|

सल्यान : सल्यानको दार्मा गाउँपालिकाले नगद नहुने स्थानीयलाई भत्ता कार्ड या सहकारी बचत धितो राखेर खाद्यान्‍न उपलब्ध गराएको छ। 

सहकारीबाट खाद्यान्न किन्न नगद नहुनेले भत्ता कार्ड धितो र सहकारी सदस्यले बचत धितो राखेर खाद्यान्न लिनसक्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिए। उनले भने, 'लकडाउनका बेला नगद अभाव भोगिरहेका गाउँपालिकाबासीलाई सहकारीमा गएर भत्ता कार्ड र सहकारीको सदस्य हुनेले बचत धितो राखी खाद्यान्न लिनसक्ने व्यवस्था मिलाएका छौं।'

 

हरेक टोलमा गठन गरिएका खोजी तथा निगरानी समूहले मागेको तथ्याङ्क लिने र त्यसैको अधारमा सहकारीले खाद्यान्न पुर्‍याउने व्यवस्था गरेको भल्चौर साना किसान कृषि सहकारी संस्था का अध्यक्ष हरिकला मल्लले बताइन्‌। दार्मा वडा न ३ र ४ मा १५२ क्विन्टल चामल, ६ क्विन्टल नुन र साढे सात सय लिटर तेल वितरण गरिएको उनको भनाई छ। सुलभ मूल्यमा उपलब्ध गराइएको खाद्यान्नबाट ४११ घरधुरी लाभान्वित भएको मल्लले बताइन।

गाउँपालिकाका चार वटा सहकारी मार्फत ६ वटा वडाका एक हजार नौ सय २७ घरधुरीमा सात सय ३२ क्विन्टल खाद्यान्न उपलब्ध गराएको छ । गाउँपालिकाले सहकारीमार्फत उपलब्ध गराएको खाद्यान्न सस्तो मुल्यमा उपभोक्ताले आफ्नै घर-आँगनबाट खरिद गर्न पाएका हुन्‌।

सहकारीलाई खरिद मुल्यमा तीन प्रतिशत मात्रै नाफा लिएर उपभोक्ताकै घर-घरमा पुर्‍याउने सहमतिमा खरिद-बिक्रीको अनुमति दिइएको दार्मा गाउँपालिका अध्यक्ष केसीले बताए। उनले भने, ‘हामीले ४२ वटा सहकारीलाई दरखास्त दिन भनेका थियौं , जसमध्ये चारवटा साना किसान कृषि सहकारी संस्था तयार भए, पालिकाले एकमुष्ठ ढुवानी भाडा दिनेगरी खाद्यान्न वितरण थालिएको हो।’

समुदायस्तरबाट सहमति भई वडाबाट सिफारिस भएका ३७ घरधुरी अति विपन्न परिवारलाई गाउँपालिकाले निःशुल्क राहत प्रदान गरेको छ। राहतका लागि निवेदन दिएका चार सय ८४ घर परिवारलाई समुदायलाई समुदायको सर्वसम्मत सहमति र वडाको सिफारिस आएसँगै वितरण गर्ने व्यवस्था गरेको अध्यक्ष केसीले बताए।

अहिले १६ टन चामललगायतका खाद्य सामाग्री मौज्दात रहेको उनको भनाई छ। दार्मा गाउँपालिकामा तीन हजार ६३९ घरधुरी र २० हजार १६२ जनसंख्या रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.