|

काठमाडौं : राष्ट्रगानका सर्जक व्याकुल माइला अर्थात प्रदीप कुमार राई। लकडाउनअघि विभिन्न कार्यक्रममा निकै व्यस्त थिए उनी। कहिले त उनलाई एकैदिन, एकै समयमा चार ठाउँमा कार्यक्रममा जानुपर्ने बाध्यता आइपर्थ्यो। उनले त्यसबेला सोच्ने गर्थे, ‘मेरो दैनिकी नै कार्यक्रममा जाने आउने मात्रै हो की क्या हो! कहिलेकाहीँ त राम्रोसँग परिवारलाई समय दिएर आनन्दले घरमा बस्न पाएपनि हुन्थ्यो।’

अहिले लकडाउनमा उनी घरमै छन्‌। कोरोना भाइरसको महामारीले सबै कार्यक्रम रोकिएपछि र बाहिर निस्कन नमिलेपछि घरमै बस्नुको विकल्प पनि त छैन। तर उनी घरभित्र बस्नेमात्रै गरिररहेका छैनन्‌।  ललितपुरको नख्खिपोटस्थित निवासमा विभिन्न कला, संस्कृतिको अध्ययन गरिरहेका छन्‌।

उनी लकडाउनअघिको स्मरण सम्झँदै भन्छन, ‘लकडाउन नहुँदा दिनदिनै कार्यक्रममा जानुपर्थ्यो, कहिले चार ठाउँमा एकै समयमा कार्यक्रम हुँदा कहाँ जाने/कहाँ नजाने तनाव हुन्थ्यो, अहिले लकडाउन हुँदा घरमै बसेर कला,साहित्य, संस्कृतिको अध्ययन गर्ने अवसर जुटेको छ, जारी लकडाउनले अध्ययनका लागि मौका दिएको छ ।’

लकडाउनलाई सदुपयोग गर्दै राई यतिखेर वाम्बुले राईहरुको जन्म, मृत्यु संस्कार र मानव सभ्यता तथा इतिहाबारे अध्ययन गरिरहेका छन्‌। त्यस्तैगरी अन्य विषयका खोज, अन्वेषण र पुरातात्विक वस्तुहरुको पनि अध्ययन गर्दै आएका छन्‌। मानव सभ्याता र इतिहासका पाना पल्टाउँदा कुन सत्य, कुन असत्य हो भनी छट्याउन चाहिँ उनले पनि मुस्किल खेपिरहेका छन्‌। 

‘पहिला एकै दिन बालाजु, नारायाणथान, सानोठिमी ठाउँमा कार्यक्रम हुन्थ्योऽ सबैठाउँमा नपुगी नहुने थियो, एकै दिनको कार्यक्रममा तानातान हुन्थ्यो, अहिले यस्तो छैन, धेरै अध्ययन-अनुसन्धान गर्न पाएँ,’ उनी भन्छन्‌, ‘विश्वभर कोरोना माहामारी फैलिएको छ, त्यसैले कोरोना संक्रमणबाट बच्न म घरभित्रै बसेर अध्ययन गर्छु।'

लकडाउन अवधिमै केही संस्थाले खोजीखोजी निवासमै आई सम्मान गरेकोमा आफू अत्यन्त हर्षविभोर भएको उनले बताए। भन्छन्‌, 'सँधै यसरी नै सबैको माया पाइराखुँ।’

उनले कोरोनाबाट बच्न घरमै बसी लकडाउनको पालना गर्न सबैसँग आग्रह गरेका छन्‌। ‘अहिले विश्वव्यापी कोरोना महामारी छ,’उनले भने,‘नेपालमा दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ, त्यसैले घरभित्रै बसौँ, कोरोना भाइरस संक्रमणबाट जोगिऔँ, लकडाउन समयमा आफुलाई मन परेका कथा-कविता सुनौँ, पढौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.