|

कोरोना भाइरसका कारण उत्पन्न विश्वव्याधीको प्रभाव स्वास्थ्यमा मात्र देखिएको छैन, आर्थिक, शैक्षिक लगायतका क्षेत्र पनि नराम्ररी खलबलिएका छन्। विभिन्न देशले भाइरस फैलन नदिन लकडाउनको नीति लिएका कारण विद्यालय तथा क्याम्पसमा पठनपाठन ठप्प छ।

नेपालमै पनि पूर्वनिर्धारित मितिको मुखैमा एसइईसहितका परीक्षा रोकिए भने तत्काल नयाँ कक्षाहरू सञ्चालन हुने सम्भावना देखिँदैन। कतिपय शैक्षिक संस्थाले अनलाइन कक्षालाई विकल्पका रुपमा अघि सारे पनि इन्टरनेटमा सबै विद्यार्थीको पहुँच नहुँदा प्रभावकारी हुनेमा शंका छ। सरकारले तत्काल नयाँ भर्ना नलिन र अनलाइन कक्षाका नाममा शुल्क नउठाउन विद्यालय सञ्चालकहरूलाई निर्देशन दिएको छ।

नेपालसहित भारत तथा अमेरिका लगायतका देशमा विद्यालय बन्द छन्। तर, केही देशहरूले भने विस्तारै शैक्षिक संस्थाहरू सञ्चालनमा ल्याउन थालेका छन्। यसरी कक्षा सञ्चालन गर्ने देशहरूले सीमित कक्षा, आलोपालो कक्षा, तहगत प्राथमिकता अनुरूपको कक्षा लगायतको व्यवस्था गरेका छन्।

कुन देशमा कस्तो व्यवस्था?

चीन : कोरोना भाइरसको इपिसेन्टर मानिने चीनको वुहानमा विद्यालयहरू पूर्ववत् सञ्चालनमा आएका छन्। चीनका सबै ठाउँमा विद्यार्थीहरूलाई कडाइका साथ सामाजिक दूरी पालना गर्न लगाइएको छ। दुई महिना लामो लकडाउनपछि चिनियाँ विद्यालयहरू सञ्चालनमा आएका हुन्।

चीनको जेन्जियाङ प्रान्तमा विद्यार्थीले एक मिटर लामो टोपी लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। विद्यार्थीहरूलाई एकअर्काको नजिक आउन नदिने कागजले बनेको टोपीको व्यवस्था गरिएको हो।

दक्षिण कोरिया : दक्षिण कोरियामा आउँदो सातादेखि विद्यालयहरू सञ्चालनमा आउने भएका छन्। त्यसका लागि विद्यार्थीहरूको प्राथमिकताक्रम छुट्याइएको छ। पहिलो साता उच्च माद्यामिक तहमा पढिरहेका विद्यार्थीलाई डाकिएको छ।

'भावी कलेज चयन गर्न सघाउने उद्देश्यले उनीहरूलाई प्राथमिकतामा राखिएको हो', दक्षिण कोरियाका शिक्षामन्त्री यू युन हेईले भने। माध्यामिक र प्राथमिक तह अर्को महिनाबाट मात्रै सञ्चालनमा आउनेछन्। 

भियतनाम : भियतनामका २ करोड २० लाख विद्यार्थी गत सोमबारबाट कक्षाकोठामा फर्किए। भियतनाम समाचार एजेन्सीका अनुसार, एक महिना लामो बन्दपछि शैक्षिक संस्थाहरू सञ्चालनमा आएका हुन्। भियतनामले अनलाइन तथा टेलिभिजन कक्षालाई पनि निरन्तरता दिने भएको छ।

अष्ट्रिया : अष्ट्रियामा विद्यार्थीलाई दुई भागमा विभाजन गरिएको छ। उनीहरू दिन बिराएर विद्यालय जान थालेको शिक्षामन्त्री हेइनेज फासम्यानले जानकारी दिए।

इजरायल : इजरायली शैक्षिक संस्थाहरूले बिस्तारै पुरानै लय समात्न थालेका छन्। कक्षा कोठामा घुइँचो हुन नदिन सतर्कता अपनाइएको छ। एउटा कक्षामा १७ जनाभन्दा धेरै राखिएको छैन।

त्यहाँको शिक्षा मन्त्रालयले जनाएअनुसार, ६० प्रतिशत विद्यार्थीमात्रै कक्षामा उपस्थित छन्। 'कोरोना संक्रमण हुने भयले अभिभावकले आफ्ना केटाकेटीलाई विद्यालय नपठाएका हुनसक्छन्', शिक्षा मन्त्रालयका एक अधिकारीले भने।

डेनमार्क : कोरोना फैलन नदिन पसल, रेस्टुरेन्ट तथा विद्यालय बन्दको निर्णय गर्ने पहिलो यूरोपेली देश हो डेनमार्क। डेनमार्कले पनि केही दिनयता विद्यार्थीलाई कक्षामा स्वागत गर्न थालेको छ।

विद्यार्थीहरूलाई दुई मिटरको दूरीमा राखेर पढाउन थालिएको हो। विद्यार्थीलाई एकअर्कासँग घुलमिल हुन नदिन कक्षाकोठामै खाजा वा खाना खाने व्यवस्था गरिएको छ।

अष्ट्रेलिया : कक्षाहरू सञ्चालनमा आएका छन्। सरकारले पाको उमेरका शिक्षक तथा कर्मचारीलाई सम्भव भएसम्म घरैबाट काम गर्न भनेको छ। सरकारले अनलाइन शिक्षालाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ।

जर्मनी : जर्मनीमा विद्यालय तथा क्याम्पसहरू पूर्ववत् सञ्चालनमा आएका छन्। विद्यार्थीहरूलाई सामाजिक दूरीको पालना गर्न अह्राइएको छ। कक्षाभित्र मात्र नभइ कक्षाबाहिर हिँडडुल गर्दा पनि विद्यार्थी तथा कर्मचारीले दूरी पालना गरे–नगरेको मसिनोसँग निगरानी गरिन्छ। भवनका सिँढीहरूमा सामाजिक दूरी कायम राख्न सघाउने किसिमका चिन्हहरू टाँसिएको छ। 

 थाइल्यान्डको एक विद्यालयमा अध्ययन गर्दै विद्यार्थी

जताततै देखियो मास्क र स्यानिटाइजरको प्रयोग

शैक्षिक संस्थाहरू सञ्चालनमा ल्याएका सबैजसो देशहरूले मास्क र स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गरेका छन्। विद्यार्थी तथा कर्मचारीहरूले मास्क लगाउन छुटाएका छैनन् भने अधिकांशको डेस्क–टेबुलमा स्यानिटाइजरको व्यवस्था गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.