साहित्य

कथा : रंगीन पोते

जेठ ३, २०७७

    काठमाडौंको तीनकुनेमा रहेको कार्यालय कीर्तिपुरबाट टाढा भएकोले म बानेश्वरमा भर्खर डेरा सरेको थिएँ हामीले ४ कोठाको फ्ल्याटका २ वटा कोठा भाडामा लिएका थियौँ । अर्को २ कोठामा १ परिवार  बस्थ्यो। 

    वास्तवमा उनको मप्रतिको हेराइ सुरुबाटै मलाई फरक लागेको थियो। उनी अर्थात् हाम्रै तलामा २ वटा कोठामा बस्ने एउटी सुन्दर महिला। बिए तेस्रो वर्षको परीक्षा सकिएपछि मेरा रुम पार्टनर बुटवल लागेपछि म कोठामा एक्लै भएको थिएँ। त्यसपछि त उनको चलखेल अलि बढी नै हुन लाग्यो। ११ कक्षाको परीक्षा शुरु भएकोले म बिहान उठेर पढाउन जान छाडिसकेको थिएँ । राति अबेरसम्म बस्ने बानी हुनाले म बिहान ८ बजेसम्म सुत्थें ।

    समस्या के भने ७ बजेको सेरोफेरोमा हाम्रो धारामा पानी आउँथ्यो। धेरै भाँडा नभएकोले पानी थाप्न सकिएन भने  बिजोग हुने। अहिले जस्तो जारको पानी फालाफाल उपलब्ध  थिएन त्यतिबेला । उनले नै हतपत मोटर चलाउँथिन्। मोटरको कर्कश आवाजबाट उनले एउटै तीरबाट दुई सिकार गर्थिंन् एउटा पानी थाप्ने, अर्को मलाइ बिउँझाइदिने । 

    मोटरको आवाज सुनेपछि म जर्‍यकजुरुक उठेर झ्यालबाट बाहिर हेर्थें। मलाइ चियो गरेर बसेकी उनी चाहिँ युद्ध जितेझैं मन्दमुस्कान छोड्थिन्। म हतारहतार बाल्टिन लिएर धारामा जान्थें र ब्रस लिएर बाथरुम छिर्थें। फर्केर आउँदा कहिले बाल्टिन भरिएका हुन्थे त कहिले आफ्नो बुढाको आँखा छल्न भ्याएमा मेरो किचननिरै पुग्थ्यो पानी।

    यो क्रम हरेक दिनजसो भइरहँदा पनि हाम्रो औपचारिक गफगाफ वा चिनाजानीसम्म पनि भएको थिएन। तर, यो अनौठो सम्बनध विकास भइरहेको थियो। यो सबै के भइरहेको छ ! मैले मेलोमेसो पाउन सकेको थिइनँ। न त उनीलाई १ थान धन्यवाद भन्थेँ, मात्र २ पैसाको मुस्कान छोड्थेँ।

    यसैबीचमा, किसानको आन्दोलनले बजारमा दूधको अभाव थियो। ढिला उठ्ने मेरो बानी हुनाले म प्राय दूध पाउन सक्दिनथें अनि आफूलाई दूधको चिया भने नभई नहुने। चियाको लागि पसलतिर लाग्थें।

    मेरो यो समस्या बुझेर हुनुपर्छ सायद उनले मलाई सुनाउन भन्थिन्, ‘आज त्यो बनेपाली साहुले दूध धेरै राखेको छ।'

    एकपटक तीनदिने नेपाल बन्दको क्रममा त मेरा लागि एक प्याकेट दूध पनि किनेर राखिदिइछन्। छोराले 'अंकल दूध लिनुस् रे’ भन्दै ल्याइदियो। मैलै पैसा दिँदै भनें ‘बाबु मम्मीलाई धन्यवाद भन्देऊ ल।' उनले यसो परबाट लुकेर हेरेकी हुन्थिन्, उनले सोच्दिहुन्,त्यही धन्यवाद सिधै मलाई भन्न के हुँदो हो र?  मलाई अचम्म लाग्थ्यो। मेरो अन्तरमुखी स्वभावले उनलाइ सास्ती नै भएको रहेछ। म काम नपरेसम्म नबोल्ने तर उनी भने अनेक वहानामा मसँग बोल्न खोज्थिन्।

    बहाना अनेक थिए, कहिले सलाई, पत्रिका, कहिले के त कहिले के, उनीलाई मसँग नजिकिने वहाना चाहिएको थियो। अरू केही नपाए छोराको होमवर्क सोध्ने र मसँग बोल्ने। अफिसबाट आउँदा प्राय: उनी कोठाबाहिरै बसेकी हुन्थिन्। म मुसुक्क हाँस्थे र नबोली भित्र पस्थें।

    कहिलेकाहीँ अफिसबाट राति ११ बजेतिर मात्र फर्किन्थें र माथि बस्ने जगदीशलाई ढोका खोल्न बोलाउथें तर क्षणभरमै उनी आएर ढोका खोल्थिन्। कहिलेकाहीँ त उनी हेर्न अलि अफ्ठेरो लाग्ने पोशाकमा हुन्थिन्। तर,गलामा रंगीन पोते अनिवार्य ! अनि श्रीमानले के सोच्दा हुन्? मलाई यो लागेर के गर्नु र उनीलाई नलागेपछि भनेर मैले सोच्न छाडिदिएँ।

    उनका श्रीमान कुनै म्यानपावर कम्पनीमा काम गर्थे भन्ने कुरा मैले उनले गरेको फोनको कुराबाट थाहा पाएको थिएँ। सधै राति अबेला आउँथे,सायद टन्न पिएर। कारण त थाहा हुन सकेन। तर, लोग्नेको आगमनपछि हरेक रात उनी रोएको हाम्रो कोठासम्मै सुनिन्थ्यो। मध्यरातसम्मको दैनिक रुवाईको कारण जान्न मलाई  उनीसँग सोध्नुपर्ने, त्यो हुँदा उनीसँग नजिकिनुपर्ने जुन म नहोस् भन्ने चाहन्थें। 

    म तीनवटा पत्रिकाको ग्राहक थिएँ। अचम्म के भने पत्रिका आउनासाथ उनी बाहिर उभिएरै ती पत्रिका हेरिसक्थिन् र पछि फेरि पत्रिका माग्न आइपुग्थिन्। 
    उनको एउटा विशेषता थियो, रंगीन पोते सधैँ लगाउने। उनलाई रंगीन पोतेबिना खालि कहिल्यै देखिनँ।

    त्यहाँ बस्‍न आएको पहिलो दिनदेखि नै उनको रंगीन पोतेमा मेरो नजर गडेको थियो। जसरी उनको मप्रति केही विशेष  रुचि थियो। मलाई भने अरूभन्दा पनि  उनको त्यो रंगीन पोते असाध्यै मनपर्थ्यो।

    हाम्रो यो अनौठो अव्यक्त सम्बन्धमा उनको ५  वर्षे छोरो गजबको माध्यम बनिरहेको थियो। उनको भान्सामा पाकेको चोखो मीठोदेखि अचार, तरकारी, कहिले के त कहिले के आएर म हैरान भइसकेको थिएँ। नलिनु कसरी नलिनु, लिऊँ भने आफूले अहिलेसम्म केही दिएको हैन। त्यसमाथि विकसित भइरहेको यो विशेष सम्बन्ध!

    यसैबीचमा, मलाई एक पटक हनहनी ज्वरो आयो। उनका श्रीमान् व्यवसायको क्रममा देशबाहिर गएको बेला परेछ। त्यो बेला उनले सहयोगी हात अलि बढी नै बढाइन्। कपडा धोइदिने अफरदेखि ट्वाइलेट पनि जान सक्नुहुन्न होला, म लैजाऊँ कि भन्ने सम्मका।

    यो सुनिरहँदा मैले के निश्चय गर्न सकिनँ। उनी  मानवीय सहयोग गर्दै छन् कि यो सबै वासनायुक्त सम्बन्ध हो? 
    उनले मेरा विभिन्न गतिविधि नियाल्दा मेरो ध्यान भने उनको रंगीन पोतेमै हुन्थ्यो, कारण भने म आफैँलाई थाहा थिएन। उनले पनि मैले रंगीन पोतेमा ध्यान दिएको खुब ख्याल गरेकी थिइन्।

    एउटा बुधबार बिहानै मैले अलि धेरै कपडा भिजाएको थिएँ। उनले सोधिन, 'भाइ आज अफिस नजाने?'
    मैले आफ्नो बुधबार बिदा भएको बताएँ। 

    'शनिबार पनि बिदा नहुने कस्तो अफिस' भन्दै उनी अचम्म परिन्। मैले त्यो बेला पहिलो पटक उनलाई आफू सन्चार माध्यममा काम गर्ने जानकारी गराएँ। त्यो थाहा पाउनासाथ अप्रत्याशित रूपमा प्रश्न गरिन्।

    'त्यो टिभीमा समाचार पढ्ने दीलभुषणले बिहे गरेको छ?' म लामो हाँसो हाँसेर सोधेँ, 'किन सोध्नुभयो?'
    उनको जवाफ थियो, ' हेर्दा निकै राम्रो देखिन्छन्,यसै सोधेको।'

    म फेरि थेसिसको भाइभा नजिक आएकोले बिहान उठेर कीर्तिपुर जाने र केही दिन साथीहरूकोमा बस्ने गर्थें। कहिलेकाहीँ आउँथें। आएको बेला निकै न्यास्रो मानेझैँ गरेर सोध्थिन्, 'हैन भाइ कहाँ जानुहुन्छ? कति बेला खानुहुन्छ?' मेरो जवाफ फगत एक मुस्कान सधैँझैँ हुने गर्थ्यो।

    करिब एक हप्ताको बाहिर बसाइपछि म दिउँसो २ बजेतिर आएर आराम गर्दै थिएँ। ढोका ढकढक गरेपछि खोलेको उनै रहिछिन्। सधैँ रातो पोते लगाउने उनी त्यसदिन नीलो पोतेमा थिइन्। मनमनै सोचेँ हैन मलाई यो पोते अनि यसको रङमा किन टाउको दुखाउनु परेको? जवाफ आफैँसँग थिएन।
    मैले भित्र आउनुस् भनौं कि नभनौं भन्ने दोधारमै हुँदा उनी आफैँ भित्र पसिन् र भनिन् 'ए कम्प्युटर पनि रहेछ, मलाई पनि सिकाइदिनु नि।'

    सोच्दै थिएँ -हे भगवान् के के आइलाग्दै छ मलाई? नीलो रङको  कुर्ता सुरुवाल र नीलै रङको पोतेमा उनी निकै खुलेकी थिइन्। उनी आफू त्यहाँ आउनुको कारण चाँहि आज घरभेटीले भाडा २ हजार बढाएको बताइन्। यो केवल बहाना थियो उनको। विषयवस्तुमा आइन् र मुखै फोरेरै भनिन्,‘आज तपाईं मेरोमा खाना खानुपर्छ।' मैलै यसपटक विचारै नगरी पोतेमा नजर लगाउँदै हस् भनेँ।

    म दिउँसोभरि निकै असमन्जसमा परेँ कसरी उनकोमा खाना खान जानु, उनको श्रीमान् बाहिर छन्, उनको व्यवहार सधैँ शंकास्पद नै छ, फेरि सम्बन्धले नराम्रो रूप लिने हो कि? उनका श्रीमान् आइहाले के होला? आदि इत्यादि सोच्दै म दिनभर तनावमा रहें। तर, उनको आकर्षक जlउडाल र मायालु व्यवहार सम्झेर उत्तिकै रोमान्चित पनि भइरहेको थिएँ। सम्झिरहेको थिएँ त्यो पोते पनि। 

    म आठ बजेतिर फर्किएँ। उनी बाहिरै थिइन् छोरोसहित। हेर्नुस् न तीनदिने पूर्व बन्द रहेछ भन्दै उनले  श्रीमान् नआउने कुरामा ढुक्क बनाउन खोजिन्। हातमुख धोएर कपडा फेर्दै थिएँ। उनी आइपुगिन्, खाना लगाऊँ? मैलै टाउको हल्लाएर हुन्छ भनें। उनले मिहिनेत गरेर निकै मीठो खाना बनाएकी रैछिन्। उनले मसँग खाना खान पाउँदा निकै सन्तुष्टि व्यक्त गरेकी थिइन् र अनुहारमा चमक निकै बढेको थियो। खाना खाँदै गर्दा उनले भनिन्-  'आज यतै सुत्नुपर्छ, मलाई एक्लै डर लाग्छ।' 

    मैले सोचेको थिइनँ कि आज म यो स्तरको सम्बन्धको लागि तयार हुनुपर्छ अनि मलाई कता-कता डर लाग्न थाल्यो। उनको हाउभाउ र आकर्षक पोशाकमा खुलेको सौन्दर्यले मलाई पनि अधिर त बनाएको थियो नै तर उनको पोतेले मलाई खै के के रोके जस्तो लाग्दै थियो।
    ‘हामी एक कदम अगाडि बढ्ने हो भने तपाईंले यो पोते आजलाई बाहिर निकाल्न सक्नुपर्छ।'

    मेरो यो कुरा उनलाई अप्रत्याशित लागेछ क्यार उनको मुहारमा निकै परिवर्तन भयो। लाडिएर कुरा गर्दै रहेकी उनी एक्कासि अँध्यारो भइन्। निकै रोइन् उनी। मान्छेको आँखाबाट त्यतिसम्म पनि आँसु झर्ने रैछ भन्ने लाग्यो।  म केही बोल्नै सकिनँ किनभने यो सबै अप्रत्याशित थियो।

    निकै नरमाइलो लागेर के गर्ने भन्ने भइरहेको बेला उनले मलाइ त्यहाँबाट हिँड्न संकेत गरिन्। म आफ्नो कोठामा आएर पल्टिएँ। रातभर उनी रोइरहेको आवाज आइरह्यो। म पनि निदाउन सकिनँ। अर्को दिन उनीसँग अगाडि कसरी पर्ने भन्ने लागिरह्यो हुनत मेरो गल्ती  केही थिएन। म सबेरै कोठाबाट निस्किएँ। अरू ५ दिनसम्म कोठामा फर्किन मनै लागेन।

    छैटौँ दिनमा साँझ ५ बजेतिर कोठामा पुगेँ। उनीहरू कोही पनि थिएनन्, थियो त केवल  खाली कोठा। मैले माथि बस्नेहरूलाई सोध्न सकिनँ। उनीभन्दा पनि त्यही रंगीन पोते झल्झली सम्झिरहेको थिएँ ।
    करिब एक महिनापछि अफिसको ठेगानामा एउटा जरुरी पार्सल आएको रहेछ। त्यसमा त्यही रंगीन पोते थियो। 

    त्यो पोते हातमा लिएर म घन्टौ सोंचमग्न भएँ। पोतेसँग त्यो विशेष सम्बन्ध वा बाध्यता के होला? उनी महिनौँ मसँग आकर्षित भइन् तर पोतेसँग त्यत्रो अगाध आस्था र विश्वास वा बाध्यताको कारण के थियो होला? हरेक रात लोग्नेसँग किन रुन्थिन् होला उनी? 
    अनि मेरो पनि सबैभन्दा बढी ध्यान उनको पोतेमा किन हुन्थ्यो? यावत प्रश्न मेरा मनमा आइरहे त्यो रंगीन पोते हातमा भइरहँदा, तर जवाफ सायद कहिल्यै पाउन सक्ने छैन। 
    सबैभन्दा ठूलो समस्या त मैले उनको यो अमूल्य पोते कहाँ के गर्ने भन्ने चिन्ता भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]