|

इलाम : तत्कालीन निरंकुश पञ्चायती शासनविरुद्ध विद्रोह गरेका इलामका बमप्रसाद बान्तवाको आज ४१ औं स्मृति दिवस मनाइएको छ।

वि.सं. २०३६ साल वैशाख २८ गतेका दिन उनको हत्या गरिएको थियो। बमप्रसादको सम्झनामा रत्न–बम प्रतिष्ठानले हरेक वर्ष आजकै दिन विभिन्न कार्यक्रमहरु गरेर मनाउँदै आएको छ।

कोरोना त्रासका बीचमा पनि प्रतिष्ठानले इलाम नगरपालिकामा रहेको अर्धकदको शालिकमा माल्यार्पण गर्दै बान्तवालाई सम्झिएको हो। जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, प्रतिष्ठानका अध्यक्ष देवि क्षेत्री दुलाल लगायतले बमप्रसादको शालिकमा माल्यार्पण गरेका छन्‌।

प्रतिष्ठानको अगुवाईमा २०७० साल बैशाख २८ गतेकै दिन उनको अर्धकदको शालिक अनावरण गरिएको थियो। त्यसैगरी रत्नकुमार बान्तवाको जन्मजयन्ती तथा स्मृति दिवसको अवसरमा रत्नसँगै उनको पूर्ण कदको शालिक समेत अनावरण गरिएको थियो।  

२००९ सालमा जंगवीर राई र परमेश्वरी राईको कोखबाट बमप्रसादको जन्म भएको थियो। उनी रत्नकुमार वान्तवाका बालसखा र विश्वासिला साथीसमेत थिए। बान्तवा २०३२ सालमा अखिल नेपाल कोअर्डिनेशन केन्द्र इलाम जिल्ला कमिटीमा आवद्ध भएका थिए, जस्को सचिव थिए पूर्व प्रधानमन्त्री झलनाथ खनाल।

बमसँगै रत्नकुमार बान्तवा, गणेश राई, अगम बान्तवा, भक्त देवान, र वसन्त पराजुली पनि सो कमिटीमा आवद्ध थिए। २०३४ सालमा चमैता चित्रेमा रहेको रत्नकुमार वान्तवाको घरमा सुरुङ बनाउने कार्यमा उनी पनि सक्रिय रुपमा लागेका थिए।  

यसरी मारिए 

रत्नकुमार बान्तवाको खोजीमा निस्किएको प्रहरीले २०३५ चैत २४ गते इभाङमा रत्नकुमार बान्तवा भन्ने ठानेर गाउँले किसान निमा शेर्पालाई गोली हानेर हत्या गर्‍यो। निमा शेर्पाको अनुहार र जिउडाल रत्नकुमार बान्तवासँग मिल्दोजुल्दो थियो। सुराकीले रत्नकुमार भनेर औँल्याएपछि निमालाई प्रहरीले गोली हानेको थियो।

रत्नकुमार र निमाको हत्यापछि गाँउमा प्रहरीका ज्यादती बढ्न थाल्यो। सोही समय बमप्रसाद साखेजुंगको ध्वजबहादुर राईको घरमा लुकेर बसेका थिए। त्यो एक महिना चित्रे नजिकको महभीरको जंगल, कालिखोला, सिंखर्क तिर भौंतारिएर बसेका थिए। राजनीतिक अनि भूमिगत चेत भएका बमले 'रत्न हत्याको बदला लिनुपर्छ' भनेर बैशाख १ गते रत्नको श्रद्धान्जली सभामा कसम खाएका थिए।

धेरै दिनको अनिन्द्रा भोकले जर्जर भएका बम बान्तावा र उनीसँग हिँडिरहेका अशोक राई साखेजुंगको ध्वजबहादुर राईको घरमा बैशाख २८ गते विहानीपख पक्राउ परे। पक्राउ परेको दिनभर उनीहरूलाई यातना दिएर राखियो। यातनाबाट चार पटक बेहोस भएपनि कुनै गोप्य कुरा खोल्न नमानेको कारण अपराह्न ३ बजे उनीहररुलाई पुलिसले गोली हानी हत्या गरेको थियो। 

२०३६ बैसाख २८ गते बमप्रसाद मारिएपछि प्रहरी प्रशासनको अपरेशन अन्त्य भएको थियो। बमप्रसादको सम्झनामा देउमाई नगरपालिकाको चमैता चित्रेमा रत्नकुमारसँगै पूर्णकदको शालिक बनाइएको छ। त्यसैगरी इलाम नगरपालिकामा अर्धकदको शालिक छ। जहाँ हरेक वर्ष रत्न-बम प्रतिष्ठानले श्रद्धाञ्जली सभा आयोजना गर्दै आएको छ।

सरकारले विभिन्न चरणमा गरेर जनयुद्धमा ज्यान गुमाउने प्रहरी, जनमुक्ति सेना, तराई आन्दोलनका मृतक लगायत दुई हजार भन्दा बढीलाई शहीद घोषणा गरेपनि बमप्रसाद अझै सरकारको शहीद बन्न सकेका छैनन्।

प्रदेश नम्बर एकका मूख्यमन्त्री शेरधन राईले सपथ ग्रहण लिएकै दिन प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनका क्रममा शहादत दिएकाहरुको सम्झनामा नमुना गाउँबस्ती निर्माण गर्ने घोषणा गरेका थिए। जसमा रत्नकुमार बान्तवाको जन्मस्थल र बमप्रसादको हत्या गरिएको स्थान समेत समेटिएको थियो। तर दुई वर्ष बितिसक्दा मूख्यमन्त्री राईको घोषणा कागजमै सीमित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.