गुणस्तरमा प्रश्‍न उठे पनि आरडिटी किट ल्याइँदै

|

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन लाख मानिसमा परीक्षण गर्न पुग्नेगरी (र्‍यापिट डाइनोस्टिक किट) आरडिटी किट किन्ने भएको छ।

हालसम्म विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको र विश्वका कतिपय देशले समेत गुणस्तरमा प्रश्न उठाइरहेको आरडिटी किन पुन: खरिद गर्न मन्त्रालय लागिपरहेकाे छ। 

थप १ लाख २५ हजार आरडिटी किट किन्न सरकारले पुनः प्रक्रिया सुरु गरिसकेकाे छ। आरडिटीकाे नतिजा र यसकाे प्रभावप्रति पश्न उठेका बेला आरडिटी खरिदमा लागेकाे भन्दै सरकारकाे आलाेचनासमेत हुन थालेकाे छ।  

हालसम्म नेपालमा झण्डै १ लाख आरडिटी किटबाट कोरोना भाइरस शंकास्पदकाे नमुना परीक्षण गरिएकाे छ। तर यसकाे रिपाेर्टप्रति भने सरकार नै विश्वसनीय देखिँदैन। जसका कारण सरकारले पिसिआर (पाेलिमेरेज चेन रियाक्सन) विधिबाटै काेराेना परीक्षणलाई अन्तिम रुप दिइरहेकाे छ।  

हरेक दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेराेनाबारे गर्ने मिडिया ब्रिफिङमा पनि आरडिटी र पिसिआर परीक्षणको विवरण उल्लेख गरेकाे छ। तर भाइरस संक्रमितको अन्तिम पुष्टि भने पिसिआर विधिलाई सरकारले मानेकाे पाइन्छ। पिसिआरबाट गरिएका परीक्षणबाट आएकाे नतिजाकै आधारमा सरकारले काेराेना संक्रमितकाे तथ्यांक सार्वजनिक गर्दै आएकाे छ। यसबाट समेत के थाहा पाउन सकिन्छ भने सरकारले नै आरडिटी किटलाई विश्वसनीय मानेकाे छैन। 

 फेरि किन आरडिटी किट नै किन्दैछ त सरकार ?

यसअघि  स्वास्थ्य मन्त्रालयले विवादित ओम्‍नी गुप्रसँग ७५ हजार थान आरडिटी किट गत चैतमा  किनेको थियो। पछिल्लो समय काेराेना संक्रमित बढ्दै जान थालेपछि सरकारले परीक्षणको दायरा फराकिलो बनाउँदै गएको बताएकाे छ।

साेहीअनुरुप सरकारले असारसम्ममा पाँच लाख जनामा काेराेना भाइरस नमुना परीक्षण गर्ने बताएकाे छ। त्यसैअनुरुप मन्त्रालयले पुनः आरडिटी किट खरिदको प्रक्रिया बढाएको मन्त्रालयका अधिकारीहरु बताउने गर्छन्। 

मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘मन्त्रालयले पाँच लाख नागरिकमा काेराेना परीक्षणकाे तयारी गरेको छ। जसमा दुई लाख जतिको आरडिटी परीक्षण हुन्छ, बाँकी तीन लाखमा भने सोहीअनुसार किट खरिदकाे प्रकिया बढाइएकाे हाे।‘

काेराेना भाइरसको पुष्टि गर्नुभन्दा पनि संक्रमित बढ्न थालेपछि समुदायमा कति संख्यामा मानिसमा भाइरसकाे लक्षण देखिन्छ भनी आरडिटी किट खरिद गर्न लागिएकाे ती अधिकारीले थाहाखबरसँग बताए। एकै पटक समुदायमा धेरै मानिसमा पहिलो परीक्षणका लागि आरडिटी किट नै आधार हुने उनकाे भनाइ थियाे।

'धेरै केस देखिन थालेपछि समुदायमा यसको परीक्षणले रोग नियन्त्रण र निगरानीमा महत्व राख्ने भएकाले आरडिटी परीक्षण जारी राखिएको हो,’ उनले बताए।

सरकारले यसअघि ओम्‍नी समूहसँग ५७ हजार आरडिटी किट र चीनको लेकु मेडिकल प्रालिले उत्पादन गरेको १ लाख आरडिटी किट विधा म्यानेजमेन्ट प्रालिसँग खरिद गरेको थियाे।

'तीन लाख मानिसमा आरडिटी परीक्षण गर्ने योजना छ। यसका लागि तत्काल १ लाख ७२ हजार किट खरिद गर्नुपर्ने छ,' उनले भने, 'पिसिआर परिक्षण २ लाख पुर्‍याउने सरकारकाे लक्ष्य छ। हाल ८० हजार पिसिआर किट मौज्दात छ।' 

पहिलो पटक ल्याइएका ७५ हजार आरडिटी किट प्रयोग गरिसक्दै झण्डै ६० जनामा एन्टीबडी पोजेटिभ देखाएको थियो। एन्टीबडी पोजेटिभ देखाएका ६० जनामध्ये पिसिआर परीक्षण गर्दा ४ जनामा मात्रै कोरोना भाइरस पुष्टि भएको थियाे। जनस्वास्थ्यविद्हरुले आरडिटीमा पोजेटिभ आउनु भनेको एन्टीबडी बनिसकेको अवस्था भएको बतारहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.