|

हेटौंडा : संघीय सरकारले बागमती प्रदेश सरकारलाई उपलब्ध गराएको कोरोना परीक्षण गर्ने पीसीआर र आरडीटी कीट सकिएको छ। कीट सकिएसँगै हेटौंडामा कोरोना जाँच रोकिएको छ।

बागमती प्रदेश भित्र रहेका पाँचवटै ल्याबमै प्रदेश सरकारले दिएको कीट सकिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा विभागका प्रमुख डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए।

डा. सेढाईंका अनुसार संघले उपलब्ध गराएका पाँचवटा ल्याबलाई पिसिआरको लागि ६५० र १० हजारवटा आरडीटी कीट १३ जिल्लालाई बाँडिएको थियो। कीट सकिएसँगै आज बिहिबार नै सामाजिक विकास मन्त्रालयले संघीय सरकारसँग कीट माग्न काठमाडौंमा आफ्नो कर्मचारी पठाइसकेको र सकेसम्म छिटै कीट ल्याउने बताइएको छ। 

दुई हजार बढीको पिसिआर परीक्षण

बागमती प्रदेशभित्र रहेका पाँचवटा ल्याबमा बिहीबारसम्म दुई हजार २८३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक छ। तीमध्ये सातजनाको रिपोर्ट पोजेटिभ देखिएको छ। भरतपुर अस्पतालमा दुई कोरोना पोजेटिभ देखिएका दुई जनाको उपचार भइरहेकोमा एकजना निको भएर घर फर्किएका छन्। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीनजना र पाटन अस्पतालबाट दुईजना उपचारपछि घर फर्किएको मन्त्रालयले जनाएको छ। सबैभन्दा धेरै काभ्रेमा ५९३ जनामा पीसीआर परीक्षण गरिएको छ। रसुवाका जम्मा दुईजनामा मात्र परीक्षण गरिएको मन्त्रालयको तथ्यांक छ। हालसम्म हेटौंडामा रहेको पीसीआर ल्याबबाट मात्र ४६२ जनाको स्वाब परीक्षण गरिएको छ।

बिहीबारसम्म प्रदेशभर नौ हजार ६० जनाको आरडीटी परीक्षण गरिएको छ। तीमध्ये १९ जनामा पोजेटिभ देखिएको थियो। तीमध्ये सबैभन्दा धेरै काठमाडौंमा दुई हजार ६३५ जना र सबैभन्दा कम रसुवामा ९८ जनामा आरडीटी परीक्षण गरिएको छ।

क्वारेन्टाइनहरु खाली 

बागमती प्रदेशको ९ जिल्लामा सरकारले निर्माण गरेको क्वारेन्टाइनहरू खाली छन्‌। प्रदेशभर तीन हजार ९७१ जना क्षमताको क्वारेन्टाइन निर्माण गरिएकोमा हाल १८३ जना मात्र क्वारेन्टाइनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

तीमध्ये धादिङमा १४०, सिन्धुपाल्चोकमा ३६, रसुवामा ६ र नुवाकोटमा एक जना रहेका छन्। प्रदेशभर घरमै क्वारेन्टाइनमा बस्नेहरु भने दुई हजार ४८९ जना रहेका छन्। तीमध्ये नुवाकोटको मात्र एक हजार ३०१ जना रहेको मन्त्रालयको तथ्यांक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.