तर भन्छन् : सडक आन्दोलन सरकारलाई जगाउन

|

काठमाडौ : कोरोना संक्रमणको जोखिम बढिरहेकै बेला नेपालमा एकपटक फेरि राष्ट्रभक्ति सडकमा पोखिन थालेको छ। 

सरकारले लकडाउन गरेकै अवस्थामा नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएपछि नेपालीको राष्ट्रभक्ति फेरि जाग्‍न थालेको हो। नेपालमा भारतको हेपाहा र मिचाहा प्रवृत्तिविरुद्ध कयौँ आन्दोलन भइसकेका छन्। तर पनि आफ्नो पुत्ला जलाउँदा कूटनीतिज्ञमार्फत आपत्ति जनाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्धको आक्रोशको पारो भने चुलिँदो छ।

नेपली भूमि लिपुलेक क्षेत्र हुँदै भारतले चीनको मानसरोवर जाने सडक बनाएपछि विभिन्‍न दल, विद्यार्थी संगठन, मानव अधिकारकर्मी र  सर्वसाधरण नेपाली पनि सडकमा उत्रिएका छन्। मानिसहरु राष्ट्रभक्ति पोख्‍न सडकमा उत्रिरहँदा सुरक्षाकर्मीलाई भने एकातिर लकडाउनको पालना गराउने चुनौती छ भने अर्कातिर कोरोनाबाट जोगिन पनि संघर्ग गर्नु परेको छ। 

कोरोना भाइरस न्यूनीकरण गर्न सरकारले चैत ११ देखि लकडाउन गरेको थियो। तर उद्योग, बैंक तथा वित्तीय संस्था चलाउने निर्णयसँगै मानिसहरु सडकमा निस्किने क्रम बढेको छ। लकडाउन खुकुलो भएको बहानामा सडकमा विभिन्‍न बहानामा विरोध प्रदर्शन पनि बढिरहेका छन्। 

कोरोना संकट टार्न विश्‍व स्वास्थ्य संगठनले मेडिकल प्रोटोकल जारी गर्दै सामाजिक दुरीलाई पहिलो शर्त भनेको छ। नेपालले पनि सामाजिक दुरी कायम गर्न आव्हान गरिरहँदा सडकमा आन्दोलनका स्वरहरु  बढ्दैछन्। 

कोरोना संक्रमणको संवेदनशील समयमा पनि मानिसहरू किन जोखिम मोलेर प्रदर्शनमा उत्रिए? आखिर किन त? साझा पार्टीका सह-प्रवक्ता शरदराज पाठकले  यो प्रश्‍नको सहज उत्तर बताए।

पाठक भन्छन्, 'हाम्रा मिडियाले, समाजले राजनीतिक चेतको मापकका रूपमा सडकमा गरिने उग्र प्रदर्शनलाई स्थापित गरिदिएका छन्। प्रहरीले पक्रेको फोटो छैन त ऊ राजनीतिक कार्यकर्ता होइन भन्‍ने सोचका कारण यस्तो अवस्था आएको हो।'

राष्ट्रियतामाथिको प्रश्‍न एकातिर छँदैछ। तर, कोरोना संकटको बेलामा सडक आन्दोलन अहिलेका लागि उपयुक्त हुँदै होइन।

जनस्वास्थ्यसँग सीधै जोडिने कुरालाई विषयान्तर गरेर सडकमा कुर्लनुभन्दा सामाजिक सञ्‍जालबाट पनि विरोध गर्न सकिन्छ। समाजले टायर बाल्नु, तोडफोड गरेर कोही नेता हुन सक्दैन। विचार निर्माण र वैचारिक रुपमा मात्र ऊ नेता हुन सक्छ भन्‍ने मान्यता स्थापित गरिदिनुपर्छ।

 'कूटनीतिक पहलसँगै सामाजिक सञ्‍जालबाट पनि विरोध गर्न सकिन्छ।, संसदमा यस विषयमा छलफल गर्न सकिन्छ। आफ्नो र समाजको स्वास्थ्यको ख्याल नगरी सडकमा उत्रनु अहिलेको लागि उपयुक्त होइन', उनी भन्छन, 'पहिले आफू बाचौं। आफू बाँचेमात्रै देशका लागि लड्न सकिन्छ। जनताको स्वास्थ्यलाई ख्याल नगर्ने नेता हुन सक्दैन।'

भारतसँगको सीमा समस्या आजै निस्किएको विषय होइन। लामो समयदेखि भारतले नेपाली भूमि अतिक्रमण गरिरहेको छ। यो मुद्दालाई सरकारले हेर्नुपर्ने उनको जिकिर छ। 

'मान्छेहरु आफ्नो स्वास्थ्यको ख्याल नगरी सडकमा आउनु सरकारको पनि दोष देख्छन्। सरकारले आफ्नो भूमि फिर्ता गर्छ भन्‍ने विश्‍वास नभएर पनि जनता सडकमा आउन सक्छन्', उनी भन्छन, 'यदि जनतालाई सडकमा आउन रोक्ने हो भने प्रधानमन्त्रीले संसदमा भन्‍न सक्नुपर्छ, यो मुद्दा यति समयभित्र हल हुन्छ। यसका लागि सरकारले भारतसँग छलफल गरिरहेको छ।'

यदि सरकारसँग जनताको विश्‍वासस बढ्ने हो भने मात्रै सडकमा जनता ओर्लिन बन्द गर्ने उनले बताए। यस्तै नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले सडक आन्दोलन रहर नभएर बाध्यता रहेको बताए। 

'यदि सरकार सीमा विवादबारे गम्भीर हुने हो भने कोरोना संकटबीच हामी सडकमा आउँदैनौ। तर, सरकारले सीमा मिचिएको कुरा सडकमा आन्दोलन गरेछि थाहा पाउने भएकाले नारा लगाउन बाध्य छौं,' उनी भन्छन्, 'जन्मदिनमा सीधै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेर शुभकामना दिन सक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे पनि फोन गरेर वार्ता बसौँ भन्‍न सक्छन्। तर त्यस्तो नसकेपछि सडक आन्दोलन गर्नुपरेको हो।'

सीमा विवाद समाधान गर्न सरकारलाई जनताको साथ छ। प्रतिपक्षले पनि साथ दिने बताएको छ। तर सरकार यो विवाद समाधान गर्न गम्भीर नभएको आरोप ढुंगाना लगाउँछन। 'मिचिएको भूमि फिर्ताको आन्दोलनमा सरकार हामीलाई दमन गर्छ। भारतको मिचाहा प्रवृत्ति र सरकारको लम्पसारवादी सोचका कारण हामी सडकमा आएका हौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.