|

बैतडी : भारतबाट फर्किएका नागरिकको कोरोना परीक्षणका लागि बैतडीमा आरडीटी किटको अभाव रहेको छ। भारतबाट फर्किएर १४ दिन क्वारेन्टाइनमा बसेका नागरिकहरुको कोरोना परीक्षणका लागि आरडीटी कीट अभाव भएको हो। 

यही वैशाख १८ गते सीमा नाका झुलाघाट र धार्चुलाबाट स्वदेश फर्किएका नागरिकहरुको कोरोना परीक्षण गर्न कीटको अभाव भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लाका विभिन्न स्थानीय तहमा एक हजार ३६५ जना क्वारेन्टाइनमा बसेका भएपनि २६५ जनामा कोरोना संक्रमण भए/नभएको परीक्षण गर्न कीट अभाव भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। ‘स्वास्थ्य कार्यालयसँग भएको एक हजार एक सय कीट पुर्चौंडी र डिलाशैनीमा पठाइसकिएको छ भने अन्य तहहरुमा पठाउन कीटको अभाव रहेको छ,’ उनले भने।  

पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका ९११ जनाको आरडीटीका लागि कीट पठाइएको छ भने डिलाशैनी गाउँपालिकाका क्वारेन्टाइनमा बसेका नागरिकको कोरोना परीक्षणका लागि पनि कीट पठाइएको छ। तर डिलाशैनी पनि क्वारेन्टाइनमा बसेका नागरिकको द्रुत परीक्षणका लागि कीट आधा मात्रै पुग्ने डिलाशैनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज जोशीले बताए। 

जिल्लाका आरडीटी कीटको अभाव भएको बारेमा प्रदेश सरकारलाई जानकारी गराएपनि अहिलेसम्म कीट उपलब्ध हुन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख भट्टको भनाई छ। भारतबाट फर्केका नागरिकहरु क्वारेन्टाइनमा बसेको १४ दिन पुगेपनि जिल्लामा आरडीटी कीट उपलब्ध हुन सकेकोछैन।

दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ, पञ्चेश्वर, सुर्नया, दोगडाकेदार र सिगास गाउँपालिकाका क्वारेन्टाइनमा बसेका नागरिकको कोरोना परीक्षणका लागि कीटको अभाव भएको छ।

यस्तै डिलाशैनी गाउँपालिकामा पनि आधा नागरिकको परीक्षण गर्न पुग्नेमात्रै कीट बाँकी छ। भारतबाट फर्केकाहरुले भने आफूहरु ३५ दिन भारतीय क्वारेन्टाइनमा बसेको र १४ दिन स्वदेशका क्वारेन्टाइनमा बसेपछि परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका छन्। 

एक हजार ३६५ जना क्वारेन्टाइनमा

जिल्लामा सबैभन्दा बढी पुर्चौंडी नगरपालिकामा ९११ जना क्वारेन्टाइनमा बसेका छन् भने त्यसपछि डिलाशैनी गाउँपालिकामा २२७ जना क्वारेन्टाइनमा बसेका छन्। दशरथचन्द नगरपालिकामा २४, पाटन नगरपालिका ८, मेलौली नगरपालिकामा ५ र पञ्चेश्वर गाउँपालिकामा ८ जना क्वारेन्टाइनमा बसेका छन्। 

यस्तै सुर्नया गाउँपालिकामा २५, दोगडाकेदार गाउँपालिकामा २१, सिगास गाउँपालिकामा ९८ र शिवनाथ गाउँपालिकामा ३८ जना क्वारेन्टाइनमा बसिरहेका छन्। 

बैतडीमा देशकै सबैभन्दा बढी क्वारेन्टाइनमा बसेका बताइएको छ । यहाँका सबै स्थानीय तहमा गरेर एक हजार ८७४ शय्या क्षमताका क्वारेन्टाइन निर्माण गरिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.