|

पर्सा : नेपालमा अहिलेसम्म भेटिएका कोरोना संक्रमितमध्ये पर्सामा सबैभन्दा धेरै अर्थात ९० जना रहेका छन्‌। तर यी संक्रमितको उपचार गर्न पर्सामा बल्ल एउटा निजी अस्पताललाई तयार पारिएको छ। वीरगन्जमा रहेको गण्डक अस्पताललाई संक्रमितको उपचार गर्न तयार पारिएको हो।

गएको बैशाख ६ गते वीरगंज महानगरपालिकासँग लिखित सम्झौता गरी मन्जुरी जनाएको गण्डक अस्पतालमा संक्रमितको उपचार हुने बाटो खुलेको थिएन। तर वीरगन्ज महानगरपालिकाले कोरोना संक्रमितको उपचार गरिरहेको वीरगन्जको नारायणी अस्पताललाई जिम्मेवारी दिएपछि अब गण्डक अस्पतालमा पनि कोरोनाका बिरामीको उपचार गर्ने बाटो खुलेको हो। 

नारायणीकै नामले सञ्चालन 

गण्डक अस्पताल पनि नारायणी अस्पतालकै नामले सञ्चालन गर्ने जिम्मेवारी नारायणी अस्पताललाई जिम्मेवारी सुम्पिएको छ। केन्द्र सरकारको स्वीकृति र प्राविधिक कुरा मिलाउन समय लागेकोले सम्झौता हुनासाथ सेवा सञ्चालन गर्न नसकिएको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले बताए।

सेवा सञ्चालन गर्न सक्ने व्यवस्था मिलाइएको सरावगीले बताए। सरावगीले शनिबार नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायलाई अस्पतालको जिम्मेवारी हस्तान्तरण गरेका छन्। 

गण्डक अस्पतालमा ७० बेडको आइसोलेसन वार्ड तयार पारिएको छ। लामो समयको प्रतिक्षापछि बल्ल प्राविधिक कुरा मिलेर तयारी अवस्थामा गण्डक अस्पताल पनि कोभिड अस्पतालका रुपमा परिणत भएको हो। अब त्यहाँ पनि संक्रमितको उपचार गर्ने बाटो खुलेको नारायणी अस्पतालले जनाएको छ।

अस्पतालमा कारोना संक्रमित नअटेपछि विद्यालयमै राखियो

जनरल अस्पतालका रुपमा रहेको नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचार हुँदै आएको थियो। यहाँ नअटेर सिद्धार्थ स्कूलमा बिरामी पठाउन थालेको समयमा निजी अस्पताल संक्रमितको उपचार गर्न मिल्ने गरी स्थानीय सरकारले हस्तान्तरण गरेको नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले बताए। 

खर्चको सम्पूर्ण व्यवस्थापन वीरगन्ज महानगरपालिकाको गर्ने र कोरोना अस्पताल सञ्चालनको जिम्मा भने नारायणी अस्पतालको हुने जनाइएको छ। 

विद्यालयमा बिरामी राख्नु पर्ने बाध्यता यसले थोरै टरेपनि कोरोना संक्रमित बढ्ने क्रममा रहेको पर्सामा यतिले मात्र व्यवस्थापनमा पूर्णता नहुने नगरप्रमुख सरावगीले तर्क गरे। संक्रमितको उपचारको लागि अरु अस्पतालहरुको पनि साथ चाहिएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.