|

नेपालगन्ज : लक्षण नै नदेखिएर धेरै संख्यामा कोरोना संक्रमित नेपालगञ्जमा भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोली नेपालगञ्ज आइपुगेको छ। नेपालगञ्जमा देशभरमै धेरै संख्यामा कोरोना भाइरस संक्रमित भेटिएपछि स्वास्थ्यकर्मी तथा प्राविधिक टोली आजै नेपालगञ्ज आइपुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार टोलीले नेपालगञ्जका विभिन्न टोल तथा बस्ती पुगेर स्वाब संकलनमा सहजीकरण गरिरहेको छ।नेपालगञ्ज उपमहानगरपालिका ८ महेन्द्रपार्क नजिक पाल लगाएर बाँकेको स्वास्थ्य टोलीसँग डब्लुएचओको उक्त टोलीले कोरोना भाइरस आंशकितको स्वाब संकलनमा सहयोग गरिरहेको फोकल पर्सन श्रेष्ठले बतए।  चिकित्सकलगायत प्राविधिक रहेको टोलीका सदस्यहरुको विस्तृत विवरण खुलाइएको छैन।

डब्लुएचओको टोली यतिबेला नेपालगञ्जको कोरोना संक्रमित स्थलमा काम गरिरहेको छ। बुधबारदेखि स्वाब संकलन तथा परीक्षणमा पनि उक्त टोलीले सहकार्य गरेर काम गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए। 

उनले भने, ‘जिल्लाका स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्न आएको डब्लुएचओको टोलीले यहाँ आवश्यकताअनुसारका काम गर्नेछ।’ भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाका अनुसार पहिलो संक्रमितको सम्पर्कमा आएका १ सय ५ जनाकै रिपोर्ट आइसकेको छ।

आइतबार ६० जनाको आउँदा १५ जनामा संक्रमण देखिएको थियो भने बाँकी मंगलबार ४५ जनाको रिपोर्ट आउँदा सात जनामा पोजेटिभ देखिएर बाँकेमा संक्रमितको कुल संख्या २३ पुगेको छ।

समुदायस्तरमा स्वाब संकलन सुरु

नेपालगञ्जको कोरोना सङ्क्रमित वडा ८ का पाँच स्थानबाट समुदायस्तरमा स्वाब संकलन सुरु गरिएको छ । उक्त वडाको जोलाहनपुर्वा टोलमा मात्रै २३ जना सङ्क्रमित फेला परेपछि वडाका विभिन्न स्थानबाट समुदायस्तरमा कोरोना परीक्षणका लागि स्वाब संकलन तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले बताए। 

उनका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, डब्ल्युएचओ र प्रदेश सामाजिक विकास मन्त्रालयको टोलीको प्रत्यक्ष निगरानीमा आज बेलुका ५ बजेदेखि वडा नं ८ का भैरव टोल, रानीतलाउको सब्जीमण्डी, नाउ टोल, पण्डन मोहला तथा टाँगा स्टेसन आसपासका क्षेत्रबाट स्वाब संकलन थालिएकाे छ। 

गत शुक्रबारदेखि मंगलबारसम्मका अवधिमा उक्त क्षेत्रका २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले बाँकेलाई रेड जोनमा राखिएको छ। स्वास्थ्य मन्त्रालय र डब्ल्युएचओको टोली नेपालगञ्ज आएर सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा जुटेको श्रेष्ठले जानकारी दिए। 

ठूलो सङ्ख्यामा सङ्क्रमित फेला परेपछि उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिको खोजी गरी धेरैभन्दा धेरैजनाको स्वाब संकलन गर्न यही वैशाख २५ गते मध्यरातसम्म उपमहानगरपालिका क्षेत्रलाई नै निषेधित क्षेत्र घोषणा गरिने प्रजिअ खड्काले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.