|

भद्रपुर, (झापा) : झापाको कचनकवल गाउँपालिकाका ८० जना नेपाली नागरिक भारतको तमिलनाडुमा अलपत्र परेका छन्। रोजगारीका सिलसिलामा तमिलनाडु पुगेका उनीहरू कोरोना त्रासपछि लगाइएको लकडाउनका कारण त्यहाँ अलपत्रमा परेका हुन्। 

अलपत्र परेका नेपाली नागरिकहरु त्यहाँका सरकारले खाना तथा बस्नका लागि उचित व्यवस्थापन नमिलाउँदा थप समस्या परेका छन्। अलपत्र परेका नेपालीलाई घर फर्काइदिन उनीहरूका आफन्तजनले तीनै तहका सरकारसमक्ष आग्रह गरिरहेका छन्‌।

साविक केचना गाविसको वडा नम्बर १, २, ३ र ४ हाल कचनकवल गाउँपालिका-४ केचना बस्ने ८० जना नेपाली नागरिक भारतको तमिलनाडु राज्यको त्रिपुरा भन्ने स्थानका उद्योगहरूमा काम गर्न गएका थिए। तर त्यहीँ अलपत्र परेका कचनकवलका ओम नारायण माझीले कचनकवल ४ का नेकपा वडा इन्चार्ज पुण्य भण्डारी (रोहित)लाई फोन सम्पर्क गर्दै नेपाली नागरिकको दयनीय अवस्थाको बारेमा जानकारी गराएका छन्। 

माझीको भनाइलाई उदृत गर्दै भण्डारीले भने, ‘कोरोनाको महामारीपछि तमिलनाडुका सबै उद्योगधन्दा बन्द छ, काम गर्न गएका नेपाली नागरिकको अवस्था दयनीय बन्न थालेको छ। त्यहाँका सरकारले महिना दिनसम्म खाना व्यवस्था गरेको थियो, तर विगत एक हप्तादेखि खानाको व्यवस्था छैन, यहाँका साथीहरू भोकभोकै बस्नु परेको अवस्था छ, हामीलाई त्यहाँबाट उद्धार गरी नेपाल सरकारले घर फकाई दिनुपर्‍यो।’ अलपत्र परेका नेपालीहरूसँग सम्पर्क भइरहेको भण्डारीले बताए।

माझीले तमिलनाडुमा अलपत्र परेका ८० जना नेपाली नागरिकको नामावलीसहित सम्पर्क नम्बर समेत पठाएका छन्। यता भण्डारीले त्यहाँ अलपत्र परेका नागरिकको उद्धारका लागि पहल सुरू गरिसकेको बताए। उनले भने, ‘यस विषयमा पार्टीका साथीहरू र जनप्रतिनिधिसमक्ष कुरा राखिसकेका छौं।’

नेकपाका कचनकवल गाउँपालिका इन्चार्ज तेजेन्द्र मैनालीले उनीहरूको नामावली फेसबुकमा पोस्ट गर्दै उद्धारका लागि सामाजिक सञ्जालबाटै अपिल गरेका छन्। कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले पनि उनीहरुको उद्धारका लागि पहल गरिरहेको जनाएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.