प्रदेशभर संक्रमितको संख्या १ सय ९ पुग्यो

|

बारा : प्रदेश २ को ८ वटै जिल्लामा कोरोना संक्रमित देखिएका छन्।  प्रदेशभरमा एक सय ९ जनामा संक्रमित भेटिएका छन्। शनिबारमात्रै ९ जना संक्रमित थपिएका हुन्। संक्रमित ३ जना उपचारपछि स्वस्थ भएर घर फर्किएका छन्।

प्रदेश नं. २ को सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य महाशाखाका प्रमुख डा.नवलकिशोर झाले मिडिया ब्रिफिङमार्फत सिरहामा शनिबार पहिलो पटक संक्रमित फेला परेको जानकारी दिए। उनले प्रदेश २ का ८ वटै जिल्ला कोरोनाबाट प्रभावित भएको बताए।  

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीका साउदी अरबबाट फर्केका ३० वर्षीय युवकमा शनिबार संक्रमण पुष्टि भएको हो। गत फागुन २८ गते साउदीबाट नेपाल आएका ती युवक भोलिपल्ट बिहीबार लतियाही घर पुगेका थिए। वैशाख २९ गते भगवानपुर गाउँपालिकाको स्वास्थ्य केन्द्रमा उनको स्वाबको नमुना लिइएको थियो। 

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टबाट शनिबार कोरोना संक्रमण पुष्टि भएको हो। २४ घण्टामा ८ जनामा संक्रमण देखिएकोमा वीरगञ्ज महानगरपालिकामा ९ र १० वर्षका बालक, २८ र २९ का दुई वर्षका पुरुष र २३ र ४७ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। 

त्यसैगरी सिरहामा ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी सलार्हीको रामनगर गाउँपालिका स्थायी घर भई काठमाडौं बस्दै आएकी १८ वर्षीया युवतीमा संक्रमण देखिएको छ। 

त्यस्तै जिल्ला प्रहरी कार्यालय बारा कलैयामा कार्यरत रौतहट, फतुवा विजयपुर २ का प्रहरी जवानमा कोरोन संक्रमण भएको छ। जिल्ला प्रहरी कार्यलयको मुद्दा फाँटमा कार्यरत प्रहरीमा कोरोना पोजेटिभ भेटिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी गराए। 

शनिबारै दिउँसो महोत्तरीमा एक जना संक्रमित थपिएका छन्। थपिएका कोरोना बिरामी नेपाली सेनाका मध्यपूर्वी पृतना महोत्तरीमा कार्यरत ५२ वर्षीय पुरुष हुन्।संक्रमण देखिएका ६ जनालाई वीरगन्जस्थित सिद्धार्थ माध्यमिक विद्यालयको आइसोलेसन र सिरहाका संक्रमितलाई प्रादेशिक अस्पताल जनकपुर लैजाने तयारी भइरहेको छ। 

संक्रमित बढेसँगै परीक्षण तीव्र

संक्रमितको संख्या बढेसँगै परीक्षणको दायरा बढाइएको डा. झाले जानकारी दिए। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रदेश २ मा ५ हजार ९ सय ८७ को परीक्षण गरिएको जानकारी दिइएको छ। 

जानकारीअनुसार २४ घण्टामा २ सय ५१ जनाको स्वाब संकलन गरिएको छ। अहिलेसम्म पाँच हजार २ सय ३१ स्वाब संकलन गरिएको जानकारी दिइएको छ। त्यसमा एक सय ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ। 

३ हजार ६ सय ८७ को नेगेटिभ र एक हजार ४ सय ३६ स्वाबको परीक्षण रिपोर्ट आउन बाँकी छ। त्यसैगरी ५ हजार पाँच सय ३० जनाको आरडिटी परीक्षण गरिएको छ। संक्रमण पुष्टि भएका ७१ जना नारायणी उपक्षेत्रीय अस्पातालमा, २५ जनाको सिद्धार्थ माविमा र ५ जनाको जनकपुरमा उपचार भइरहेको छ र थप एक जनालाई ल्याउने तयारी भइरहेको छ। 

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा रहेका एक जना संक्रमितसहित १ सय ३ जनाको उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ। 

प्रदेश २ मा एक सय ८३ वटा क्वारेन्टाइन निर्माण गरिएका छन्। त्यसमा ४ हजार ५ सय ७६ बेड छन्। जसमा २ हजार ३ सय ८२ जना छन्। भने ४ हजार ७ सय ६८ जना होम क्वारेनटाइनमा रहेका डा. झाले जानकारी दिए। त्यसैगरी प्रदेशभर आइसोलेसन बेड क्षमता ३ सय ९८ रहेकोमा १ सय ६ जना बिरामी भर्ना भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.