किट अभावमा परीक्षण हुन पाएन, आउन हप्ता दिन लाग्ने

|

सुर्खेत : कर्णाली प्रदेश भित्रने मुख्य नाका बाँकेमा कोरोनाका संक्रमितको संख्या बढेपछि कर्णाली प्रदेश झस्किएको छ। कर्णालीमा उच्च सतर्कता अपनाइएको छ। लकडाउनका बेला लचिलो बनेको प्रदेश सरकारले अहिले भने एक हप्ताका लागि आफ्नो क्षेत्र सिल गरिसकको छ। 

आशंकित ठाँउहरुमा विषेश निगरानीका साथ प्रदेश सरकार अघि बढेको छ। प्रदेश राजधानीसमेत रहेको सुर्खेत उपत्यकाभित्र रहेका मुस्लिम बस्तीका शंकास्पद व्यक्तिहरुको थ्रोट स्वाब संकलनमा तीव्रता दिइएको प्रदेशका स्वास्थ्य निर्देशक रीता भण्डारीले जनाइन्। 

वीरेन्द्रनगरमा रहेका तीन वटा वडाका मस्जिद वरपर रहेका प्रत्येक वडामा १० जनाका दरले स्वाब संकलन गरी नमुना परिक्षण गर्न लागिएको भण्डारीले जनाइन्। नेपालगन्जमा मस्जिद क्षेत्रसँगको सम्पर्कबाट कोरोना संक्रमण देखिएसँगै सुर्खेतका मस्जिद वरपर पनि विशेष निगरानी बढाइएको हो।

प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावलले रणनीतिक स्थानहरु (संक्रमण देखिएको स्थानबाट आएका, विदेशबाट आएका र अन्य आशंकित ठाउँ) का व्यक्तिहरुको थ्रोट स्वाब संकलन गरी परीक्षण गर्ने गरी निर्णय गरिएको जानकारी दिए। तर मन्त्री रावलले किटको अभाव भएको बताए। ‘संघीय सरकारसँग किट माग गरी पठाइएको छ’, उनले भने, ‘तर आत्तिहाल्नुपर्ने अवस्था छैन।’

उच्च जोखिम हुँदाहुँदै पनि कर्णाली अहिलेसम्म संक्रमणबाट भने जोगिएको छ। अन्य ६ वटा प्रदेशमा संक्रमण फैलँदा कर्णालीमा भने अहिलेसम्म कुनै केस देखिएको छैन। परीक्षणको दायरा निकै न्यून भएकाले कोरोना भित्रिएर पनि नदेखिएको हो कि भन्ने खालका आशंका पनि गर्न थालिएको छ। दुई साताअघि कर्णाली भित्रिएका हजारौं व्यक्तिको परीक्षण गरेपछि मात्रै यहाँको वास्तविकता बाहिर आउने भन्दै कोरोना परीक्षणलाई तीव्रता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्। 

किटको अभाव ,आउन हप्ता दिन लाग्ने !

कर्णाली प्रदेशमा किट अभावमा कोरोना परीक्षण कार्य प्रभावित भएको छ। स्वाब संकलन गरेर प्रयोगशालामा ल्याउन आवश्यक भिटिएम (भाइरस ट्रान्सफर मिडिया) र संकलित स्वाब परीक्षण गर्ने पिसिआर प्रोसेसिङ किट सकिएका छन्। किट नभएपछि केही दिनयता परीक्षणसमेत रोकिएका छन्। 

अहिलेसम्म कर्णालीमा क्‍वारेन्टाइन बसेका शंकास्पद बिरामीको मात्रै नमुना परीक्षण गरिएको छ। हालसम्म पाँच हजार पाँच सय जनाको आरडिटी र एक हजार जनाको मात्रै पिसिआर परीक्षण भएको छ। वैशाखको पहिलोसातदेखि किट अभाव भएको हो। कर्णाली प्रदेश स्वास्थ्य निर्देशक भण्डारीले किटको अभाव भएर केन्द्र सरकारलाई किट पठाईदिन आग्रह गरे पनि आइनसकेको बताइन्।  

‘अहिलेसम्म क्‍वारेन्टाइनमा बसेकाहरुको मात्र परीक्षण गरिएको थियो, अब किट छैन,’ उनले भनिन्, ‘सीमित मात्रामा मात्र अहिले किट मौज्दाज छ,’ केन्द्रबाट किट आउन हप्ता दिन लाग्ने कुरा आएको छ।’ 

अब एउटा कोठामा बसेका केहीलाई मात्र नमुना परीक्षण गर्नुपर्ने अवस्था आएको निर्देशक भण्डारीले बताइन्। थ्रोट स्वाबको नमुना संकलन र प्रोसेसिङ गर्ने सामान सकिएपछि केही दिन पहिले प्रदेश अस्पताल सुर्खेत र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएका आरटी पिसिआर मेसिन पनि थन्किएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.