विमला ढकाल (बर्दिया) : बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ११ को लालपुर गाउँ सिल गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको ठेगाना र संख्यासहित शनिबार बिहान निकालेको विज्ञप्ती अनुसार बर्दियाको नार्खु ११ भन्ने ठाउँ लालपुर हुनसक्ने आशंकामा उक्त गाउँ सिल गरिएको हो।
बर्दियामा नार्खु भन्ने ठाउँ नभएकाले गुलरिया नगरपालिकाको हो कि भन्ने आशंकामा लालपुर गाउँ सिल गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।
स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले भने, ‘नार्खु भन्ने ठेगाना अझैँ पत्ता लागेन, स्थानीयसँग सोधपुछ गर्दा गुलरियाको लालपुर हो कि भन्ने आशंका गरिएको छ, अझै एकिन भएको छैन, तर पनि आशंकामा अहिले लालपुर गाउँ सिल गरी स्वास्थ्य मन्त्रालयमा थप बुझिरहेका छौँ।’
काठमाडौं बस्दै आएका बर्दियाको गुलरिया नगरपालिका ११ लालपुर गाउँमा घर भएका पेशाले मासु व्यवसायी एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। उनी अहिले काठमाडौंमै छन्। लकडाउन हुनुअघि ट्रक चढेर काठमाडौंबाट बर्दिया आएका र बैशाख मसान्ततिर काठमाडौं फर्केका उनको चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको जानकारी प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
अझै पुष्टि भै नसकेको र यदी उक्त क्षेत्रकै पुष्टि भएमा जोखिम बढ्न सक्ने भन्दै हाल गुलरिया नगरपालिका ११ को लालपुर गाउँलाई सिल गरिएको र लालपुर गाउँमा कोरोना परिक्षण गर्ने तयारी थालिएको प्रजिअ प्रेमलाल लामिछानेले बताए।
बर्दियामा शनिबार बिहान कोरोना संक्रमण भेटिएको भनिएको व्यक्ति महिला नभएर पुरुष हुनसक्ने आशंका पनि गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बर्दियाको नार्खु ११ की २८ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको प्रेस विज्ञप्तिमार्फत जनाएको थियो।
स्वास्थ्य मन्त्रालयले बर्दियाको नार्खु ११ का एक महिलामा कोरोना पोजेटिभ देखिएको प्रेस विज्ञप्ती जारी गरेपनि बर्दियामा नार्खु भन्ने ठाउँ पत्ता नलागेपछि उक्त अपुष्ट खबरले स्थानीयमा त्रास फैलिएको छ।
यसअघि सोमबार बर्दियाको राजापुर ५ मा ११ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो। अहिले उबाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा उनको उपचार भैरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।