रौतहटका तीन वडा डुब्‍ने जोखिम

|

रौतहट : रौतहटको सीमा क्षेत्रस्थित दशजगामा मापदण्डविपरीत भारतीय पक्षले एकतर्फी बनाइरहेको बाँध रौतहटका प्रमुख जिल्ला अधिकारीको पहलमा रोकिएको छ। 

भारतीय पक्षले आफूखुसी सीमा मिचेर बनाइरहेको बाँध निर्माण रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भारतीय समकक्षीसँग कुरा गरेपछि रोकिएको हो। 

नेपाल–भारत दुवै देश लकडाउनमा रहेका बेला भारतीय पक्षले १० देखि १२ मिटर नेपाली भूमि मिचेर पहिलाको तुलनामा ५ फिट बढी ड्याम बनाएको थियो।

पिलर नम्बर ३४७ सम्म माटो हाल्नेसहितका कुनै काम नगर्न नेपाली पक्षले भारतीय पक्षलाई दबाब दिएको थियो। यसअघि नेपालसँग भएको लिखित सम्झौता उलंघन गर्दै बाँध निर्माण थालिएपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले विरोध जनाएका थिए। 

आइतबारदेखि त्यही सहमति अनुसार नै भारतीय पक्षलाई बाँध नबाँध्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारी घिमिरेले बताए। भारतीय पक्षले आफूखुसी गर्न थालेपछि रौतहट सीमा क्षेत्रका स्थानीय तनावमा छन्। 

जिल्लाको पश्चिमी क्षेत्र ईशनाथ नगरपालिकास्थित बन्जरहा, औरैया नजिक पर्ने दशगजा क्षेत्रको बाँधलाई लकडाउनका बेला नेपाल भारतले  दुवै देशको दशगजा नै मिचेर बनाउन थालेपछि स्थानीय तनावमा परेका हुन्। नगरपालिकामा पर्ने १, २ र ३ नम्बर वडा नै डुबानमा पर्नेगरी सीमा मिचेर ड्याम बनाउँदा स्थानीयले यसको विरोध गरेका छन्। 

भारतीय ड्यामका कारण रौतहटको ईशनाथ र राजपुर नगरपालिकाका विभिन्न वडा डुबानमा पर्दै आएको छ। पछिल्लो समय भारतीय पक्षले ड्याम फराकिलो गर्दै उचाईसमेत ५ फिट बढाएपछि आफूहरु समस्यामा परेको ईशनाथ नगरपालिकाका–१ का वडाध्यक्ष बिगु साहले बताए। अधिकांश ठाउँमा भारतीय पक्षले सीमा मिचेको उनले बताए। 

गत साल बाढीको पानी घरघरमा पसेर ठूलो क्षति भएको स्मरण गराउँदै साहले यसपाली पनि त्यही समस्या दोहोरिने भन्दै सरोकारवाला गम्भीर हुनुपर्ने वाडअध्यक्ष साहले बताए।

भारतीय पक्षले बाँधलाई सिमेन्ट र इँटा हालेर मजबुत र बलियो बनाएको छ। आइतबार त्यस क्षेत्रमा प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षाटोलीले अनुगमन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.