|

इलाम :  एपिएफ महिला टिमका प्रशिक्षक एवम खेलाडी नरकुमार राईको ब्लड क्यान्सरपीडित छोरी कसुमीको उपचारका लागि सिंगापुरमा रहेको नेपालीहरुले सहयोग रकम पठाएका छन्।

किरात राई समाज सिंगापुर र इलामेली लाहुरे समाजले संकलन गरेको १ लाख ५३ हजार ५ सय रुपैयाँ आज सातदोबाटोमा हस्तान्तरण गरिएको हो।

सिंगापुरमा ६५ जना लाहुरे परिवारले संकलन गरिएको १७२६ सिंगापुर डलर करिब १ लाख ४५ हजार ४ सय ८८ रुपैयाँमा रिटायर्ड सिंगापुर पुलिस कुमार हाङखिमले ५ हजार १२ र वीरबहादुर मगरले ३ हजार रुपैयाँ थप गरेर हस्तान्तरण गरेका थिए।

११ वर्षीया कसुमी गत मंसिरबाट ब्लड क्यान्सरसँग लडिरहेकी छन्। उनको हाल कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ। फुटबल क्षेत्रमा ‘नरे दाई’ को नामले परिचित इलामको देउमाई नगरपालिका–३ शान्तिडाँडाका नरकुमारले २०६२ सालदेखि २०६८ सालसम्म एपिएफमा खेलाडी र २०६४ सालबाट २०७३ सालसम्म महिला टिमलाई प्रशिक्षण गरेका थिए। त्यसपछि उनी बैदेशिक रोजगारको लागि बहराइन गएका थिए। 

कसुमीको बारेमा गत शुक्रबार थाहाखबरमा समाचार प्रकाशन भएको थियो। समाचार प्रकाशन भएपछि सहयोगका लागि वचन आइरहेको नरकुमारले बताए। ‘बेलायतमा रहेका इलामकै लाहुरे धन राई, पूर्व-राष्ट्रिय खेलाडी लोकबन्धु गुरुङ लगायतले सहयोग रकम संकलन गरिरहेको जानकारी दिनुभएको छ। एन्फा उपाध्यक्ष पंकज विक्रम नेम्वाङले सहयोगका लागि पहल गरिदिने भन्नुभएको छ’, उनले भने।

हाल महिला फुटबलमा बलियो स्थितिमा रहेको एपिएफ महिला टिमको निमार्णकर्ता नै राई हुन्। राष्ट्रिय टिमकी गोलरक्षकसमेत रहेकी इलामकै एन्जिला तुम्वापो सुब्बासहित सावित्रा भण्डारी (साम्बा), अनिता बस्नेत, अनिता केसी, मनमाया लिम्बू, गीता राना, सरु लिम्बू जस्ता खेलाडीहरू उनको उत्पादन हुन्।

हालसम्म कसुमीको उपचारमा १४ लाख रुपैयाँभन्दा बढी खर्च भएको नरकुमारले बताए। कसुमीको उपचार यसअघि ग्रिन नेपाल एफसी छाङ्वान कोरियाबाट ५१ हजार, मलेसियामा रहेको उत्तम राईको पहलमा ५२ हजार १ सय ४०, एपिएफ महिला टिमबाट ३२ हजार तथा एपिएफ व्याडमिन्टन परिवारबाट ८४ हजार सहयोग प्राप्त भएको छ।

उपचारमा अझै रकम आवश्यक रहेकाले सहयोगी दाताहरूले रिना राईको नाममा सिद्धार्थ बैंक स्वयम्भू शाखामा रहेको खाता नं ०१९१५२६९१४६ मा रकम जम्मा गर्न सक्ने नरकुमारले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.