|

बाग्लुङ : गण्डकी प्रदेश कोरोनामुक्त भएको भनि मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केहीअघि दाबी गरेका थिए। तर बुधबार नवलपुरमा नयाँ संक्रमित भेटिएसँगै मूख्यमन्त्रीले दाबी गरे झैं प्रदेश कोरोनामुक्त नरहेको पुष्टि भएको छ।

गत चैतमा कोरोनाको संक्रमण पुष्टि भएका बागलुङका दुई संक्रमित निको भएर घर फर्किएपछि मूख्यमन्त्री गुरुङले वैशाख १३ गते शनिबार पत्रकारहरूसँग कुरा गर्दै प्रदेश कोरोनामुक्त भएको दावी गरेका थिए। तर बुधबार नवलपुरमा नयाँ बिरामी भेटिएसँगै गण्डकी प्रदेशमा पुन: कोरोना संक्रमणको जोखिम बढेको छ। 

प्रदेशको नवलपुर जिल्लामा बुधबार फेरि एकजना स‌ंक्रमित भेटिएका हुन्‌। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका-१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ। 

गएको चैतमा दुई जनामा कोरोना संक्रमण देखिएको बागलुङमा फेरी कोरोना संक्रमण आशंका गरी अर्की एक महिलालाई आइसोलेसनमा राखिएको छ। धौलागिरी अस्पताल बागलुङका अनुसार गल्कोट नगरपालिका-६ चरौदीकी ६५ वर्षीया महिलालाई कोरोनाको शंकास्पद लक्षण देखिएपछि आइसोलेसनमा राखिएको हो। 

ती महिलाको 'थ्रोट स्वाब' संकलन गरी परीक्षणका लागि पठाइएको अस्पतालका प्रमुख डा. शैलेन्द्र वि. पोखरेलले जानकारी दिए। डा. पोखरेलले उच्च ज्वरो र खोकी रहेका कारण उनलाई आइसोलेसनमा राखेर उपचार थालिएको बताएका छन्‌।

गलकोटकै स्वास्थ्य संस्थामा सामान्य उपचार गरेर बागलुङ आएकी उनलाई देखिएका लक्षण कोरोनासँग मिल्दोजुल्दो रहेको अस्पतालले जनाएको छ। ती महिलामा मुटुको समेत समस्या रहेकाले उच्च निगरानीमा राखेर उपचार भैरहेको छ।

पर्सामा संक्रमित भेटिएका मजदुरहरु बोकेर गएको बसका चालक तथा सहचालक, सम्पर्कमा आएका केही व्यक्ति, भारतको नयाँ दिल्लीबाट आएका दुईजना लगायत मंगलबार र बुधबार संकलन गरीएका १४ वटै स्वाब बिहीबार मात्रै गण्डकी प्रादेशिक प्रयोगशाला, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.