|

दोहा : कतारमा कोरोनापीडित नेपाली श्रमिकहरूलाई गैर आवासीय नेपाल संघले खाद्यान्न वितरण गरेको छ। संघको राष्ट्रिय समन्वय परिषद कतारद्वारा गठित उद्धार तथा राहत वितरण समितिले श्रमिक कोषमार्फत खाद्यान्न‍ वितरण गरेको हो। 

त्यहाँको सरकारले तोकेका सावधानीका नियम पालना गर्दै कतारको अजजिया, नज्मा, मुग्लिना, रयान, अलसाद, डाफ्ना, मदिना खलिफा, एनखालिद, अल्खोर, न्यु सैलिया, ग्राण्ड्मल, सनैया ४० लेफ्ट र सनैया १९ राइटमा रहेका प्रवासी श्रमिकहरूलाई राहत वितरण गरिएको हो। २३ महिला र ९७ पुरुष गरी जम्मा १२० जना नेपाली पीडित श्रमिकहरुलाई खाद्यान्न वितरण गरिएको गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष एवम्‌ उद्धार तथा राहत समिति संयोजक उत्तम गुरुङ्गले जानकारी दिएका छन्‌।

पीडित नेपालीहरुका लागि १५ दिनसम्म पुग्ने खाद्यान्न उपलब्ध गराइएको छ। ५५५ किलोग्राम चामल, ६३ लिटर तेल, ६९ किलोग्राम दाल, ५१ किलोग्राम प्याज, २३० किलोग्राम आलु, २८ किलोग्राम सोयाविन, ३९ प्याकेज नुन र ६४ प्याकेज मसला वितरण गरिएको संयोजक गुरुङ्गले बताए। 

कार्यक्रममा आईसीसी मध्यपूर्व संयोजक प्रविन गुरुङ्ग,आइसीसी सदस्य रमेश भट्ट, एनसीसी अध्यक्ष मोहमद मुक्तदा मुसलमान, एनसीसी महासचिव पदम गिरी, एनसीसी सदस्यहरु झविन्द्र आचार्य र गजेन्द्र राई, उद्धार तथा राहत समिति सदस्यहरुको उपस्थिति रहेको थियो। 

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा गठित उद्धार तथा राहत वितरण समितिले यसअघि पनि दोहाका विभिन्न स्थानमा अलपत्र नेपाली श्रमिकहरुलाई खाद्यान्न वितरण गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.