|

काठमाडौं : काठमाडौंस्थित चिनियाँ दूतावासले नेपालमा बस्दै रहेका आफ्ना नागरिकलाई यहाँको कानुन कडाइको साथ पालन गर्न निर्देशन दिएको छ।

चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार राति आफ्नो भनाइ सार्वजनिक गर्दै आफूहरुसँगको छलफल र सहकार्यमा नेपाल प्रहरीले सिंहदरबार अगाडि भएको घटनालाई उचित सम्बोधन गरेको बताएको छ।

चिनियाँ नागरिकले आफ्नो मुलुक फर्कन पाउनुपर्‍यो भन्दै शुक्रबार दिउँसो सिंहदरबारको मूख्य गेट अगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गरेका थिए। त्यस क्रममा झडप हुँदा केही चिनियाँ नागरिक र प्रहरी घाइते भएका थिए।

प्रहरीले उक्त स्थानबाट ४७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। ४३ जनालाई छोडिएको छ भने अन्य ४ जनालाई प्रहरीमाथि हातपात गर्नेविरुद्ध अभद्र व्यवहारमा मुद्दासमेत चलाउन लागेको छ। चिनियाँ नागरिकहरुले शुक्रबार बिहान आफ्नो दूतावासअगाडि पुगेर प्रदर्शन गर्न खोज्दा प्रहरीले रोकेको थियो।

चिनियाँ दूतावासका नेपालमा रहेका आफ्ना नागरिकहरुलाई नेपालको कानुन र नियम कडाइका साथ पालना गर्नु पर्ने भन्दै आइरहेको छ। 'चिनियाँ नागरिकहरुलाई कानुन र तर्कसंगत कुराहरुलाई व्यक्त गर्न भनिएको छ,' दूतावासका प्रवक्ताले भनेका छन्।

प्रवक्ताले नेपाल अहिले कोभिड-१९ का कारण लकडाउनलाई कार्यान्वयनमा गर्ने अवस्थामा रहेको उल्लेख गर्दै चिनियाँ दूतावासले यो परिस्थितिमा यहाँ रहेका आफ्ना नागरिकहरुलाई आवश्यक सहकार्य गर्न भनेको बताएका छन्।

‘अनावश्यक कुरालाई छाडी अन्तर्राष्ट्रिय हवाई उडान नखुल्दासम्मको अवस्थासम्म चिनियाँ नागरिकलाई पर्खन भनिएको छ,’ प्रवक्ताले भनेका छन्। साथै, चिनियाँ दूतावासले नेपाली पक्षलाई चिनियाँ नागरिकको वैधानिक अधिकार र हितको रक्षा गर्न पनि अनुरोध गरेको छ।

दूतावासले नेपालमा धेरै संख्यामा चिनियाँ नागरिक अड्किएका कारण चीनले अस्थायी उडानको व्यवस्था गर्दै समस्या परेका करिब ३ सय ४० चिनियाँलाई यसअघि पठाइसकेको जनाएको छ।

'त्यसका लागि हामी नेपालको परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, पर्यटन विभाग,अध्यागमन विभाग, भन्सार विभाग, नेपाल पुलिस र अन्य सहयोग गर्ने विभागहरुलाई पनि धन्यवाद दिन चाहन्छौं,’ प्रवक्ताले भनेका छन् ।

उनले सीमित उडानका कारण धेरै चिनियाँहरु अझै नेपालमा अड्किएको बताएका छन्। नेपालले मे ३१ सम्मको लागि अन्तर्राष्ट्रिय उडानलाई रद्द गरेको र चिनियाँहरुले विभिन्न माध्यमबाट घर फर्कनका लागि आग्रह पनि गरिरहेको बताएका छन् ।

‘हामी नेपाली पक्षसँग सम्पर्कमा भइरहेनै छौं। यो संकटको घडीमा हामी आशा गर्न सक्छौं कि चीन र नेपालले एक अर्कालाई बुझ्न सक्छन् र साथमा लकडाउनमा आउन सक्ने विभिन्न घटनाहरुलाई सम्हाल्न सक्छौं,’ प्रवक्ताले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.