|

बैतडी : गएको चैतदेखि हालसम्म भारत तथा तेस्रो मुलकबाट बैतडी र दार्चुलामा तीन हजार चार सयभन्दा बढी नागरिक भित्रिएका छन्। दुबै जिल्लामा गरी तीन हजार ४७३ जना भित्रिएका सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको तथ्यांकमा उल्लेख छ। 

बैतडीमा भारतबाट दुई हजार ५१ जना भित्रिएका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले बताए। १५ जना तेस्रो मुलुकबाट भित्रिएका हुन्।लकडाउनपछि आएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा राखेर घर पठाइएको स्थानीय प्रशासनले जानकारी दिएको छ। 

दार्चुलामा भारत तथा तेस्रो मुलुक गरेर गएको चैतदेखि हालसम्म एक हजार ४०७ जना भित्रिएका छन्। जसमा १४ जना तेस्रो मुलुकबाट आएका रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदूनाथ पौडेलले जानकारी दिए। लकडाउनमा जिल्ला भित्रिएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा राखेर कोरोना परीक्षणपश्चात घर पठाइएको प्रजिअ पौडेलले बताए।

लकडाउनका बेला पनि स्थानीय प्रशासनले धार्चुला र झुलाघाटमा अलपत्र परेका नेपाली मजदुरको उद्धार गरी ल्याएको थियो। यसका साथै अवैध रुपमा महाकाली तरेर पनि धेरै नागरिक जिल्ला भित्रिएका बताइएको छ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ। लकडाउन जेठ ५ गतेसम्म जारी रहनेछ। सीमानाका भने जेठ १८ सम्म बन्द रहने सरकारले निर्णय गरेको छ।

यसैबीच बैशाख १८ गते भारतीय सीमा नाका झुलाघाट र धार्चुलाबाट घर बैतडीका फर्केका अधिकांश नागरिक १४ दिने क्वारेन्टाइनको बसाईपछि घर फर्केका छन्। क्वारेन्टाइनमा बसेका एक हजार ३६५ जना मध्ये एक हजार ११७ जना घर फर्केका हुन्। बाँकी २४८ जनाको आरडीटी चेक गर्न बाँकी रहेकाले शनिबार परीक्षण गरेर घर फर्काउने तयारी रहेको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए। 

क्वारेन्टाइनमा बसेका एक जना बाहेक सबैको रिपोट नेगेटिभ आएपछि घर फकाइएको जोशीले जानकारी दिए। डिलाशैनी १ का ५० वर्षीय एकजना पुरुषको आरडिटी पोजेटिभ आएको र उनको जिल्ला अस्पतालको आइसोलेशन कक्षमा उपचार भइरहेको छ। ती व्यक्तिको 'थ्रोट स्वाब' संकलन गरी पिसीआर विधिवाट परीक्षण गर्न सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको डा. वसन्तराज जोशीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.