|
फाेटाे : नियमित मिडिया ब्रिफिङमा प्रदेश २ सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरे, नेपाल टेलिभिजनबाट प्रसारित खिचिएकाे दृश्य

बारा : प्रदेश २ मा कोरोना भाइरस कोभिड १९ को आशंकामा तीन हजार ५ सय २० स्वाब संकलन गरिएको छ। प्रदेश २ सरकार सामाजिक विकास मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले यसबारे जानकारी गराएका हुन्। 

तीमध्ये दुई हजार चार सय १६ जनाको रिपोर्ट नेगेटिभ र ३१ वटाको पोजेटिभ परिणाम आएको छ। एक हजार ७३ को पिसिआर परीक्षणको रिर्पोट आउन बाँकी रहेको घिमिरेले जानकारी गराए। त्यसैगरी ५ हजार ४ सय ४१ जनाको आरडिटी परीक्षण गरिएको छ। त्यसमा १० जनाको पोजेटिभ रिर्पोट आएको छ भने ५ हजार ४ सय ३१ जनाको नेगेटिभ आएको छ।

प्रदेशभर हालसम्म ३१ जनामा कोरोना संक्रमण देखिएको बताइएको छ। तीमध्ये दुई जना निको भएका छन्। २९ जनाको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पातालमा उपचार भइरहेको छ। 

१६ जना आशंका

प्रदेश २ मा १६ जना कोरोना आशंकमा विभिन्न अस्पातालमा उपचार गराइरहेका सचिव घिमिरेले बताए। उनका अनुसार सिराहाको महेनन्द्रगेनाई अस्पातालमा एक जना र बाराको सिमरास्थित अस्थायी कोरोना विशेष अस्पतालमा ७ जना र जनकपुर प्रादेशिक अस्पातालमा ४ जना, गजेन्द्रनारायण सिंह अस्पाताल सप्तरीमा २ र पोखरिया अस्पाताल पर्सामा २ जनाको उपचार भइरहेको छ।

त्यस्तै प्रदेशभर एक सय ७९ वटा क्वारेनटाइनमा ४ हजार २४ बेड क्षमता छन्। एक हजार तीन सय ९२ जना क्वारेनटाइनमा छन्। दुई सय ९७ आइसोलेसन बेड क्षमता रहेको प्रदेश २ मा ४५ जना आइसोलेसनमा छन्। 

नयाँ संक्रमित किराना पसल सञ्चालक

शनिबार पुष्टि भएका वीरगञ्ज महानगरपालिका ३ छपकैयाका ६२ वर्षीय किराना पसल सञ्चालक भएको खुलेको छ। नारायणी उपक्षेत्रीय अस्पातालमा उनको उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जनाएको छ।

कोरोना पुष्टि भएपछि उनका परिवारका २० जना र उनको विवाहित छोरीको परिवारका ८ जना सदस्यको कन्ट्रयाक ट्रेसिङ गरिएको थियो। २५ गतेदेखि नै सिल गरिएको वीरगञ्ज महानगरपालिका १, २ र ३ वडा हालसम्म सिल अवस्थामै छन्। 

स्वाब संकलन तीव्र 

संक्रमित क्षेत्रमा स्वाब संकलन कार्यलाई तीव्रता दिइएको छ। ५ सय जनाको स्वाब संकलन गर्ने लक्ष्यसहित संकलन कार्य भइरहेको छ। 

जनकपुरमा कोरोना विशेष अस्पताल

जनकपुरमा कोरोना भाइरसका बिरामीको उपचारका लागि प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने कार्य सम्पन्न भएको अस्पतालका प्रमुख डा. जामुन प्रसाद सिंहले जानकारी दिए।

४२ बेडको कोरोना विशेष अस्पतालको भौतिक निर्माण कार्य सम्पन्न भई सञ्चालनमा ल्याइएको डा. सिंहले जानकारी दिए। ‘आईसियू, अप्रेशन थियटर र लेबर रुमको व्यवस्था गरिएको छ,’ डा. सिंहले भने, बिरामीलाई आवश्यक पर्ने सुरक्षाको उचित प्रबन्ध गरिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.