|

बैतडी : लकडाउनको समयमा १ सयभन्दा बढी नेपाली नागरिक महाकाली नदी तरेर नेपाल भित्रिएका छन्। बैतडी र दार्चुलामा गरी उक्त संख्यामा स्वदेश भित्रिएका हुन्।  

महाकाली नदीमा ट्युबमार्फत बैतडीका ४० जना भित्रिएका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले बताए। उनीहरु सबैलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिएको छ।

दार्चुलामा पनि लकडाउनमा समयमा महाकाली नदी तरेर ७० जना भित्रिएको तथ्यांक छ। उनीहरुमध्ये कोही महाकालीमा पौडिएर, कोही तुहिनमार्फत र कोही ट्युबमार्फत स्वदेश भित्रिएका हुन्।

स्वेश फर्कने सबै नेपाली मजदुर रहेका छन्। उनीहरुलाई कोरोना परीक्षणपश्चात् मात्रै घर पठाइने दार्चुलाका प्रजिअ यदुनाथ पौडेलले जानकारी दिए। सीमामा कडाइ गरिए पनि सुरक्षाकर्मीको आँखा छलेर नेपाल भित्रिने क्रम रोकिएको छैन।

बैतडी र दार्चुलासँग सीमा जोडिएको भारतको पिथौरागढ जिल्लालाई भारत सरकारले ग्रिनजोनमा राखेकोले त्यहाँ मजदुरी गर्दै आएका नेपाली स्वदेश भित्रिने क्रम बढेको हो। 

यसअघि वैशाख १८ गते झुलाघाट र धार्चुला नाकाबाट  २ हजार ६ सय ९५ नेपाली मजदुरलाई ३५ दिनपछि उद्धार गरिएको थियो। उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ। 

अवैध प्रवेश रोक्न निगरानी समूह गठन 

सीमा क्षेत्रबाट हुने अवैध वारपार रोक्न बैतडीमा निगरानी समूह गठनको तयारी थालिएको छ। बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीका अनुसार जिल्लाका दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा निगरानी समूह गठन गरिँदै छन्।  

समूहले अवैध रुपमा नभित्रिऊन भनी माइकिङ गर्ने, सीमामा खटिएका प्रहरीलाई सहयोग गर्ने, कोही सीमाबाट तरिहाले उनीहरुलाई क्वारेन्टाइनमा पु¥याउने बताइएको छ। वडाध्यक्षको अगुवाईमा निगरानी समूह गठन गर्ने काम भइरहेको उनले बताए।  

सीमा क्षेत्रमा सुरक्षाकर्मी २४ सै घण्टा परिचालन गरिएको छ। 

तर पनि नेपालीहरु ट्युबको सहयोगमा महँगो शुल्क तिरेर भित्रिरहेका छन्। उनीहरुले ५ सयदेखि २ हजार रुपैयाँ भारुसम्म तिर्ने गरेका छन। पिथौरागढ लगायत आसपासका भारतका विभिन्न जिल्लामा मजदुरी गर्दै आएका नेपालीहरु अझै पनि स्वदेश भित्रिने तयारीमा रहेका बुझिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.