क्‍वारेन्टाइनमा बसेका भन्छन् : व्यवस्थापकीय पक्ष कमजोर छ

|

सोलुखुम्बु : आरडिटीमा कोरोना पोजेटिभ देखिएका दुई जनासहित जिल्लामा १३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। 

लिखुपिके गाउँपालिका ५ भकान्जेका २८ वर्षीय युवक र सोताङ गाउँपालिकाकी २८ वर्षीइा युवतीमा आरडिटी पोजेटिभ देखिएपछि उनीहरुसँग निकट रहेकाको स्वाब परीक्षण गरिएको थियो। 

जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमत्त प्रमुख कर्मचन्द्र राजवंशीका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वाब परीक्षण गरिएको थियो। धनकुटा र भोजपुरको सीमा क्षेत्रबाट जिल्लाको लिखुपिके गाउँपालिकामा आएका युवक र उदयपुरबाट सोताङ आएकी युवतीको आरडिटी पोजेटिभ देखिएको थियो। 

उनीहरु कोरोना संक्रमित जिल्लाबाट आएकाले गाउँपालिकाले निर्माण गरेको क्‍वारेन्टाइनमा राखिएको थियो। यसअघि वैदेशिक रोजगारीबाट फर्किएका ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ आएको थियो। जिल्लामा हालसम्म १ सय ३६ जनाको आरडिटी परीक्षण गरिएको छ। १२ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ।

मंगलबार चार जनाको आरडिटी गरिने 

सोलुखुम्बुको फाप्लुस्थित क्‍वारेन्टाइनमा रहेका तीन जनाको मंगलबार आरडिटी गरिने भएको छ। झापाबाट आएका चारमध्ये क्‍वारेन्टाइनमा रहेका तीन जना र उनीहरुलाई ल्याउने सवारी चालकको मंगलबार आरडिटी गरिने  जिल्ला अस्पताल फाप्लुका निमित्त प्रमुख शानी शेर्पाले जानकारी दिइन्।

चार जनाको समूह आएको भए पनि सवारी चालकलाई भने होम क्‍वारेन्टाइनमा बस्न भनिएको शेर्पाले बताइन्। नगरपालिका र अस्पतालको समन्वयमा क्‍वारेन्टाइनमा राखिएकाको सुरक्षामा सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ। उनीहरुसँगै आएका सवारी चालकलाई भने चिकित्सकको परामर्शपछि होम क्‍वारेन्टाइनमा राखिएको शेर्पाले बताइन्। 

क्‍वारेन्टाइनमा बसेका भन्छन् : व्यवस्थापकीय पक्ष कमजोर छ  

सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुस्थित क्‍वारेन्टाइनमा बसेकाहरुले व्यवस्थापकीय पक्ष कमजोर रहेको बताएका छन्। केही दिनअघि झापाबाट सोलुखुम्बु आएका आपा शेर्पाले आफूहरु क्‍वारेन्टाइनमा बसेको भए पनि शौचालयदेखि खानेपानीलगायत अन्य व्यवस्थापनमा सुधार गर्नुपर्ने बताए। क्‍वारेन्टाइन क्षेत्रमा दैनिक दर्जनौं मानिस रमिता हेर्न आउने गरेको भन्दै स्वास्थ्य सुरक्षाको दृष्टिकोणले जोखिम बढेको उनको भनाइ छ। 

आफूहरु क्‍वारेन्टाइनमा बसेको भए पनि सँगै आएका सवारी चालक खुलेआम बजारमा हिँड्नुले क्‍वारेन्टाइनमा राख्ने सवालमा समेत एकरुपता नभएको शेर्पा बताउँछन्। उनले भने, ‘सरकारले हामीलाई हेर्ने दृष्टिकोणसमेत फरक भयो।’ काठमाडौंबाट इलाम घुम्न गएका शेर्पासहित दुई जना झापा पुगेपछि लकडाउनमा फसेका थिए। 

उनीहरुले सोलुखुम्बु प्रशासनदेखि स्थानीय सरकारलाई समेत बारम्बार गुहार मागेको बताए। व्यक्तिगत पहलबाट झापा प्रशासनको सहयोगमा सल्लेरी आएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.