शैक्षिक तालिम केन्द्र गंगापुरमा अस्पताल निर्माण गर्ने निर्णय

|

बारा : जिल्ला अस्पताल कलैया अस्पताललाई कोरोना अस्पाताल बनाउने प्रदेश सरकारको निर्णय उल्टिएको छ। कलैया अस्पतालको विकल्प खोज्न राजनीतिक दलदेखि स्थानीय तहले समेत प्रदेश सरकारलाई आग्रह गर्दैै आएका थिए।

जिल्ला विपत् व्यवस्थापन समिति बाराका संयोजक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको अध्यक्षतामा जिल्लास्थित प्रदेश सासंदसहित सरोकारवालाको बैठकले जिल्ला अस्पतालको विकल्पमा शैक्षिक तालिम केन्द्र गंगापुरमा निर्माण गर्ने निर्णय गरेको छ। 

बैठकले कलैया उपमहानगरपालिका–३ गंगापुरमा रहेको तालिम केन्द्रमा ५० बेडको अस्थायी कोरोना अस्पताल बनाउने निर्णय भएको हो। कलैया उपमहानगरपालिका कार्यालयको नेतृत्वमा एक साताभित्र अस्पताल निर्माण गरिने भएको छ। अस्पताल निर्माण भएपछि कलैया अस्पतालमा उपचार गरिएका बिरामीलाई त्यहाँ सारिने भएको छ। अस्पतालमा कोरोना संक्रमित प्रहरी जवानको उपचार भइरहेको छ।

अस्थायी अस्पतालमा कोरोना संक्रमितको उपचार चलिरहेको अवस्थामा कलैया अस्पतालले नियमित दिइरहेको सेवा बारा नर्सिङ होममा सरकारी दररेटमा पनि दिने व्यवस्था मिलाउने निर्णय भएको छ। 

कोरोना संक्रमित बिरामीलाई स्थान्तरण गरेपछि डिस्इन्फेक्सन गरेपछि पुनः कलैया अस्पतालमा नियमित सेवा दिइने भएको छ। कोरोना संक्रमितको उपचार क्षमता ५० बेडको तालिम केन्द्रमा अपुग भए कलैयास्थित सिँचाइ कार्यालयको भवनलाई मर्मत गरेर सञ्चालनमा ल्याउने समेत निर्णय भएको छ। 

त्यसका लागि कलैया उपमहानगरपालिकाले ५० प्रतिशत र संघीय र प्रदेश सांसदको ५० प्रतिशत योगदान गर्ने समेत बैठकले निर्णय गरेको छ। सिँचाइ कार्यालय बन्द भएपछि त्यहाँ नेपाली सेनाको चन्दननाथ गण स्थापना गरिएको थियो। सेनाले गण त्यहाँबाट सारेपछि खण्डहर बनेको कार्यालयलाई मर्मत गर्न ४५ दिन लाग्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.