|

बैतडी : भारतसँग सीमा जोडिएका बैतडीमा दुई स्थानमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने भएको छ। दशरथचन्द नगरपालिकास्थित झुलाघाट र पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा बिओपी स्थापना हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

गृह मन्त्रालयको निर्देशनमा सशस्त्र प्रहरी बलले बैतडीका दुई ठाउँमा बिओपी राख्न कार्ययोजना पठाएको छ। बिओपी स्थापना हुने स्थानमा जग्गा खोजीको कार्य जारी रहेको प्रजिअ पौडेलले बताए।

सीमामा परिचालन गरिएका सशस्त्र प्रहरीलाई स्थायी रुपमा विओपी स्थापना गरी परिचालन गर्न लागेको हो। हाल सीमामा देशभरी १२१ बिओपी रहेका छन् भने सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा पाँच सय पुर्‍याउने तयारी गरेको छ। नेपालतर्फको सीमा नाकामा भारतको ५३० बिओपी रहेका छन्। नेपाल सरकारले पनि सोहि अनुपातमा बिओपी थप्ने तयारी गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मले बिओेपी रहने स्थान, आवश्यक पुर्वाधार लगायतका विषयमा जानकारी गराइसकेको जनाएको छ। कोरोना संक्रमणका कारण सीमा सिलपछि विस्तार गरिएका अस्थायी पोष्टलाई बिओपीमा रुपान्तरण गर्ने सरकारी तयारी रहेको हो। 

बिओपी स्थापना भएपछि सीमा सुरक्षाका लागि सजिलो हुने सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले बताए।हाल सीमाक्षेमा खटिएका सशस्त्र प्रहरी आफैँ असुरक्षित रहेका छन्। उनीहरुले अस्थाई पोष्ट खडा गरि सुरक्षा दिइरहेका छन्।

बैतडीमा शिवनाथ गाउँपालिकाको कुस्मौद घाट, पञ्चेश्वर गाउँपालिकाको रोलघाट, पञ्चेश्वरकै विनायक घाट र पञ्चेश्वरको रोडीदेवलमा सशस्त्र प्रहरी खटिएका छन्। यस्तै दशरथचन्द नगरपालिकाको बारकोट र सेरामा पनि सशस्त्र प्रहरी खटिएको जनाइएको छ। गर्मीको समय बढ्दै जाँदा सीमामा खटिएका सशस्त्र प्रहरीलाई नदी किनारमा ड्युटी गर्न निकै मुस्किल भएको छ।

बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.