मोबाइलमा नेटवर्क टिप्दैन, शिक्षकलाई थाहा छैन

|

हेटौंडा : लकडाउनका कारण यतिबेला विद्यार्थी फुर्सदमा छन्। लकडाउन लम्बिँदै जाँदा विद्यालय खुल्ने अनिश्चित बनेको छ। कतिपय विद्यालयले अनलाइनमार्फत विद्यार्थीलाई पढाइरहेका छन्।

विशेषगरी सहरबजार र निजी विद्यालयले विद्यार्थीहरुलाई इन्टरनेटमार्फत पढाएका छन्। तर देशका प्रायः सार्वजनिक विद्यालयमा यसको अभ्यास हुन सकेको छैन। 
लकडाउनका कारण सबैभन्दा बढी प्रभावित एसइई तयारी गरिरहेका विद्यार्थी र तिनका अभिभावक बनेका छन्। इन्टरनेटको माध्यमबाट अध्ययन गर्ने त परै जाओस्। सार्वजनिक विद्यालयका विद्यार्थी विद्यालयसँगको नियमित सम्पर्कमा समेत छैनन्।

हेटौंडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन शर्मा भन्छन्, ‘१० प्रतिशत विद्यार्थी पनि इन्टरनेटको पहुँचमा छैनन्।’ केही त टेलिफोन सम्पर्कमा समेत आउन नसकेका उनले बताए।  

एसइई तयारीमा रहेका सिद्धार्थ माविको छेउकै बालजागृति माविका विद्यार्थी सामाजिक सञ्जाल फेसबुकमार्फत नियमित गृहकार्य गरिरहेका छन्। जिल्लाका अन्य निजी विद्यालयहरुले पनि फेसबुकमार्फतै अध्यापन गराइरहेका छन्। हेटौंडाको ठूलो मानिने निजी कलेज हेटौंडा स्कुल अफ म्यानेजमेन्टले पनि ‘जुम एप्लिकेसन’ तथा ‘ग्रुप च्याट’मार्फत अहिले कक्षा ११ र १२ लाई नियमित  अनलाइन कक्षा दिइरहेको छ। 

मोबाइलमा नेटवर्क टिप्दैन, शिक्षकलाई थाहा छैन 

सरकारी र निजी विद्यालयमा पढ्ने विद्यार्थीको पारिवारिक अवस्थाले इन्टरनेट पढाइमा फरक पारेको प्रस्ट देखिन्छ। निजी विद्यालयमा पढ्ने अधिकांश विद्यार्थीको पारिवारिक पृष्ठभूमि आर्थिक रुपले बलियो र सहरमा हुने गर्छ। 

मकवानपुरको भीमफेदी गाउँपालिका ९ मा रहेको बसिँफाट माध्यमिक विद्यालयका एक अभिभावक प्रश्न गर्छन्, ‘मेरो घरमा फोन पनि लाग्दैन रेडियोमा अनलाइन शिक्षा भनेर सुन्छु, यो धनीमानीलाई मात्रै हो ?’

सरकारी विद्यालयमा पर्याप्त प्रविधिमैत्री सामग्री नहुँदा अर्को समस्या छ। विद्यार्थीको परिवारमा खाद्यान्न अभाव भएका बेला अनलाइन शिक्षा आकाशको तारा जस्तै भएको शिक्षाविद्हरु बताउँछन्।

१४ वर्षदेखि एसएलसीमा जिल्ला प्रथम भइरहेको हेटौंडाको आधुनिक माध्यमिक विद्यालयबाट अवकाशप्राप्त प्रधानाध्यापक ऋषिराम आचार्य भन्छन्, ‘अनलाइन शिक्षा सरकारी विद्यालयमा गर्नु धेरै गाह्रो कुरा हो, शैक्षिक सामग्रीसमेत जुटाउन धौधौ पर्ने विद्यार्थीहरुलाई अनलाइन शिक्षाको कुरा गर्नु नेपालको सन्दर्भमा अहिले मिल्छ जस्तो मलाई चाहिँ लाग्दैन।’

निजी विद्यालयको तुलनामा सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको आर्थिक हैसियत धेरै कमजोर भएको देखिँदा अनलाइन शिक्षा सम्भव नहुने उनी बताउँछन्। 

सामाजिक सञ्जालबाट वार्षिक नतिजा  

लकडाउनका कारण विद्यालयहरू बन्द छन्। वार्षिक परीक्षा सकिएलगत्तै सुरु भएको लकडाउनका कारण परीक्षाफल प्रकाशनमा समस्या भएपछि सकी–नसकी विद्यालयहरूले अहिले डिजिटल प्रविधि रोज्न थालेका छन्।

मकवानपुरका अधिकांश विद्यालयहरूले अहिले सामाजिक सञ्जालका माध्यमबाट वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिरहेका छन्। बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले नतिजा प्रकाशन गर्न भनेसँगै विद्यालयहरुले नतिजा प्रकाशनमा उत्साह देखाएका हुन्।

फेसबुकदेखि वेभसाइटसम्म

हेटौंडा उपमहागरपालिका वडा नम्बर १८ हर्नामाडीमा रहेको ज्योति माविले सबैभन्दा पहिला सामाजिक सञ्जाल फेसबुकमार्फत वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको सूचना निकाल्यो। 

विद्यालयले उतीर्ण अनुतीर्ण विद्यार्थीको नामभन्दा पनि रिजल्ट निस्किएको जानकारी दिँदै सम्बन्धित शिक्षकसँग सम्पर्क गर्न विद्यार्थी र अभिभावकलाई सम्पर्क नम्बरसहित अनुरोध गरेको थियो। 

त्यसपछि हेटौंडाका तथा अन्य विद्यालयहरूको धमाधम समाजिक सञ्जालका माध्यमबाट नतिजा प्रकाशनको लहर चल्न सुरु गर्यो‍। कतिपय विद्यालयले आफ्नै फेसबुक पेजमा विद्यार्थीको नामावलीसहित नतिजा प्रकाशन गरेका छन्। कतिपयले नतिजा प्रकाशन भएको जानकारीसहित सम्बन्धित कक्षा शिक्षकको सम्पर्क नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.