|

हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ५० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरिरहेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको भन्दा केही बढी बजेट आउनेछ।

राजस्व परामर्श समितिले आगामी आर्थिक वर्षको बजेटका लागि विभिन्न चरणमा छलफल गरेको छ। मन्त्रालयहरुसँग योजनासमेत माग भइसकेको छ। आगामी आर्थिक वर्षमा प्रदेश सरकार मातहतका आठ वटा सरकारी अस्पतालको सुधार गर्ने विषय उच्च प्राथमिकतामा पर्ने आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले बताए। स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार पनि प्राथमिकतामा रहने उनको भनाइ छ। 

प्रदेश नीति तथा योजना आयोगले प्रदेशका ६६ वटै निर्वाचन क्षेत्र र ११९ वटै स्थानीय तहलाई प्रत्यक्ष लाभ हुने प्रकृतिको विशेष कार्यक्रम पनि बजेटमा आउने जनाएको छ। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४७ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बजेट पेस गरेको थियो। तर बजेट खर्च भने सन्तोषजनक हुन सकेको छैन। 

प्रदेश सभाको बैठक जेठ १२ गतेबाट बस्ने भएको छ। बैठकमा नेपाल सरकारलाई ठुला योजनामा सहलगानी गर्न प्रदेश सरकारले प्रस्ताव गर्नेदेखि आगामी बजेटको नीति तथा कार्यक्रममाथि छलफल समेत हुनेछ। छैठौं अधिवेशनमा प्रदेश सभा सचिवालयमा हाल चारवटा विधेयकहरु रहेका छन्। 

कृषि र रोजगारी मूख्य प्राथमिकता

कोरोना भाइरस (कोभिड १९) को त्रासपछी लाखौं जनाको रोजगारी गुमेकाले बागमती प्रदेश सरकारले रोजगारीलाई प्राथमिकता दिने भएको छ।

प्रदेश सरकारले आगामी बजेटमा कृषि र रोजगारीलाई बढी प्राथमिकता दिएर बजेटको तयारी थालेको हो। विदेशमा रहेका हजारौं युवा स्वदेश फर्कने तयारीमा रहेको र स्वदेशमै रहेका युवा पनि बेरोजगार रहेको अवस्थामा कृषिलाई प्राथमिकता दिन लागिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए।

जमिन बाँझो राख्न नदिनेगरी नीतिमै उल्लेख गरेर काम थालिएको मन्त्री ढुंगेलले दाबी गरेका छन्। किसानलाई अनुदान भन्दा पनि सहुलियत वा निर्ब्याजी ऋण दिने व्यवस्था गर्न लागिएको उनले बताए।

विदेशबाट फर्किएका युवालाई पनि खेती गर्न सुरुवाती लगानी पूँजीसहित नेपालमै काम गर्ने वातावरण तयार पार्ने पनि उनले बताए। आउँदो बजेटमा मकवानपुरको भिमफेदी कुलेखानी सुरुङमार्ग, प्रदेशसभाको भवन निर्माण, मन्त्रालयहरु निर्माण लगायतका क्षेत्रलाई पनि प्राथमिकता दिइने उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.