|

दक्षिण कोरियाली गुप्तचर संयन्त्रले उत्तर कोरियाका शासक किम जङ उनको स्वास्थ्यबारे चलेको हल्ला निराधार भएको ठहर गरेको छ। उनको मुटुको अपरेसन भएको कुनै संकेत नपाइएको संयन्त्रको निष्कर्ष छ।

किम लगातार २० दिनसम्म सार्वजनिक रुपमा देखिएका थिएनन्। हजुरबुबाको जन्मजयन्ती समारोहमा पनि अनुपस्थित भएपछि उनको स्वास्थ्यबारे अनेक अड्कल काटिएको थियो। केही सञ्चारमाध्यमले उनी सिकिस्त बिरामी भएको विवरण दिएका थिए भने केहीले निधको आशंका गरेका थिए। त्यस्तो समाचार आएको केही दिनमै एक कृषि उद्योगको उद्घाटनमा झुल्किएका किम पूर्णत: स्वस्थ देखिन्थे।

बुधबार दक्षिण कोरियाको एक संसदीय समितिको बैठकमा उपस्थित भएका गुप्तचर संयन्त्रका प्रमुख सुह हुनले किम अस्वस्थ भएको भन्ने खबर निराधार रहेको बताएका हुन्। 

किम यो वर्ष सार्वजनिक रुपमा असाध्यै कम देखिएकाले दक्षिण कोरियाको संसदीय समितिमा पनि उनको स्वास्थ्यबारे प्रश्न उठेको थियो। समितिका एक सदस्यले कोरोनाको डरले किम बाहिर ननिस्किएको हुनसक्ने अनुमान गरे। भलै, उत्तर कोरियामा एकजना संक्रमित पनि नदेखिएको दाबी गरिएको छ।

किम बेलाबेलामा अचानक हराउने गरेकाले उनीबारे अनेक अफवाह फैलने गर्छ। सन् २०१४ मा उनी ४० दिन सार्वजनिक वृत्तबाट गायब भएका थिए। त्यसबेला पनि उनको निधनको हल्ला चलेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.