|

डोल्पा : डोल्पामा व्यावसायिक ओखर खेतीका लागि च्यालन्दर जातका १५ हजार बिरुवा खरिद गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकिकरण, कृषि सडक, कृषि सिँचाई लगायतका आयोजनाको अनुदान रकमबाट ओखरका १५ हजार बिरुवा खरिद गरिएको हो।

जिल्लामै पहिलो पटक टर्कीबाट एक करोड १२ लाख ५० हजार रुपैयाँ बराबरका च्यालन्दर जातका ओखरका बिरुवा पुर्‍याइएको कृषि कार्यालयले जनाएको छ। कृषकको माग अनुसार बिरुवा झिकाएर धमाधम वितरण सुरू गरिएको कार्यालयले जानकारी दिएको छ।

डोल्पामा पर्ने त्रिपुरासुन्दरी नगरपालिका, ठुलीभेरी नगरपालिका, काइके गाउँपालिका लगायत स्थानीय तहका पकेट र ब्लगमा आवद्ध कृषकहरुलाई जुफालबाट ओखरका बिरुवा वितरण सुरू गरिएको हो। टर्कीबाट ल्याइएको च्यालन्दर जातको ओखरले लगाएको एक वर्षमै फल दिने जिल्ला कृषि विकास कार्यालले जनाएको छ।

लकडाउनकै समयमा १२ हजार बिरुवा जहाजबाट जुफाल विमानस्थल पुर्‍याएर वितरण सुरू गरिएको छ। तीन हजार बिरुवा सडक मार्गबाट तल्लो डोल्पामा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिका लागि पठाइएको छ।

तल्लो डोल्पामा सडकमार्गबाट गाडीमा बिरुवा पठाइसकेकाले पुग्ने बित्तिकै वितरण सुरू गरिने कर्णाली प्रदेश सभा सांसद बिर बहादुर शाहीले बताए। नयाँ जातको ओखरले फल दिन सुरू गरेपछि डोल्पाली कृषहरुको आयस्रोतको बलियो माध्याम बन्ने सांसद शाहीकोे भनाई छ। जिल्ला कृषि विकास कार्यालयको समन्वयमा जुम्लाको दाजु भाई नर्सरीलेनेपाली एजेन्ट मार्फत १५ हजार बिरुवा खरिद गरेर नेपाल पुर्‍याएको हो।

जिल्लाभर सात वटा ओखर पकेट र एउटा ब्लग क्षेत्र रहेको छन्। एउटा पकटेलाई ४०० र ब्लगलाई ३००० का दरले बिरुवा वितरण गरिएको छ। बिरुवा लगाउन इच्छुक, तर पकेट र ब्लगमा नसमेटिएका कृषकलाई समेत ७५० रुपैयाँका दरले पाँच देखि १० वटासम्म बिरुवा वितरण गरिएको छ।

यो वर्ष एउटा ओखर पकेटमा चार लाख र ब्ल्गमा ४५ लाख रुपैयाँ अनुदान रकम गएको र १० वर्षसम्म लगातार गइराख्ने कृषि कार्यालयले जनाएको छ। पकेट र व्लगमा आवद्ध कृषकहरुले अनुदानको दुरुपयोग गरेमा अनुदान रकम तुरुन्तै बन्द गरिने कार्यालयको भनाई छ।

बिरुवा फागुनसम्म लगाइसक्नुपर्ने भएपनि ढिला आइपुगेको भन्दै जनप्रतिनिधि र कृषकहरुले गुनासो गरेका थिए। सामाजिक सञ्जालमा बिरुवा सुकेको र ढिलो आइपुगेका भन्दै आलोचना भएपछि सरोकारवाला टोलीले स्थलगत अनुगमन समेत गरेको थियो। अनुगमन टोलीले बिरुवा ढिला गरि आएको निष्कर्श निकाल्दै बिरुवा हरियो नै रहेकाले छिटो वितरण गरेर कृषकहरु लाई लगाइहाल्न सुझाव दिएको थियो। 

कृषि विकास कार्यालय प्रमुख भीमबहादुर धरालाले बिरुवा डोल्पासम्म ल्याइपुर्‍याउने नर्सरीलाई एक रुपैयाँ पनि नदिएकाले यदि बिरुवा नलागेमा भुक्तानी बन्द गरिने बताए। लकडाउन कारण करिब एक दुई महिना ढिला गरी बिरुवा आइपुगेको बताउँदै धरालाले कृषकलाई मार पर्ने गरि काम नगरेको बताए।

नयाँ परिक्षणका लागि बिरुवा झिकाइएको बताउँदै अझै कृषकको माग अनुसार बिरुवा उपलब्ध गराउन नसकिएको धरालाको भनाई छ। विदेशी उन्नत जातको बिरुवा गाउँमै पाएपछि कृषकहरु खुशी भएका छन्‌। ओखर पकेटका लागि लिएको बिरुवालाई हुर्काएर त्यसबाट राम्रो आम्दानी लिने त्रिपुरासुन्दरी नगरपालिकाका कृषक बमबहादुर सार्कीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.