|

सोलुखुम्बु : दूषित खानेपानीका कारण नेचासल्यान १ नयाँचौतारा नेवार बस्तीका स्थानीयमा आउँ देखिएको चिकित्कसले बताएका छन्। केही दिनअघि  एकै परिवारका चार जनासम्ममा आउँ देखिएपछि त्यस क्षेत्रमा चिकित्सक सहितको टोली परिचालन गरिएको थियो।

सल्यान प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डाक्टर अभिषेक सुमनका अनुसार स्थानीयले प्रयोग गर्ने खानेपानीको मुहान दुषित हुँदा रोग फैलिएको हो। गाईवस्तुले खाने पानी र मानिसले समेत प्रयोग गर्ने पानीको मुहान एउटै हुँदा समस्या देखिएको उनको भनाई छ। 

आउँका बिरामी २२ जना र कमलपित्तका १६ जनाको सल्यान प्राथमिक स्वास्थ्य केन्द्रको निगरानीमा उपचार भइरहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक युवराज शर्माले जानकारी दिए। उनका अनुसार अन्य केही विरामीलाई पनि औषधी वितरण गरिएको छ।

सोलुखुम्बुको नेचासल्यानमा झाडापखाला र जण्डिसका ४० बिरामी भेटिए

प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक सहितको टोलीले घरैमा गएर चेकजाँच गरी औषधी वितरण गरेको गाउँपालिकाले जनाएको छ। अहिले बिरामीको अवस्था सामान्य बन्दै गएकाले तत्काल आत्तिनुपर्ने अवस्था नभएको स्वास्थ्य संयोजक शर्माको भनाई छ। 

वडा अध्यक्ष भेषकुमार बास्तोलाका अनुसार त्यस क्षेत्रमा खानेपानीको समस्या रहेको छ। साविक सल्यान १ र ३ का स्थानीयले प्रयोग गर्ने तीनवटा खानेपानीको मुहानमध्ये एउटा मुहान दुषित रहेको बताइएको छ।

बर्खामा पर्याप्त खानेपानी भएपनि हिउँदमा भने मुहान सुक्दा त्यस क्षेत्रमा खानेपानी समस्या हुने गरेको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाको भनाई छ। अध्यक्ष बास्तोलाले त्यहाँ पम्पिङ प्रणालीबाट खानेपानी वितरण गर्ने योजना भएपनि वडास्तरबाट केही समस्या देखिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.