|

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०  प्रतिशत अनुदानमा ९ सय क्‍विन्टल धानको बीउ किसानलाई वितरण गरेको छ। नगरपालिकाका १० वटै वडामा ९० क्‍विन्टलका दरले बीउ वितरण गरिएको हो।

वडा कृषक समन्वय समितिको सिफारिसका आधारमा वडामा रहेका कृषक समूहलाई बीउ खरिद गर्ने कार्यादेश दिई धानको बीउ खरिद गरिएको थियो। बीउ खरिदका लागि नगरपालिकाले २५ लाख रुपैयाँ  र कृषक समूहहरुले सोही अनुपातको रकम व्यहोरेका छन्। 

प्रतिवडामा पाँच वटा समूहलाई धानको बीउ खरिद गरी वितरण गर्ने जिम्मा दिइएको नगरपालिकाका कृषि शाखाका नायव प्राविधिक सहायक हरिश सेटीले बताए। 
किसानलाई सर्जु ५२, राधा ४, बहुगुणी र सावा मन्सुलीलगायत बीउ वितरण गरिएको छ। 

सर्जु ५२ र राधा ४ प्रतिकिलो ५५ र बहुगुणी र सावा मन्सुली ६० रुपैयाँ प्रतिकिलोमा खरिद गरिएको हो। बन्दाबन्दीका बेला किसानले धानको बीउका लागि सास्ती खेप्न नपरोस् भनेर सबै किसानलाई पुग्ने गरी धानको बीउ वितरण गर्ने व्यवस्था मिलाइएको नगर प्रमुख पोतिलाल चौधरीले बताए। 

धान उत्पादनका लागि नगरपालिका उर्वर भूमिका रुपमा रहेको छ। माटो सुहाउदो धानका जातहरुको छनोट गरी बीउको व्यवस्था गरिएको नगरप्रमुख चौधरीको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.