​चार दिनमा ९६ जना आए, ५० बढी सीमामै

|

भद्रपुर : भारतीय सीमावर्ती नाकासँग जोडिएको दक्षिणी झापाको कचनकवल गाउँपालिका सिल गरिएको छ।

भारतबाट आएका नेपाली नागरिकमा कोरोना भाइरस संक्रमण देखा पर्न थालेपछि गाउँपालिकाका पाँच वटा वडा सिल गरिएको कचनकवलका अध्यक्ष अञ्जार आलमले जानकारी दिए।

कचनकवलका क्‍वारेन्टाइनमा बसेकामध्ये १० जनालाई कोरोना संक्रमण देखिएको छ। सोमबार एक जना र मंगलबार ९ जनामा कोरोना देखिएपछि गाउँपालिकाले सो निर्णय लिएको अध्यक्ष आलमले बताए।

गाउँपालिकाभित्र सात वटा वडा छन्। त्यसमध्ये ५ वटा वडा भारतसँग जोडिएका छन्। भारतसँग जोडिएका पाँच वटै वडा सिल गर्ने तयारी गरिसकिएकाे उनले बताए। ‘गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा सिल गरिएको हो,’ अध्यक्ष आलमले भने, ‘यी वडाहरू भारतसँग जोडिएकोले त्यहाँबाट लुकिछिपी नेपाली नागरिक भित्रिन नदिनलाई सिल गर्‍यौँ।’ आजै झापाका प्रमुख जिल्ला अधिकारी, सांसद, जनप्रतिनिधि, राजनीतिक दलसँग छलफल गरेर यसबारे थप निर्णय गरिने उनको भनाइ छ।

पथरिया माविको क्‍वारेन्टाइन सिल

गत शनिबार भारतको मुम्बई र दिल्लीबाट आएका ३३ जना नेपाली नागरिकलाई पथरिया माविमा बनाइएको क्‍वारेन्टाइनमा राखिएको छ। उनीहरू सबैको स्वाब पिसिआर परीक्षणका लागि कोसी अस्पताल विराटनगर पठाइएकोमा १० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

अरूको रिपोर्ट पनि आउने क्रममा छ। सोमबार साँझ एक कोरोना सङ्क्रमित पुरुषलाई कोसी अस्पताल उपचार लागि पठाइसकेको र मंगलबार थप ९ जनालाई पठाउने तयारी भइरहेको अध्यक्ष आलमले बताए।

‘पथरिया माविमा राखिएका व्यक्तिहरूमा कोरोना देखा पर्न थालेपछि त्यहाँको क्‍वारेन्टाइन सिल गर्न लागिएकाे हो,’ उनले भने, ‘अब भारतबाट आउने नागरिकलाई अन्यत्र राखिने तयारी भइरहेको छ।’ त्यसका लागि केचनाको महेन्द्ररत्न माविमा क्‍वारेन्टाइन बनाइने उनले बताए।

पथरिया माविमा ३३ र  लक्ष्मीप्रसाद देवकोटा माविको क्‍वारेन्टाइनमा एक महिला गरी ६४ जना छन्। गाउँपालिकामा ९६ जनालाई क्‍वारेन्टाइनमा राखिएको थियो। उनीहरू सबै भारतका विभिन्न राज्यबाट रेल, ट्रक चढेर आएका हुन्।

खुला सीमाले थप चुनौती

कचनकवलको पाँच वटा वडा भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्लासँग जोडिएको छ। खुला सीमा कारण भारतबाट लुकिछिपी नेपाली नागरिक आउने क्रम जारी छ। भारतमा रेल खुलेपछि यहाँका बासिन्दा धमाधम स्वदेश फर्किन थालेका छन्। बोर्डरसम्म आइपुगेका नेपालीहरूलाई भारतीय एसएसबीले पनि नेपाल प्रवेश गर्न दिइरहेको बताउँदै गाउँपालिका अध्यक्ष आलमले भने, ‘यसले सीमामा थप चुनौती देखिएको छ। भारतीय सुरक्षाकर्मीले रोकेका भए, यस्तो समस्या आउँदैन थियो। नेपाल प्रवेश गरेपछि उनीहरूलाई यहाँ ल्याएर राख्नु पर्ने नै हुन्छ। चार दिनको अवधिमा मात्र ९६ जना प्रवेश गरेका छन्।’

आजै मात्र केचना र पाठामारी सीमामा ५० जना नेपाली आएर बसेको जानकारी आएको उनले बताए। ‘उनीहरूलाई अहिले नेपाली सुरक्षाकर्मीले सीमामै रोकेर राखेका छन्, क्‍वारेन्टाइनको व्यवस्थापन भएपछि मात्र स्वास्थ्य जाँच गराएर उनीहरूलाई ल्याउँछौ,’ उनले भने।’ अरु पनि आउने क्रममा रहेको बुझिएको छ। लुकिछिपी आउनुभन्दा सम्पर्क गएर आएमा गाउँवासीमा त्रास नफैलिने उनको भनाइ। कोही लुकिछिपी गाउँघरमा प्रवेश गरिसकेका छन् भने वडा तथा गाउँपालिकाको सम्पर्कमा आउन उनले सबैसँग अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.