|

जुम्ला : कोरोना संक्रमण भए/नभएको पत्ता लगाउन पछिल्लोपटक जुम्लाका आठ सय ४९ जनाको स्वाब संकलन गरिएकोमा सबैको पिसीआर रिपोर्ट नेगेटिभ देखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार जिल्लाका आठ सय ४९ जनाको स्वाब संकलन गरेको थियो।

प्रतिष्ठानको प्रयोगशालाका प्रमुख विवेक पुन मगरका अनुसार आठ सय ४९ जनाकै स्वाब परीक्षण रिपोर्ट रिपोट नेगेटिभ देखिएको हो। प्रतिष्ठानको टोलीले लकडाउन अवधिमा बाहिरबाट आएकाहरुको स्वाब एकै दिनमा संकलन गरेको थियो। सबैको रिपोट नेगेटिभ आएको र कोरोना प्रतिकार्यका लागि थप योजना बनाएर काम गर्न लागिएको प्रतिष्ठानका निर्देशक डा.मंगल रावलले बताएका छन्‌।

लकडाउन अवधिमा भारत तथा तेस्रो मुलुक र जिल्ला बाहिरबाट आएकाहरू सबैको रिपोट नेगेटिभ आएपछि जुम्ला सुरक्षित छ भन्ने महसुस भएको चिकित्सकहरूले बताएका छन्‌। प्रतिष्ठानले बाहिर जिल्लाबाट आएकाहरु र शंका लागेका व्यक्तिहरुको कोरोना भए/नभएको थाहा पाउन स्वाब संकलन गर्न थालेको छ।

यसका लागी कर्णाली स्वास्थ्य विज्ञानको टोली जुम्लाका आठ वटै स्थानीयतहमा स्वास्थ्यकर्मी खटाइएको थियो। कर्णाली प्रदेश सरकारले कोराना भाइरसको प्रतिकार्य रोकथाम तथा नियन्त्रण कार्यलाइ प्रभावकारी बनाउन १० वटै जिल्लामा स्वास्थ्यकर्मी परिचालन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.