स्वाब संकलन तीव्र, तीन जिल्लामा निषेधाज्ञा जारी

|

बारा :  प्रदेश नम्बर २ मा आज (बिहीबार) एकैदिन पाँचजना कोरोना संक्रमित थपिएका छन्। थपिएका नयाँ संक्रमितसहित अहिलेसम्म प्रदेश २ मा कोरोनाबाट संक्रमित हुनेको संख्या ९४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सलार्ही धनकौलका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुरका ४० वर्षीय पुरुष र धनुषाको मिथिला नगरपालिकाकी २० वर्षीया महिला, महोत्तरीको जलेश्वरका १६ वर्षीय पुरुष र बलवा नगरपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

सबैभन्दा बढी पर्सामा ७९ जना संक्रमित देखिएका छन् भने महोत्तरी र धनुषामा ४/४ जना र बारा, रौतहट र सलार्हीमा ३/३ जना संक्रमित देखिएका छन्। त्यसैगरी सप्तरीमा एक जना संक्रमित भेटिएका छन्। तीनजना भारतबाट आएका व्यक्ति वीरगञ्जमै संक्रमित देखिएका छन्। महोत्तरीमा संक्रमित देखिएका दुई जना भने धनुषामै बस्दै आएको खुलेको छ।

प्रदेश २ मा ९४ जना कोरोना संक्रमित फेला परेका छन्। त्यसमध्ये ४ जना उपचारपछि स्वस्थ भएर घर फर्किएका छन्।  

स्वाब संकलन तीव्र

कोरोना भाइरस (कोभिड–१९) संक्रमित बढेसँगै प्रदेश २ मा स्वाब संकलनलाई तीव्रता दिइएको छ।

बुधबार मात्रै तीन सय जनाको स्वाब संकलन गरिएको छ। सबैभन्दा बढी पर्सामा बुधबार ११९ जनाको स्वाब संकलन गरिएको छ। यसमा अधिकांश पत्रकार छन्।

मंगलबार वीरगञ्जका दुई जना पत्रकार पनि संक्रमित भेटिएपछि जिल्लाका पत्रकारहरूको स्वाब संकलन गरिएको हो। बारा जिल्लामा भने सय जनाको स्वाब संकलन गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यस्तै धनुषामा ७८ जनाको स्वाब संकलन गरिएको छ। सिरहामा दुई जना र रौतहटमा एक जनाको स्वाब संकलन गरिएको छ। बुधबारसम्म प्रदेशमा चार हजार २३६ जनाको स्वाब परीक्षण गरिएको छ भने ९४ जना संक्रमित देखिएका छन्।

तीन जिल्लामा निषेधाज्ञा जारी

बारा, पर्सा र सिरहा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। सामाजिक दूरी कायम नगरेको पाइएमा सुरक्षाकर्मीले जुनसुकै बेला कारबाही गर्न सक्ने गरी निषेधाज्ञा जारी गरिएको हो।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले सरकारले लकडाउन घोषणा गरेदेखि नै जिल्लामा निषेधाज्ञा लागू गरिएको र संक्रमित बढेसँगै यसलाई थप प्रभावकारी बनाइएको बताए।

सीमा नाकामा पूर्ण रुपले आवतजावत बन्द गरिएको र लुकिछिपी छिरेको पाइएमा आउने र लुकाउने दुबैलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबही गरिने स्थानीय प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.