|

अमेरिकाको मेरिल्याण्डस्थित समुद्र किनारमा प्रसिद्ध रेस्टुरेन्ट छ, फिस टेल्स बार एण्ड ग्रिल इन ओसन सिटी। स्वादिष्ट परिकारका लागि प्रसिद्ध उक्त रेस्टुरेन्ट अहिले भने परिकारका लागि नभई सामाजिक दूरी कायम गर्न अपनाइएको तरिकाका कारण चर्चामा आएको छ।

आफ्ना ग्राहकहरूबीच दूरी कायम गराउन रेस्टुरेन्टले रबरको ट्युबले मोरेको टेबुल प्रयोगमा ल्याएको छ। ग्राहकले ट्युब–टेबलको घेरोभित्र बसेर खानपिन गर्नुपर्ने हुन्छ। विश्वव्याधीको समस्या लामो समयसम्म नरोकिने देखेपछि रेस्टुरेन्ट सञ्चालकले सुरक्षाको नौलो उपाय अपनाउन खोजेका हुन्। ग्राहकहरूलाई एकअर्काको नजिक हुन नदिने रेस्टुरेन्टको यो शैलीलाई धेरैले रोचक मानेका छन्।

कोरोना महामारीको संकटसँग जुध्न अमेरिकाका राज्यहरूले फरक–फरक नीति अपनाएका छन्। धेरैजसो राज्यमा होम डेलिभरी वा टेकअवेको सर्तमा मात्रै रेस्टुरेन्ट खोल्न दिइए पनि केहीमा दूरी कायम गराएर सेवा दिन अनुमति दिइएको छ।

'कम्तिमा ६ फिट दूरी कायम गर्नुपर्छ भन्ने छ', फिस टेल्स बार एण्ड ग्रिलका सञ्चालक शावन हर्मनले भने, 'हाम्रो टेबुल व्यवस्थापनलाई ग्राहकले रुचाएका छन्। खुसी हुन्छन्, फोटो खिच्छन्, रेस्टुरेन्टका कर्मचारीले पनि सुरक्षित महशुश गरेका छन् ।'

'हामीले दुईटा टेबुल जोड्यौं भने पनि छ फिट दूरी कायमै रहन्छ,' उनले थपे ।

बाल्टिमोरको रिभोलुसन इभेन्ट एण्ड डिजाइनले ट्युब–टेबुलको उत्पादन थालेको हो । उक्त कम्पनी यस्तो टेबुल रेस्टुरेन्टहरूलाई भाडामा पनि उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.