|

एजेन्सी : कोरोना भाइरसका कारण विश्व खेलकुद ठप्प बनेको छ। यस्तोमा कोरोनाबाट सर्वाधिक प्रभावित युरोपमा फुटबल फर्किने भएको छ। जर्मनीको प्रतिष्ठित फुटबल प्रतियोगिता बुन्डेस लिगा १६ मे बाट बन्द रंगशालामा सुरु गर्ने निर्णय गरिएको छ। 

जर्मन फुटबल संघले बिहीबार कोरोनाका कारण अनिश्चित बनेको बुन्डेस लिगा १६ मेबाट सुरु हुने घोषणा गरेको हो। कोरोनाका कारण मध्य फेब्रुअरीबाट प्रतियोगिता अनिश्चित बनेको थियो। अब खेलाडीलाई मैदान प्रवेशका लागि अनुमति प्राप्त भएको छ। 

जर्मन एफएका अध्यक्ष क्रिस्टियन सेफर्टले योजना सार्वजनिक गर्दै शनिबारबाट प्रतियोगिता सुरु हुने बताए। जसमा पहिलो दिन ६ वटा खेल हुने उनले जानकारी दिए। स्थगन पछिको पहिलो भिडन्तमा डर्बीद्वय साल्के र बाेरुसिया डर्टमुन्डले प्रतिस्पर्धा गर्नेछन्।

आइतबार साविक विजेता बार्यन म्युनिखले युनियन बर्लिनविरुद्ध प्रतिस्पर्धा गर्ने छ। सिजनको अन्तिम चरणको खेल जुन २७ र २८ लाई तय गरिएको छ। जर्मन चान्सलर एन्जेला मर्केलले बुधबार बुन्डेस लिगाको अवरुद्ध सिजन पुन: सुरु गर्ने घोषणा गरेकी थिइन्। उनले मे को दोस्रो साता खेल सुरु हुने बताएकी थिइन्। 

बुधबार जर्मन सरकारले दुई शीर्ष डिभिजनका ३६ क्लब मे को दोस्रो हप्ता खेल हुने बताएको थियो। कोरोना रोकथामको उल्लेख्य सुधार गरेको जर्मनीले लकडाउनलाई खुकुलो बनाउँदै लगेको छ। सोही कारण उसले शीर्ष डिभिजनका दुई फुटबल प्रतियोगिता खेल्न समेत अनुमति प्रदान गरेको हो।

जर्मन सरकारले मानिसबीच साढे १ मिटर दूरी कायम राख्नसमेत निर्देशन दिएको छ। बुन्डेस लिगामा बार्यन शीर्ष स्थानमा छ। उसले लिगमा ४ अंकको अग्रता लिएको छ । दोस्रो स्थानमा बोरुसिया डर्टमुण्डले बार्यनमाथि कडा चुनौती दिइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.