|

जाजरकोट : कोरोना भाइरस (कोभिड –१९) का कारण विद्यालय बन्द भएपछि रुकुम पश्चिम आठवीसकोट नगरपालिका –११ चिसापानीकी ९ वर्षीय बालिका चेतना पुन सडकमा छिन्।

उनी रहरले नभई बाध्यताले सडकको छेउमा आएर दैनिक बिहानदेखि बेलुकी गिट्टी कुट्छिन्। उनीको उमेरका अधिकांश बालबालिकाहरु घरमा अभिभावकसँग लक डाउनको समयमा टिभि हेर्ने गर्दछन्। तर चेतना भने गाउँका अधबैँसे उमेरका महिलाहरुसँग गिट्टी कुट्दै जीवन जिउने आधार खोज्दैछिन्। अन्य साथी जस्तै चेतनालाई  टिभि हेर्न र महँगो मोबाइलमा गेम खेल्न अनि मिठो मसिनो खाना ईच्छा नभएको कहाँ हो र? चेतना भन्छिन्, ‘म २ वर्षको हुँदा आमाले अर्को विहे गरेर अर्कैको घरमा जानुभयो। बाबा घरमै हुनुहुन्छ, केही दिन पछि विद्यालय खुलेपछि मलाई पढ्ने पैसा चाहिने भएकाले आन्टीहरूसँग गिट्टी कुट्दै छु।‘

चेतनाकी आमा हिरा पुनले दोस्रो विहे गरेर अर्कैतिर गएको र बाबा कर्णे पुन एक्लैले केही गर्न नसकेपछि ती बालिकालगायत अन्य २ जना बालबालिका समस्यामा परेको सँगै गिट्टी कुटिरहेकी भद्री बबालले जानकारी दिइन्। उनले भनिन्, ‘नानीसँग गिट्टी कुट्न थालेको आज दुई हप्ता भन्दा बढी भयो। हामीसँगै उनी पनि कलिला हातमा फोका उठुन्जेलसम्म गिट्टी कुटिरहेकी छिन्।‘

हामीले समाचार संकलनकै क्रममा चेतनाको हात हेर्दा साँचिक्कै हातमा फोका मात्र उठेका थिएनन्, छाला फुटेर हातबाट पानीसमेत आएको थियो। उनीसँगै अर्की ११ वर्षीया नमुना आधारभूत विद्यालयमा पढ्ने बालिका रविना विक गिट्टी कुट्दै थिइन्।

 बिहानैदेखि गिट्टी कुटिरहेकी उनीको अनुहारसम्म धुलोले छुट्याउन नसक्ने अवस्थामा पुगेको थियो। गिट्टी कुटेको थुप्रोमा बसेर जोड,बलका साथ रविना आफू जीवनलाई समेत प्रवाह नगरी निरन्तर गिट्टी कुटिरहेकी थिईन। उनी भन्छिन् , “ बाबा  भारत कमाई गर्न जानुभएको छ, आमा एक्लै केही गर्न सक्नुहुन्न मैले गिट्टी नकुटी के गर्नु?’

घरमा सबै अन्न सकियो

यी बालबालिकासँग गिट्टी कुटिरहेकी तीन छोरी र एक छोराकी आमा सरस्वती बबालले घरमा सबै अन्न सकिएकाले गिट्टी कुट्न आएको बताइन्। आठबीसकोट नगरपालिकाले श्रम सहकार्यमार्फत काम गरेर खाद्यान्न पाउने नीति ल्याए पनि सो आफूहरुका लागि कागलाई बेल पाक्यो हर्स न विस्मात जस्तै भएको उनले बताइन्।

अहिले जाजरकोट – डोल्पा सडक खण्डमा भारी मानिसहरु गिट्टी कुटेर प्राण बचाउने अभियानमा लागेको बताउँछन्। सबै थोक खानाभन्दा पनि पेट कसरी भर्ने भन्ने चिन्ता भएको उनीहरुको भनाइ छ।

कोरोना भन्दा पनि भोकको चिन्ता भएको उनीहरु दाबी गर्छन्। पुगेको भए जेठ महिनाको चर्को घाममा गिट्टी कुट्न को आउथ्यो र भन्दै सीता विकले भनिन्, ‘अब जे पाइन्छ, त्यही काम गर्ने हो। नगरको कार्यक्रम के छ हामीलाई थाहा छैन। काम गरेपछि चामल दिने त सुनेकी हुँ तर अहिले सम्मा त्यो काम कहाँ हुँदैछ थाहा पाएकी छैन।‘

१० हजारलाई खाद्यान्न दिने घोषण

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले खाद्य सङ्कट समाधान गर्न श्रम सहकार्यमार्फत एकैपटक १० हजार धरधुरीलाई काममा लगाएर खाद्यान्न उपलब्ध गराउने नीति लिएको छ।

 खाद्यान्न अभावलाई हल गर्न नगरपालिकाले समस्या परेको ठाउँमा काम दिएर सोवापत खाद्यान्न दिने नीति लिएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए। उनले भने, ‘खाद्य सङ्कट आउने देखेर हामीले पालिकाभित्रका सबै घरधुरीलाई काममा लगाएर हरेक घरमा ५० केजी चालम उपलब्ध गराउने नीति लिएका छौँ।’

नगरपालिकाभित्र १० हजार घरधुरी रहेका छन्। त्यसबाट १०/१० घरको प्रतिनिधित्व गर्ने एक हजार श्रम सहकार्य समूह बनाएका छौँ, प्रमुख केसीले भने , ‘पालिका र प्रदेशका काम गर्न बाँकी साना विकासका काम यही समूहबाट हुनेछ, हरेक घरले पाँचदेखि सात दिन काम गरेर ५० केजी चालम पाउने छन्। कोही घरमा काम गर्न सक्ने मान्छे नभए समूहकै निर्णयअनुसार छिमेकीले काम गरिदिनुपर्ने छ। चालम पाउनबाट कोही घर पनि वञ्चित हुनेछैन।‘

पालिकाभित्र ५१ प्रतिशत नागरिक गरिबीको रेखामुनि र ३५ प्रतिशत दलित समुदाय रहेको उनले बताए। कम्तीमा पाँच हजार क्विन्टल चामल चाहिने नगरपालिकाले जनाएको छ। यो अभियानअन्तर्गत करिब रु तीन करोडको काम हुने अपेक्षा पालिकाले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.