वन उपभोक्ता समूहका अध्यक्ष भन्छन् : मलाई फसाइयो

|

सिमरा : काठ दाउरा बेचबिखनमा सामुदायिक वन उपभोक्ता समूहकै अध्यक्षको मिलेमतो भएको पाइएपछि पर्सा राष्ट्रिय निकुञ्जले बाराको जनजागरण मध्यवर्ती  सामुदायिक वन समूहको सम्पूर्ण कागजपत्र जफत गरी अनुसन्धान सुरु गरेको छ। 

सामुदायिक वन क्षेत्रभित्रबाट काठ, दाउरा ओसारपोसार गर्नेसँग वन समूहका अध्यक्षले वनको पालेको सहयोगमा  बिनारसिद ३ सयदेखि १ हजार रुपयाँसम्म रकम उठाएका खुलेको छ। निकुञ्जले छापा नै मारेर सम्पूर्ण कागजपत्र जफत गरी अनुसन्धान थालेको हो। 

उक्त वन समूहमा केही दिनदेखि सालको काठ (गोलाइ) चोरी बढदै गएको, घाँसदाउरा, चरिचरणका लागि अनियमित रुपमा अध्यक्ष कार्कीकै निर्देशनमा पैसा असुलिएको भिडियोहरु सामाजिक सञ्जालमा आएका थिए। 

निकुञ्ज प्रशासनले अनुसन्धानको क्रममा आइतबार वन समितिका अध्यक्ष तारा कार्की र वनपाले  ओसी अख्तरसँग समेत बयान लिएको छ। सामुदायिक वनभित्र आर्थिक अनियमितता भएको उजुरीका आधारमा कागजपत्र जफत गरी अनुसन्धान बढाइएको निकुञ्ज आधाबारका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले बताए। 
‘हामीले एकचरणमा सबै फाइल अध्ययन गरेर अध्यक्ष र  वनपालेसँग बयान पनि लिइसकेका छौं’, महर्जनले भने, ‘सम्बन्धित अन्य व्यक्तिसँगको बयानपछि कारबाही गर्छौं।’

‘हामीले काठदाउरा ओसारपोसार गर्ने स्थानीयलाई पनि बयानका लागि बोलाएका छौं,’ मर्हजनले भने। डिभिजन वन कार्यालय बाराले लकडाउनको अवधिभर सबै वन क्षेत्रभित्र प्रवेश नगर्न भने पनि अध्यक्षकै संग्लनतामा वनपालेले रकम उठाएर मानिसलाई वन प्रवेश गर्न दिएका स्थानीयले समेत बताएका छन्। 

तर वन समूहका अध्यक्ष तारा कार्कीले भने आफूलाई नियोजित ढंगले फसाउन खोजेको भन्दै बचाउ गरेका छन्। ‘नेकपाकै केही व्यक्तिले राजनीतिक पूर्वाग्रहका आधारमा  उजुरी हालेर मलाई फसाउन खोजेका छन्,’ उनले भने, ‘हामीले लकडाउनमा घरमा चुलो बल्न नसकेकाको हकमा साताको १ दिन मात्रै वन प्रवेश गर्न दिएका हौं। कार्की नेकपाका बारा जिल्ला सदस्य हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.