाँबाट ३ किलोमिटर पैदलयात्रा गरेपछि तुनी झरनामा पुग्न सकिन्छ।

वषौँ अघिदेखि पहिचानमा आएको भएपनि प्रचार प्रसार हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक यहाँ विरलै पुग्ने गरेका छन्। एक महिनादेखि जारी लकडाउनका कारण घरभित्र बस्दा दिक्क लागेपछि एकान्तठाउँको खोजी गर्दै वरिपरीका वासिन्दा झरना जानेक्रम बढ्न थालेको हो। केही दिन यता नयाँ ठाउँ हेर्न र गर्मी छल्नका लागि भन्दै स्थानीयहरु झरनामा जाने क्रम बढिरेहको गजुरी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष चुडामणी कँडेल बताउँछन्।

हरियाली  वनले ढाकेको खोल्सामा एक सय मिटर भन्दा माथिको उचाईबाट पानी झरेर बनेको सो झरना निकै मनमोहक छ।  प्रचार प्रसारको अभावले टाढा टाढाबाट मानिसहरु नआइ पुगेपनि स्थानीयहरु समुह समुहमा गएर झरनामा नुहाउने गर्दछन्। लकडाउनका कारण बाहिरका पर्यटक पुग्न नसकेपनि स्थानीयहरु भने झरना जानेक्रम बढेको स्थानीय रामशरण डल्लाकोटीले  बताए।

मलेखुको माछा बजारबाट १० किलो मिटर यात्रा गरेपछि पुग्न सकिने तुदी झरना गजुरी गाँउपालिकाको डुँडेठाँटिदेखी केहिपरबाट भने करिव १ घण्टा पैदल यात्रा गर्नुपर्दछ। झरनाको प्रचार प्रसार र पुर्वाधार विकास गर्न सकिए यो ठाउँलाई बनभोज स्थलका रुपमा विकास गर्न सकिने डल्लाकोटी बताउँछन।

गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रक्रिम बस्नेतका अनुसार पालिका भित्र रहेका सबै पर्यटकिय गन्तव्यको संरक्षण, सम्बर्द्धन र प्रर्वद्धनका लागि डिपिआर बनाएर अघि बढ्ने योजनामा पालिका रहेको छ।  झरना सम्म पुग्न सकिने सडक बिस्तारदेखि विभिन्न आकर्षण संरचना र पिकनिक स्पट निर्माण गर्न लकडाउन पछि प्राविधिकहरुसँग बसेर छलफल गरि योजना बनाउने तयारीमा रहेको अध्यक्ष बस्नेतले बताए।

पर्या पर्यटकिय दृष्ट्रिकोण एव मनोरन्जनका हिसाबले अति महत्वपुर्ण रहेको झरनाको उचित प्रचार प्रसार समेत भएको छैन। 'प्राकृतिक रमणीयस्थलको विकासका लागि हामी पहल थाल्छौँ। झरनासम्म पुग्ने सडक सुधार गर्न पहल गर्दैछौं', गजुरी गाउँपालिकाको उपाध्यक्ष सीता ढुंगानाले भनिन्।

पर्यटन क्षेत्रको विकासले आर्थिक विकास र रोजगारीलाई समेत सहयोग पुग्ने भएकाले पर्यटनका माध्यमबाट आर्थिक विकास र सम्वृद्धीका लागि प्राकृतिक रमणिय पर्यटकिय स्थल  तुनी झरना ओझेलमा पर्न नहुने उपाध्यक्ष ढुंगानाको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.