|
फाइल फोटो

जुम्ला : भारतले नेपालको सिमानामा ल्याएर छाडिदिएका नागरिकहरू धमाधम जिल्ला प्रवेश गर्न थालेपछि कर्णाली प्रदेशमा उच्च सतर्कता अपनाइएको छ। जुम्ला जिल्लामा पनि भारतका आएका मानिसहरू बिना परीक्षण नै प्रवेश गर्न थालेपछि थप सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्‍जाडेले बताएका छन्‌। 

कर्णालीबासीले भारतबाट आएका नेपालीहरूलाई जिल्लामा प्रवेश दिनुअघि कोरोना संक्रमण भए/नभएको परीक्षण गर्न माग राखिरहेका छन्। सिमानाबाट सजिलै घरसम्म जान नपाएकाहरू अहिले चोरबाटो हुँदै धमाधम जिल्ला प्रवेश गरिरहेकाले कोरोना महामारी फैलनसक्ने देखिएको छ। केही मानिसहरूले कर्मचारीहरूलाई रकम दिएर सवारी पास बनाई जिल्ला भित्रिरहेको पनि पाइएको छ। 

जुम्लाका प्रमुख जिल्ला अधिकारी बञ्‍जाडेले भारतबाट आउनेहरूमा पीसीआर परीक्षण गरिने र जिल्ला आएपछि पनि निगरानीमा राखिने बताएका छन्‌। आरडीटी परीक्षण गरी जिल्ला भित्रनेलाई केही समय क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको उनले जानकारी दिए। परीक्षण नगरी आउनेलाई भने उच्च निगरानीमा राखिने उनले बताए। 

जिल्लामा पहिलो चरणमा भित्रने सबैलाई क्वारेन्टाइनमा राखेर निगरानी गरिने भएको छ। जुम्लामा हालसम्म एक हजार २६३ जनामा पीसीआर परीक्षण गरिएको छ। स्थानीय प्रशासनले यसबीचमा जिल्ला भित्रिएकालाई क्वारेन्टाइनमा राख्न सहयोग गर्न जिल्लाबासीलाई आग्रह गरेको छ। 

मुगुमा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट खटिएका स्वास्थ्यकर्मीको टोलीले कोरोना संक्रमण भए/नभएको परीक्षण थालेको छ। मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाका अनुसार अहिले जिल्लाका दुईवटा स्थानीय तहमा कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मीको टोली खटाइएको छ। जिल्लाका क्वारेन्टाइनमा बसेका र नबसेका सबैमा पीसीआर परीक्षण गर्न थालिएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.